सानी छँदा खप्ट्याएका ३-४ वटा तकियामाथि उभिएर झ्यालबाट बाहिर हेर्दै बिहानैदेखि गीत गाउँने शिबा लिम्बूले अन्ततः लामो समयको अन्तरालपछि भएपनि सपना साकार पारेकी छिन् l गत बैशाख २७ गते बागबजारस्थित हेल्लो क्याफेमा उनको एकल-युगल स्वरको गीति एल्बम ‘shiva’ एक औपचारिक समारोहबीच सार्वजनिक भएको छ l समारोहमा वरिष्ठ गीतकार डा. कृष्णहरि बराल र सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव गणेश रसिक, गायिका शिबाका पति नन्द कुमार लिम्बू र गायिका समेतले एल्बमको सामूहिक रुपमा लोकार्पण गरेका थिए l
एल्बम ‘shiva’ मा ‘तिम्रो साथ नचाहेको मैले पनि कहाँ हो र, ढल्कियो मेरो लाली जोवन ढल्कियो र कस्तो सुन्दर साइतले जुरायो भेट यो’ गरी तीनवटा नेपाली भाषाका र ‘केनहिप्ते तरेबे’ बोलको एउटा लिम्बू भाषाको गरी कूल ४ वटा गीत सङ्ग्रह गरिएका छन् l जसमा हर्क साउद, निलम आन्ग्बुहांग राई, यादन सेर्मा र गायिका स्वयमका शब्दरचना, सुरेश कुमार, राजनराज शिवाकोटी, विक्रम राई र यादन सेर्माका सङ्गीत रहेका छन् l एल्बमको पहिलो नम्बरमा रहेको गीत ‘तिम्रो साथ’ मा एकअर्काप्रतिको प्रेम र समर्पण भाव हुँदाहुँदै पनि परिस्थितिवश टाढा हुनुपरेको पीडा पोखिएको छ भने दोस्रो नम्बरको गीत ‘ढल्कियो मेरो’ फाष्ट बिटमा रहेको छ l गीतले एउटी यौवनाका चन्चलता, कौतुहलता र रोमान्टिक भावलाई सुन्दर ढंगले ब्यक्त गरेको छ l यसैगरी तेस्रो क्रममा रहेको शृंगारिक रसको युगल गीत ‘कस्तो सुन्दर’ प्रेम र समर्पण भावमा छ l एल्बमको चौथो तथा अन्तिम गीत शिबाले मातृभाषा अर्थात लिम्बू भाषामा गाएकी छिन् l यो एल्बमको दोस्रो युगल गीत हो l एल्बममा २ वटा युगल गीत भएपनि दुबै गीतमा गायकको नाम भने खुलाईएको छैन l एल्बम लोकार्पण समारोहमा ‘तिम्रो साथ नचाहेको मैले पनि’ बोलको गीतको भिडियो समेत सार्वजनिक गरिएको थियो l निकेश खड्काको निर्देशन रहेको यस गीतमा रुकमान लिम्बूका साथमा गायिका शिबाले स्वयम मोडलिंग गरेकी छिन् l
पुर्खौली थलो खाँदबारी, बाह्रबिसे भएपनि जागिरको सिलसिलामा बाबा दल बहादुर लिम्बू र आमा आबिमाया लिम्बू भारतको नागाल्याण्डमा रहेका बेला उतै जन्मिएकी शिबाले कक्षा ३ सम्म भारतमै पढेकी थिईन् l त्यसपछि भने उनले इँटहरीमा पढेकी हुन् l ‘म ५-६ बर्षको हुँदादेखि नै गाउँथें’ उनी भन्छिन् l बिहानैदेखि झ्यालको छेउमा उभिएर गीत गाउँने गरेकी शिबालाई अरुले ‘तँ बिहानैदेखि किन गीत गाउँछेस् हँ ?’ भन्थे l ‘गाउँन मन लाग्छ अनि गाउँछु त !’ उनी बालशुलभ शैलीमा जवाफ दिन्थिन् l ‘मेरो घरमा सबैको स्वर राम्रो छ l आमाले मीठो स्वरमा गुनगुनाउनुभएको त मैले धेरैपटक सुनेकी छु l तर उहाँहरु प्रतिभा भएर पनि ‘एक्स्पोज’ हुनुभएन l मेरी मामलाकी हजुरआमालाई त झन् पाँचथरभरि ‘स्वरभाकी’ भनेर नै चिन्थे l’ गायनमा ‘जेनेटिक गुण’ लिएर आएकी शिबाले आफ्नो परिवारको सङ्गीतसँगको अटुट सम्बन्धबारे खुलस्त पारिन् l आर्थिक अवस्थाका कारण युवा उमेरमा सङ्गीत सिक्ने बारेमा बाबाआमासँग कहिल्यै कुरा नराखेकी शिबा स्कुले जीवनमा पनि कार्यक्रमहरुमा गाउँने गर्थिन् l ९ कक्षामा पढ्दा उनी ‘यस्तै रहेछ यहाँको चलन’ गाएर प्रथम नै भएकी थिईन् l एसएलसी पछि अनमी पढेर सन् २००५ मा इजरायल गएकी उनी हालसम्म पनि उतै कार्यरत छिन् l यसपटक नेपाल आउँदा लगभग १ महिनाको मेहेनत पश्चात उनको यो एल्बम तयार भएको हो l इजरायलमा रहँदा समय मिलेसम्म आफैं गायनमा अभ्यास गरिरहने शिबाले बिना गुरु प्राकृतिक क्षमताकै भरमा मात्र यी गीतहरु गाएकी हुन् भन्ने सुन्दा जो कोहीलाई पनि आश्चर्य लाग्न सक्छ l ‘यो एल्बम निस्कनुमा हर मोड र परिस्थितिमा मलाई विश्वास गर्ने र संधै मेरो इच्छाको कदर गर्ने मेरा श्रीमान् नन्द कुमार लिम्बूको ठूलो भूमिका र सपोर्ट छ l’ उनले पारिवारिक सपोर्टका कुरा बताईन् l उनको गलाको ‘टोन’ मीठो छ र गायकी शैलीमा पनि निखार देखिन्छ l अभ्यासलाई निरन्तरता दिएर गाउँदै जाने हो भने उनीबाट भविष्यमा अझ धेरै अपेक्षा गर्न सकिन्छ l