‘र…. सोच्छु’

– प्रमिला तामाङ

छाता बोक्छु पानी पर्दैन

र…सोच्छु, नबोकेको भए हुन्थ्यो

नबोकेको दिन निथ्रुक्कै भिज्छु

र…सोच्छु, बोकेको भए हुन्थ्यो


मासु खाइसकेपछि धर्म सम्झिन्छु

र…सोच्छु, नखाएको भए हुन्थ्यो

स्वाद र खाद्य चक्र सम्झिन्छु

र…सोच्छु, खाएको भए हुन्थ्यो


निन्द्रा पनि लाग्छ, डाहा पनि

र…सोच्छु, नसुतेको भए हुन्थ्यो

जे पर्ला त्यही टर्ला भन्छु

र…सोच्छु, सुतेको भए हुन्थ्यो


कैले प्वाक्कै बोलिहाल्छु

र….सोच्छु, नबोलेको भए हुन्थ्यो

बोल्नै पर्ने ठाउँमा वाक्य फुट्दैन

र….सोच्छु, बोलेको भए हुन्थ्यो


छिटा उछिट्टिने गरी हाँसिहाल्छु

र…सोच्छु, नहाँसेको भए हुन्थ्यो

दुई दिनको चोला सम्झिन्छु

र….सोच्छु, हाँसेको भए हुन्थ्यो


हतारमा उक्सिएर के के गर्छु

र…सोच्छु, नगरेको भए हुन्थ्यो

गर्न खोजेको पनि गर्दिन कहिले

र…सोच्छु, गरेको भए हुन्थ्यो


ओहो… कति अस्थिर र दोधारे मन

खै गरुँ कसरी व्यवस्थापन ?