होनहार गीतकार

युट्युबमा सयौं गीतले नपाएको भ्युज एउतै गीतले पाउन सक्छ, सयौं गीतबाट नभएको व्यापार एउतै गीतबाट हुन सक्छ अनि सयौं गीत रचना गर्दा, सङ्गीत भर्दा या गाउँदा नपाएको ख्याति एउतै गीतबाट पनि आर्जन गर्न सकिन्छ l अर्थात् संख्यात्मक जोड-घटाउले मात्र कुनै सर्जक-कलाकारको क्षमता र सिर्जनशीलताको मूल्यांकन गर्न पक्कै पनि सकिन्न l एउतै गीतको ख्यातिका कारण सर्जक-कलाकार रातारात संसारभरि चर्चामा आउन सक्छ  र विश्व घुम्न सक्छ l यस्ता उदाहरण अन्तर्राष्ट्रिय मुलुकमा र हाम्रै सङ्गीत क्षेत्रमा समेत प्रशस्तै छन् l त्यसैले, कसले कतिवटा सिर्जना गर्यो या प्रस्तुति दियो भन्दापनि कस्तो सिर्जना गर्यो या प्रस्तुति दियो भन्ने कुराको विशेष महत्व रहने गर्दछ l यदि सिर्जना लोकमा प्रिय छैनन् भने कसैलाई ‘यति बर्षदेखि निरन्तरता दिईरहेको’ भन्नुको पनि कुनै अर्थ रहँदैन l यही प्रसंगमा थोरै सिर्जना गरेर पनि संसारभर ख्याति स्थापित गर्न सफल एक होनहार गीतकार नवराज पन्तको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ l
‘डाँडै फुर्के सल्लो, मायालुको शहरमा मेरो गाउँमा घर छ, दाइने पिपल देब्रे बर सार, शुभ बिबाह लेखेको मिनीबस [पन्चेबाजा], धौलागिरि हिमालको छाया कहाँ होला, पिरतीको खाममा’ लगायतका कैयौं चर्चित गीतका रचनाकार नवराज पन्तको जन्म अमलाचौर-१, बरडाँडा, बाग्लुंगमा भएको हो l पिता मणिरत्न पन्त र माता रत्नकली पन्तको परिवारमा आजभन्दा ३१ वर्ष अगाडि कान्छो सन्तानको रुपमा जन्मिएका नवराजले स्थानीय पृथ्वी उमाविबाट एसएलसी उत्तीर्ण गरी त्रिविविबाट एमबिएस र त्यसपछि एमपीए पूरा गरेका थिए l पढाई सकिएपछि केही समय बाग्लुंगकै काली गण्डकी क्याम्पसमा प्राध्यापन र न्यु ओएसीए उच्च माबिमा शिक्षण गरेका उनी थप अध्ययनका लागि ०७१ सालमा अमेरिकातिर लागेका थिए l
सङ्गीतसँगको आफ्नो भावनात्मक सम्बन्ध र यस क्षेत्रसँग साइनो गाँसिएका प्रसङ्ग-घटनाहरुका बारेमा उनी भन्छन् -‘मेरो घर-समाजमा सांगीतिक माहोल खासै थिएन l तरपनि गीत भने सबैले सुन्थे-मन पराउँथे l मलाई याद भएसम्म ‘पाईंन खबर’ मैले पहिलोपटक सुनेको गीत हो l उमेर बढ्दै जाँदा म लोकदोहोरीको पारखी पनि हुँदै गएको थिएँ l म गीत यति मन पराउँन थालेको थिएँ कि हलो जोतेर कमाएको पैसाले भगवान भण्डारी दाइको एल्बम ‘वनमा काँडा छ’ किने l पढाईको सिलसिलामा ०६१ सालमा काठमाण्डौ प्रवेश गरें l मेरो एकजना साथी मार्फत पहिलोपटक प्रल्हाद सुवेदी दाइलाई भेटें l उहाँसंग घनिष्टता बढ्दै गएपछि अर्का चर्चित सर्जक/कलाकार दाइ वसन्त थापा र लोकप्रिय गायक कुलेन्द्र बि. क. सँग पनि भेट भयो l म उहाँहरुसँग रेकर्डिग र भिडियोको शुटिंगमा पनि हिंड्न थालें l यसैक्रममा एकदिन बिहेमा हामी सबैले दोहोरी गीत गायौं l वसन्त दाइले मलाई ‘तँ गीत लेख्न सक्छस्, प्रयास गर’ भन्नुभयो l ०६६ मा कीर्तिपुरमा पढ्दैगर्दा घर जाने क्रममा बाटैमा एउटा गीत फुर्यो- ‘डाँडै फुर्के सल्लो’ l फर्केपछि वसन्त दाइलाई सुनाएँ, अत्यन्तै मन पार्नुभयो l कुलेन्द्र बि. क. र विष्णु माझीले गाएको सो गीत बजारमा धेरै मन पराईयो l’
नवराज थोरै त्यस्ता गीतकारहरु मध्येमा पर्छन् जसले रचना गरेका सबैजसो गीतहरु बजारमा ‘हिट’ नम्बरमा रहेका छन् l ‘म पृथक गीत लेख्ने प्रयास गर्छु l धेरै गीत लेख्न सक्दिन र भ्याउँदिन पनि’ उनी भन्छन् l ‘म परदेशमा भएपनि मेरा शब्दलाई गीत बनाएर प्रकाशित गरिदिनुहुने दाजु वसन्त थापाप्रति संधै ऋणी छु l प्रल्हाद सुवेदी र कुलेन्द्र वि. क. पनि मेरो सांगीतिक जीवनको बिर्सन नसकिने नाम हो l’ उनले अग्रजहरुलाई सम्मानका साथ सम्झिए l निकट भविष्यमै उनका ‘रेलले दौंतरी, सालको पात र नआऊ मेरो भाइ’ बोलका गीत प्रकाशित हुँदै छन् l