-सुदन गैरे
भरतपुर, चितवन . { हाल: नर्थ क्यारोलिना, अमेरिका }
सानैदेखि गीत गाउने मेरो सोख त्यतिबेला मात्र सार्थक भयो जब ललितकला क्याम्पसमा सङ्गीत नै पढ्ने सोच सहित म भर्ना भएँ l सबैकुरा सोचे जस्तै हुँदै थियो l त्यसैबेला सो कलेजमा पढ्ने केही साथीहरुसँग मिलेर एउटा एल्बम निकाल्ने सोच बन्यो l २०५४/५५ सालतिर होला, हामी ( म, हेम नेपाली र सचिन गिरी ) मिलेर ‘तरेली’ एल्बम बजारमा ल्याउने निर्णय गर्यौं l लगत्तै हामीले उक्त एल्बम बजारमा पनि ल्यायौं l रमाइलो रमाईलोमा गरेको भएर होला, अनि हाम्रो उमेर पनि कलिलै थियो एल्बम त्यति राम्रो हुन् सकेन l
त्यसपछि म्युजिक सुन्ने र सिक्ने क्रममै केही समय बित्यो l २०६१ साल पछि भने मेरो यात्रा फेरि सुरु भयो l २०६१/२०६२ तिर चितवनका विभिन्न एफ.एम. हरुमा मेरा एकल गीतहरु बज्न सुरु भए l अनि मलाई लाग्यो, अब एल्बम निकाल्नु पर्छ l त्यसै अनुसार २०६४ सालमा एकल एल्बम ‘डिफाईन’ को तयारी सुरु गरें र २०६५ मा एल्बम प्रकाशन पनि भयो l त्यस एल्बमले मलाई नेपालमा धेरै स्रोताहरुमाझ चिनाउन सफल भयो l म निक्कै उत्साहित भएँ र अर्को एल्बम बनाउने सोच बन्यो l त्यसैताका मेरो गीत ‘सताई दिन्छ’ ले ‘कालिका एफ. एम. म्युजिक अवार्ड’ पनि पाउन सफल भयो l त्यसपछि म अर्को एल्बम तयारी गर्दै थिएँ, २०६७ सालमा डि. भी. परेर अमेरिका आउन परेकोले गीत रेकर्ड भएपनि बजारमा आउन सकेनन् l
अमेरिका आए पछिको मेरो यात्रा
जब म अमेरिका आएँ, नौला मान्छे, नौलो भूगोल एक बर्षसम्म त अन्योलमै बित्यो l तथापि सन् २०१२ मा मैले नेपालमै छँदा रेकर्ड गरेका गीतहरुको एल्बम निकाल्ने निधो गरें र ‘दूरी’ { डिष्टेन्स } शीर्षकको एल्बम प्रकाशन गरें l बिस्तारै समय बेग्लै भईसकेको थियो l एल्बमका क्यासेट र सीडीहरु बिक्ने समय लगभग सकिए जस्तै भएको थियो l त्यसपछि त्यो एल्बमको पनि खासै महत्व भएन l तर मैले त्यस एल्बममा राखेको गीत ‘कोहीको माया हिरा’ म अमेरिका आउनु अघि नै नेपालमा आयोजना भईरहेका विभिन्न अवार्डहरुमा नोमिनेशनमा परेको थियो भने कालिका एफएम म्युजिक अवार्डमा त्यो गीतबाट मैले Best Local Singer को अवार्ड पाएको थिएँ l त्यो बेला मेरो त्यही एउटा मात्र गीत एफएमहरुमा बजिरहेको थियो l समयको परिवर्तनसँगै मैले एउटा एउटा गीत निकाल्ने सोच बनाएँ र २०१५ मा एउटा नौलो कम गर्ने अवसर पाएँ l अग्रज गीतकार राजेन्द्र थापाको कालजयी गीत ‘पोहोर साल खुशी फाट्दा’ लाई मेरो आफ्नो हिन्दि गीत ‘तेरी याद’ सँग परिवर्तित रुपमा गाएँ l जुन गीत युट्युबमा पनि हेर्न, सुन्न सकिन्छ l
त्यसपछि मैले आफ्नै युट्युब च्यानल मार्फत गीतहरु सार्वजनिक गर्ने निधो गरें र SG Melody नामक च्यानल पनि खोलें l जुन च्यानलमा सुरुमा ‘उडीजाने जेट’ सार्वजनिक गरेको थिएँ भने भरखरै ‘माया किन मोडियो’ रिलिज गरेको छु l निकट भविष्यमै सुरेश गैरेको शब्द, कल्याण सिंहको सङ्गीत र मेरो एकल स्वरमा ‘आमा’, सुवास भुसालको सङ्गीतमा मेलिना राईसँगको युगल स्वरमा ‘फूल हेर्न जून हेर्न’, सुवास भुसालकै सङ्गीतमा ‘तिम्रो पछि’ र हिन्दी गीत ‘मन्जिलें’ आउँदैछन् l
र अन्त्यमा,
अन्त्यमा मलाई केही भन्न मन लाग्यो l अहिले नेपाली म्युजिक एउटा मोडलको भरमा बाँचिरहेको छ भन्ने गुनाशाहरु एकदमै आईरहेका छन् l वास्तबमा त्यस्तो हुनु नपर्ने हो l यो त के भयो भने मान्छेहरुले फिल्मको साटो युट्युबबाटै फिल्मको गीत हेरे जस्तो भयो l मान्छेको चाहना न हो, हामी कलाकारले के नै गर्न सक्छौं र यसमा l तर मलाई के लाग्छ भने, युट्युब मात्र सबै प्लेटफर्म होईन l युट्युब बाहेक पनि धेरै डिजिटल प्लेटफर्महरु छन् l हामी नेपाली मात्र होला युट्युबलाई मात्र सबैकुरा ठान्ने l किनकि हाम्रा Viewer हरु युट्युब मात्र हेर्छन् वा युट्युब मात्र सुन्छन् l युट्युब बाहेकका डिजिटल बजारमा पनि नेपाली गीत-सङ्गीतलाई विस्तार गर्ने दायित्व सर्जक, कलाकार र स्रोता सबैको हो l विदेशमा बस्ने कलाकारहरुले पनि यो कुरामा बढी ध्यान दिनुपर्ने देखिन्छ l अनि अर्को कुरा हामी विदेशमा बस्ने कलाकारहरुले ठूलो लगानी गर्नाले लगानी गर्न नसक्ने कलाकारहरुलाई उठ्न गाह्रो भयो भन्ने पनि कहिलेकाहिँ सुन्नमा आउँछ l यो कुरामा मेरो पूर्ण रुपमा विमति छ l हामीले लगानी गर्ने आखिर नेपाली गीत, सङ्गीत, कलाकार र प्राविधिकहरुमाथि नै हो l हैन भने अहिले नेपाली गीत-सङ्गीतमाथि कसले लगानी गरेको छ त ? यदि हामीले या कसैले बुष्ट गरेर गीत चलाउँछु भन्ने सोचेको छ भने त्यो सीमित पपुलारिटी मात्रै हो l यदि कसैमा सम्भावना छ भने उसका लागि ठाउँहरु अवश्य निस्कन्छन् l लगानी गर्ने कोही नभएको अहिलेको अवस्थामा विदेशमा बस्ने सर्जक-कलाकारहरुले नै यो क्षेत्रलाई चलायमान बनाईरहेका छन् l यसलाई नकारात्मक रुपमा नलिनुहुन सबैमा मेरो अनुरोध छ l
{ म्युजिक डायरी २०७८ बैशाख, अमेरिका विशेषाङ्कबाट }