सूर्यविनायकबाट साँढे चार किलोमिटरको उकालो चढेपछि पुगिन्छ सुन्दर प्राकृतिक मनोरम घ्याम्पे डाँडा । भक्तपुरको अनन्त लिङ्गेश्वर नगरपालिका-१३ मा पर्ने घ्याम्पे डाँडाबाट सूर्योदयको मजा छुट्टै रहेको छ । चारैतिर हरियाली र सेतो बादलमुनि आकाश छुनै आँटे जस्ता देखिने अग्ला डाँडाकाँडाहरूले लोभ्याउँछ । यहाँबाट देखिने सुन्दर हिमशृङ्खलाले थप आकर्षित गर्दछ जो कोहीलाई ।
यही प्रकृतिको मनोरम ठाउँमा बुधबार बिहान सूर्योदयसँगै देखियो फरक दृश्य । डाँडामा रहेको मैदानमा एक हुल मानिस थिए l जहाँबाट हरेक दुई-तीन सेकेन्डमा आइरहेको थियो- ‘रोलिङ’, ‘एक्सन’ र ‘ड्रेस चेन्ज’ जस्ता शब्द । प्रसङ्ग रहेछ कीर्तिमानी गीतकार तथा साहित्यकार डा. डीआर उपाध्यायको गीतको भिडिओ छायाङ्कन । यो गीतको भिडिओ पनि कीर्तिमानका लागि गरिँदै रहेछ । स्थानीयले पनि कौतुहलतापूर्वक त्यहाँ भएका दृश्य नियालिरहेका थिए । ‘यस ठाउँमा भिडिओ तथा धेरै चलचित्रका छायाङ्कन देखिएको हो तर यस्तो चाहिँ पहिलोपल्ट देख्दै छौँ,’ स्थानीय पर्यटन व्यवसायी रामजी अवालले भन्नुभयो ।
यो गीतको भिडिओको कौतुहलताको कारण थियो हरेक दुई-तीन सेकेन्डमा ड्रेस परिवर्तन । पूरा गीतमा १ सय ५० भन्दा बढी ड्रेस परिवर्तन गरिएको निर्देशक माइकल चन्दले बताउनुभयो । ‘धेरै गीतको भिडिओ छायाङ्कन गरियो तर पहिलोपटक पृथक् किसिमले गीतको भिडिओ छायाङ्कन गर्दै छौँ l यसको विशेष महत्व आफ्नो ठाउँमा छँदैछ l तर चुनौती पनि त्यत्तिकै रहेको छ’ छायाकर उत्सव दाहालले भन्नुभयो । डा. उपाध्यायले छिनछिनमा लुगा परिवर्तन गरेको दृश्य अनौठो थियो ।
‘मैले हरेक समय केही फरक गर्ने सोचका साथ विभिन्न गीत गरिरहेको छु l तिनीहरूले विश्व रेकर्ड पनि कायम गर्न सफल भएका छन् । यतिबेला पनि यस्तै केही फरक गरौँ भनेर यो गीतको छायाङ्कन फरक शैलीमा गरेको हुँ l एउटै गीतको भिडिओमा १ सय ५० ड्रेस परिवर्तन भएको विश्वमा छैन l हामीले त्योभन्दा बढी गरेका छौँ’ डा. उपाध्यायले भन्नुभयो ।
छायाङ्कनमा सुनिता खनाल, मेकअप आर्टिस्ट अनिता ग्वाच्छा, सुविन गदार, यमबहादुर घर्ती लगायतको सहभागिता रहेको थियो भने भिडिओमा डा. उपाध्यायसँग कलाकार प्रतिमा विष्ट रहनुभएको थियो ।
‘जिन्दगीका अनेक रूपरङ्ग समेट्दै…’ बोल रहेको यस गीतमा स्वर तथा सङ्गीत सागर अधिकारीको रहेको छ । गीतको भिडिओ केही समयपछि डिआर म्युजिक क्रियसन मार्फत् सार्वजनिक गरिने बताइएको छ ।