गीतकार डा. डी. आर. उपाध्यायको एकल रचनामा ७ गीति एल्बम र एक उपन्यास गरी ८ कृति गत मङ्सिर ९ गते एकैसाथ लोकार्पण भएको छ l राष्ट्रकवि माधवप्रसाद घिमिरे, उहाँकी धर्मपत्नी, वरिष्ठ सङ्गीतज्ञहरु प्रेमध्वज प्रधान, रत्नशमशेर थापा, शक्ति बल्लभ, वरिष्ठ कलाकार वसुन्धरा भुसाल, वरिष्ठ गीतकार उन्नति बोहरा शिला, गीतकार डा. डी. आर., एल्बमसँग सम्बन्धित सङ्गीतकारहरु लगायतले एकैसाथ ८ कृतिको लोकार्पण गरेका हुन् l एउटै सर्जकको एकैपटक यति धेरै कृति सार्वजनिक भएको सम्भवत: यो पहिलोपटक हो l ‘प्रतिनाद साङ्गीतिक साँझ’ नाम दिईएको यो कार्यक्रम काठमाण्डौको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको हो l समारोहमा १०० वर्ष पुगेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नगद रु. ५१ हजार १ सय ५१ सहित सम्मान गरिएको थियो भने सागर अधिकारी ‘शरद’, मनोजराज, आनन्द कार्की, निशा देशार, मेचु धिमाल, रिता केसी, मिना निरौला, बानिका प्रधान, सन्तोष लामा र सनुप पौडेलले लाइभ बाजाका साथमा विमोचित एल्बमका १० वटा एकल-युगल गीतको प्रस्तुति दिएका थिए l यसैगरी कार्यक्रममा डा. डी. आर. को व्यक्तित्व झल्काउने वृत्तचित्र र विमोचित एल्बमका केही गीतको भिडियो समेत प्रदर्शन गरिएको थियो l सबै एल्बमको प्रकाशन तथा बजार व्यवस्थापन डी. आर. म्युजिक एण्ड ट्रेडिङले गरेको छ l
को हुन् त डा. डी. आर.
पिता शिव शंकरप्रसाद उपाध्याय र माता उमादेवी खनालको परिवारमा कान्छो सुपुत्रको रुपमा डा. डी. आर. को जन्म हो l उनी सन् १९६२ मा मध्यपूर्वी तराईको वीरगंजमा जन्मिएका थिए भने स्कुले शिक्षा त्यहींबाट पूरा गरेका डी. आर. ले बि.स. ०३५ सालमा स्थानीय त्रि जुद्ध मा. वि. बाट एसएलसी उत्तीर्ण गरेका हुन् l समाजशास्त्रमा विद्यावारिधी गरेका गीतकार उपाध्याय जगदम्बा ईन्टरनेशनल प्रा. लि. का प्रवन्ध निर्देशक हुन् l जुन कम्पनीले टेलिकम शफ्वेयर, पावर डिफेन्स र एभिएशन सम्बन्धी देशैभर सेवा दिंदै आईरहेको छ l
सोच, स्वभाव र व्यक्तित्व
डा. डी. आर. सानैदेखि चिन्तनशील स्वभावका थिए l उनले बाल उमेरदेखि नै आम मान्छेका सङ्घर्ष र स्वर्णिम सपनाहरुलाई नजिकबाट नियालेका थिए l मान्छेका आँशु र हर्षका संवेदना अनि जीवनका आरोह-अवरोहहरुलाई त्यही बेलादेखि नै उनी केलाउने प्रयास गर्थे l उनमा मान्छेहरुलाई हेर्ने, वरिपरिका घटनाक्रमहरुलाई महसुस र मूल्याङ्कन गर्ने दृष्टिकोण भिन्न थियो l त्यसैले त उनी यथार्थपरक सर्जकको रुपमा चिनिएका छन् l उपाध्यायले पहिलोपटक युवा उमेरमा एउटी युवतीको सौन्दर्यताको वयान गर्दै सायरी लेखेर साहित्यमा श्रीगणेश गरेका थिए l उनी बिस्तारै मुक्तक, कविता, उपन्यास हुँदै गीत लेखनमा समेत सक्रिय देखिएका हुन् l नेपालका राष्ट्रिय दैनिकहरुमा समेत सामाजिक एवं समसामयिक विषयमा उनका लेख-रचनाहरु प्रकाशन हुँदै आएका छन् l प्रविधि विशेषज्ञ डा. उपाध्यायले आफ्नो अत्यन्तै व्यस्त दैनिकीमा पनि समय निकालेर साहित्य सिर्जना गर्नुको पछाडि पत्नी सुनिता खनाल अनि छोरा अंकित र छोरी ईशाको समेत प्रेरक भूमिका रहेको छ भने बालसखा सुरेश घिमिरे ‘निश्चिन्त’ त झन् उनका उर्जाका मूल श्रोत नै हुन् l एउटै थालमा खाएर अनि उही माटोमा खेलेर हुर्किएका सुरेश र डी. आर. को एक अर्काप्रतिको विश्वास, स्नेह र शुभचिन्तन मित्रतामा विरलै भेटिने असल उदाहरणका रुपमा रहेको छ l
प्रकाशित कृतिका बारेमा
पहिलोपटक सायरी लेखेर साहित्यमा पाइला अगाडि बढाएका डी. आर. ले प्रथमपटक ०६९ सालमा ‘बज्रघात’ नामक उपन्यास प्रकाशन गरेका थिए l हालसम्म उनका ‘बज्रघात’ लगायत ‘त्यागी, भाग्यचक्र, अपवित्र, छाया, स्वार्थी, बिटुली, अतिरिक्त र दगाबाज’ गरी ८ उपन्यास प्रकाशमा आएका छन् l सङ्गीत क्षेत्रमा भने उनी करिव ८ महिना अघि मात्र औपचारिक रुपमा सार्वजनिक भएका हुन् l यही बर्षको बैशाख महिनामा उनले ‘प्रणय’ शीर्षकको गीति एल्बम प्रकाशन गरेका थिए भने त्यसपछि एकै समारोहमा गत मङ्सिर ९ गते ‘नशालु नजर, जखम, प्रतिनाद, अन्तराप, सहेली, जोहो र माउन्टेन मेलोडी’ नामका ७ एल्बम प्रकाशन भएका हुन् l ७ एल्बमसँगै उनको आठौँ उपन्यास ‘दगाबाज’ पनि यही समारोहमा सार्वजनिक भएको हो l
प्रकाशित ७ एल्बम मध्ये ‘जखम’ र ‘माउन्टेन मेलोडी’ बुलु मुकारुङको, ‘जोहो’ र ‘अन्तराप’ सन्तोष श्रेष्ठको तथा ‘नशालु नजर’, ‘सहेली’ र ‘प्रतिनाद’ सागर अधिकारी ‘शरद’ को सङ्गीतमा रहेका छन् l बुलु मुकारुङको सङ्गीतका २ एल्बम मध्ये ‘जखम’ मा ‘सोध तिमी आफैंसँग, फूल र कोपिला, यो कस्तो ज्वाला, सँगै जिउने सँगै मर्ने र नलागोस् मुटु’ बोलका ५ गीत रहेकोमा एउटा गीत पुरुष र महिला भर्सनमा रहेको छ l गीतमा उदय सोताङ, मेचु धिमाल, सुनिता थेगिम, सी. डी. विजय अधिकारी, निखिता थापा र दिलिप लामाले स्वर दिएका छन् l यसैगरी दोस्रो एल्बम ‘माउन्टेन मेलोडी’ मा भने मुकारुङकै सङ्गीतको एल्बमका म्युजिक ट्रयाक रहेका छन् l
सन्तोष श्रेष्ठको सङ्गीतमा रहेका २ मध्ये एक ‘जोहो’ शीर्षकको एल्बममा ‘हामी बादलभित्र, सुहागरातमा, तिम्रो आँखाको नानी, जुनेली उज्यालोमा र साह्रै रसिलो’ गरी ५ वटा गीत रहेका छन् l मेलिना राई, राजेशपायल राई, निशा देशार, आनन्द कार्की, बानिका प्रधान, सन्तोष लामा, शशी रावल, दीपक लिम्बू, टिका प्रसाईं र विश्व नेपालीको स्वर रहेको यस एल्बमका सबै गीत युगल छन् l सन्तोषकै सङ्गीतको अर्को एल्बम ‘अन्तराप’ सबै एकल स्वरको एल्बम हो l ‘स्वार्थी छ दुनियाँ, सन्तानको शीर उठाउन, सोह्रबर्षे तिम्रो मस्त जवानी, कुनै घुम्तीमा, हाँसीहाँसी दिल तोडेर, तिम्रो एक झल्को र तिम्रो हरेक चाहना’ बोलका ७ गीत सङ्ग्रहित यस एल्बममा दीप श्रेष्ठ, मनोजराज, रामचन्द्र काफ्ले, प्रकाश तिमिल्सिना, शिव परियार, दुर्गा परियार र श्रेयशी चेम्जोङको स्वर सुन्न सकिन्छ l
सागर अधिकारी ‘शरद’ को सङ्गीतका ३ मध्ये ‘नशालु नजर’ शीर्षकको एल्बममा एउटा युगल र पाँचवटा एकल गरी ६ वटा गीत समावेश गरिएका छन् l ‘लट्ठै बनायो, अन्धकारमा कतै, क्या हो त कान्छी, उदासी साँझमा, जवानी छ तिम्रो ज्यानमारा र लिएँ कैयौं जनम’ बोलका यी सबै गीतमा सङ्गीतकार स्वयम्को स्वर रहेको छ l युगल गीतमा सागरलाई मिना निरौलाले साथ दिएकी छिन् l यसैगरी उनको सङ्गीतको अर्को एल्बम ‘सहेली’ मा भने ‘जुगौं जुग जूनतारा, जवानीमा पहिलो पाइला, मेरो हर खुशीमा, ढुकढुकी तिमीसँग, मैले जानी नजानी र नलाऊ नजर बैमानी’ गरी ६ वटा गीत रहेका छन् l एउटा युगल र पाँचवटा एकल स्वरका गीत रहेको यस एल्बममा सनुप पौडेल, शशी रावल, प्रताप दास, बानिका प्रधान, रिता केसी, शृंखला जोशी र योगेश काजीले स्वर दिएका छन् l तेस्रो एल्बम ‘प्रतिनाद’ मा पनि एउटा युगल र चारवटा एकल स्वरमा ‘मायाको मीठो झरीमा, रोपी छुरा मुटुमा, जब नजरको, प्रेमको तिर्खा, आँखा तरेर बस्छौ र माया प्रीतिको’ बोलका गीत रहेका छन् l जसमा दीपक खरेल, मनोजराज, एम बराल, सी.डी. विजय अधिकारी, आनन्द कार्की, प्रविशा अधिकारी र सङ्गीतकार सागर स्वयम्को स्वर रहेको छ l सङ्गीत सिर्जनामा झैं गायनमा पनि उत्तिकै सशक्त सागरबाट नेपाली सङ्गीतको श्रीवृद्धिका लागि धेरै अपेक्षा गर्न सकिन्छ l
सङ्गीत क्षेत्रमा औपचारिक प्रवेश गरेको छोटो समयमै यति धेरै कृति प्रकाशन हुनु र एउटै समारोहमा एकै सर्जकको यो संख्यामा कृतिको लोकार्पण हुनु आफैंमा एउटा ऐतिहासिक एवं आश्चर्यजनक घटना हो भने यति धेरै कृतिमा गुणात्मक पक्ष समेत बलियो हुनु अर्को सराहनीय कुरा हो l हृदयमा सरस्वतीको वास नभई, सिर्जनाकर्ममा दृढ इच्छा शक्ति र संकल्प नभई अनि विद्वता र शब्दसँग खेल्न सक्ने क्षमता नभई कसैले पनि यस्ता कृतिहरुको कल्पना गर्न सक्दैन l शब्दशिल्प, भाव अभिव्यक्ति शैली र प्रस्तुतिकरणको गाम्भीर्यता, विषयवस्तुको विविधता र मौलिकताले गर्दा यी कृतिहरु विशेष छन् l नेपाली सङ्गीत र साहित्यको भण्डारलाई संवृद्द बनाउनमा यी कृतिहरुको उपस्थिति महत्वपूर्ण हुने छन् भन्ने विश्वास गर्न सकिन्छ l