-तुलसी गिरी ‘भावुक’
फोटोग्राफरलाई सबैले घेरेको देख्दा बाल मस्तिष्कमा के छाप पर्यो कुन्नि ! वीरेन्द्र सिंह भाटलाई कलिलो उमेरदेखि नै क्यामेराम्यान बन्ने रहर लागेको थियो । फोटोग्राफरको मान र सानले गर्दा क्यामेराप्रति जिज्ञाशु बनेको र लोभिएको उनको मन त्योबेला स्टिल क्यामेरामै सीमित भएपनि त्यो बाल रहरको परिणाम स्वरूप आज उनी नेपाली सङ्गीत क्षेत्रमा स्थापित छायाकार, सम्पादक र निर्देशकका रुपमा चिनिएका छन्। उनलाई सङ्गीत क्षेत्रका ‘त्रिवेणी’ को रुपमा पनि चिनिन्छ । ‘मलाई क्यामेराको यति रहर लागेको थियो कि सानैमा घरमा पनि थाहा नदिई त्यो बेला चल्तीमा रहेको अटोमेटिक यासिका क्यामेरा किनेको थिएँ’ उनले आफ्नो विगत स्मरण गर्दै भने ।
वास्तबिक नाम वीरेन्द्र सिंह भाट भएपनि कर्म क्षेत्रमा उनी वीरेन्द्र भाट ‘विपिन’को नामले चिनिने गर्दछन् । बैतडीको साबिक गुजर गाबिस-८ र हालको पाटन नपा-३, सुकाबैना निवासी पिता शंकर सिंह भाट र माता जानकी भाटको परिवारमा उनी पहिलो सन्तानको रुपमा जन्मिएका थिए भने उनका २ भाइ र २ बहिनी छन् । कक्षा ८ सम्म तत्कालीन गुजर निमाबिमा र त्यसपछि कृष्ण माबि, पाटनमा पढेका विपिन निमाबि स्तरसम्म कक्षाका ‘टप थ्री’ भित्र कहिले प्रथम त कहिले द्वित्तीय या तृतीय हुन्थे भने माबि स्तरमा पुगेपछि पनि उनी ‘टप फाइभ’ भित्रैका मेधावी विद्यार्थी थिए । एसएलसी उनले द्वित्तीय श्रेणीमा पास गरेका हुन् । स्कुले जीवनमा नृत्यमा अब्बल उनी हाजिरीजवाफ प्रतियोगिताहरुमा पनि भाग लिन्थे र पुरस्कृत भईरहन्थे ।
एसएलसी पास गर्दासम्म क्यामेराप्रतिको उनको मोह र जिज्ञासा झन् झन् बढेको थियो। त्यसैले ०५८ मा रिजल्ट नआउँदै उनी काठमाण्डौ आए। मामाका छोरा दाइ दिनेश महराको काठमाडौंमा ‘क्लासिक’ नामको इक्युप्मेन्ट हाउस थियो। उनी ६ महिनाजति दाइसँगै बसे र केही अनुभव अनि केही आत्मविश्वास बोकेर घर फर्किए । ०६० सालमा पुनः काठमाण्डौ आएका विपिनले भिजन नेपाल नामक संस्थाको रिसेप्शनमा काम गरे । जहाँ उनले वरिष्ठ क्यामेराम्यान रविन्द्र बरालसँग मुभी क्यामेरा र निशान घिमिरेसँग सम्पादन सिक्ने मौका पाए। एक दशकसम्म भिजन नेपालमा आवद्ध रहेका विपिनले ०६४ मै पहिलोपटक कुमार के.सी.को निर्देशनमा निर्माण भएको म्युजिक भिडिओ छायाङ्कन गरेका थिए भने सो १० बर्षे अवधिमा ८ वटा भिडिओको छायाङ्कन र एउटा निर्देशन समेत गरी उनले केही हदसम्म आफूलाई परिपक्व बनाएका थिए। विविध कारणले भिजन नेपाल बन्द भएपछि उनी बागबजारस्थित कमल विष्टको मुनामदन फिल्म्समा क्यामेराम्यान र भिडिओ सम्पादकका रुपमा आवद्ध भए । सम्पादन गर्दै जाँदा सो विधाप्रति पनि रुची बढ्दै गएपछि उनले त्यसलाई समानान्तर रुपमा निरन्तरता दिए ।
मेजर अङ्ग्रेजीमा स्नातक गरेका विपिनले त्यसपछिको पढाईलाई भने निरन्तरता दिएनन्। वीरेन्द्रले विभिन्न समयमा सम्पादक तथा छायाकारका रुपमा माउण्टेन टिभी, माउण्टेन म्युजिक, च्यानल नेपाल,भिजन नेपाल फिल्म्स एण्ड इन्टरटेनमेन्ट, फोटो भिजन नेपाल, सुनकोशी टेलिभिजन, स्टार कल्चर, पञ्चामृत मिडिया एण्ड फिल्म्स् लगायतका संस्थामा आवद्ध भई काम गरेका छन् । ०६९ सालमा कालिकोटका अर्का उत्साही युवा गायक, म्युजिक एरेन्जर तथा आर. जे. सुरेश शाही र वीरेन्द्रले संयुक्त स्वामित्वको कम्पनी ‘वर्ल्डकभर मिडिया’ खोले। जहाँबाट म्युजिक भिडिओ निर्देशन, छायाङ्कन, सम्पादन, वृत्तचित्र निर्माण लगायतका कामहरु हुन थाले र हालसम्म पनि भईरहेका छन् । यी दुई उत्साही युवाको यो सहकार्य आजसम्म पनि निरन्तर चलिरहेको छ ।
कुनै समय मुम्बैका गिनेचुने राम्रा फिल्म सम्पादक मध्येका एक तुलसी घिमिरे पछि गएर नेपालका एक विशिष्ठ कोटीका निर्देशक बने। त्यो बेलाको प्रविधि फरक थियो। चलचित्र ‘क्यान’ मा खिचिन्थ्यो भने सम्पादनका धेरैजसो काम कैंचीले रिल काटेर गरिन्थ्यो। चलचित्र निर्देशनको पढाई या अनुभव दुबै नभएपनि तुलसी घिमिरे सम्पादनको ‘आईडोलोजी’ प्रयोग गर्दै निर्देशक बनेका थिए र उनको यो ‘म्याथड’ सही अर्थमा पनि थियो। एउटा कुशल सम्पादक सम्पादनकै ‘म्याथड’ प्रयोग गरी स्वतः निर्देशक बन्न सक्छ भन्ने उदाहरणको लागि यो प्रसङ्ग उल्लेख गरिएको हो। जुनकुरा अहिले पनि लागू हुन्छ। वीरेन्द्र पनि बिना गुरुका म्युजिक भिडिओ निर्देशक हुन् । उनी पनि तुलसी घिमिरे झैं सम्पादनकै अनुभवलाई आधार बनाएर स्वयं निर्देशक बनेका प्रतिभाशाली सर्जक हुन् । अत: एउटा कुशल सम्पादक बिना गुरु पनि निर्देशक बन्न सक्छ, तर कोही पनि निर्देशक, बिना प्रशिक्षण कदापि सम्पादक बन्न सक्दैन ।
नेपाली म्युजिक भिडिओको क्षेत्रमा उत्कृष्ट कहलिएका छायाकार/सम्पादकहरु मध्येका एक वीरेन्द्र भाट विपिन पछिल्ला केही वर्ष यता भिडिओ निर्देशकका रुपमा समेत चर्चामा छन्। उनको मुख्य विधा छायाङ्कन र सम्पादन भएपनि लामो समय अघिदेखि उनी म्युजिक भिडिओ निर्देशनमा पनि सक्रिय रहँदै आएका छन्। पहिलोपटक ०६८ सालमा सन्तोष श्रेष्ठको सङ्गीत र वाङ छिरिङ शेर्पाको स्वर रहेको आधुनिक गीत ‘विरहको वेदना’ को भिडिओ निर्देशन गरी निर्देशनमा पाईला बढाएका वीरेन्द्रले त्यसपछि निर्देशन कर्मलाई पनि निरन्तरता दिईरहेका छन् । भिडिओ निर्देशन, छायाङ्कन र सम्पादन गरी तीनै विधामा उत्तिकै कुशल वीरेन्द्र ग्राफिक र एनिमेशनका पनि कुशल प्राविधिक हुन् । म्युजिक भिडिओ, वृत्तचित्र लगायतका श्रव्यदृश्य सामग्रीहरुको प्रोडक्सन हाउस ‘वर्ल्डकभर मिडिया’ का प्रवन्ध निर्देशक समेत रहेका बहुआयामिक वीरेन्द्रलाई गीत दिएपछि चारतिर नडुली एकै थलोबाट कलाकारहरुले ‘कम्प्लिट’ भिडिओ पाउने गरेका छन्।
भिडिओ निर्देशनका लागि कसैलाई गुरु नबनाएका वीरेन्द्र अरुलाई सहयोग गर्न र आफूले जानेको कुरा अरुलाई सिकाउन सधै तत्पर रहने गर्दछन् यसैगरी उनले म्युजिक भिडिओ निर्देशनको विधामा पनि पावर न्युज अवार्ड २०७५ र बुष्टर म्युजिक अवार्ड २०७५ प्राप्त गरिसकेका छन् । त्यसैले त उनी आफ्नो क्षेत्रमा सबैका प्रिय समेत छन् ।
बैतडी जस्तो दुर्गम जिल्लाको एउटा विकट गाउँबाट राजधानी आएर आफ्नै इच्छा शक्ति र निरन्तरको मेहेनतले सफलताको यो उचाईमा आईपुगेका वीरेन्द्र भाट ‘विपिन’ले हालसम्म ५ दर्जनजति म्युजिक भिडिओ निर्देशन गरिसकेका छन् भने ४ हजार २ सय भन्दा बढी म्युजिक भिडिओ, वनझाँक्री, हजारी, हरेरामकी आमा, मेरो कथा, बहिनीको माया, नेटवर्क, मेरो स्कूल, मधु मालतीको कथा, छिमेकी, शत्रु आदि लगायत १ दर्जन कथानक चलचित्र, लगभग ३ सय वृत्तचित्र र १ दर्जन बढी छोटा चलचित्र (शर्ट मुभी) को सम्पादन गरिसकेका छन् । उनले १० वटा सरकारी वृत्तचित्र तथा ‘नेटवर्क, मेरो स्कूल र शरदका पातहरु’ नामका तीनवटा चलचित्र छायाङ्कन समेत गरेका छन् । ग्राफिक्स र एनिमेशनमा समेत पारङ्गत विपिनले दर्जनौं टिभीसीहरु पनि बनाएका छन्। जिनियश वर्ल्ड रेकर्ड भिडिओ सम्पादक अवार्ड २०२१ प्राप्त गरेका वीरेन्द्रले सम्पादन विधाबाट नै जन दृष्टिकोण अवार्ड-०६९, नेशनल क्यापिटल अवार्ड ०७३, छायाछवि तीज म्युजिक अवार्ड-०७३,फाल्गुनन्द फिल्म्स अवार्ड ०७५, छायाछवि तीज म्युजिक अवार्ड-०७५, सुन्दरादेवी म्युजिक अवार्ड २०७५, म्युजिक खबर म्युजिक अवार्ड २०७५, मनास्लु नेशनल अवार्ड २०७५, अमिन नेशनल म्युजिक अवार्ड २०७५, सगरमाथा म्युजिक अवार्ड २०७६, म्युजिक खबर म्युजिक अवार्ड २०७६, छायाछवि तीज म्युजिक अवार्ड २०७७, हिमालयन इन्टरनेशनल अवार्ड २०२२, ११ औं नेपाल अफ्रिका फिल्म फेस्टिभल वेष्ट सम्पादक अवार्ड, सगरमाथा म्युजिक अवार्ड २०८१ लगायतका राष्ट्रिय स्तरका अवार्डहरु प्राप्त गरिसकेका छन्। म्युजिक भिडिओ निर्देशनको विधामा पनि पावर न्युज अवार्ड २०७५ र बुष्टर म्युजिक अवार्ड २०७५ प्राप्त गरिसकेका वीरेन्द्रले पीम नेपाल म्युजिक अवार्ड, सुदूरपश्चिम इन्टरटेनमेन्ट अवार्ड र नेपाल म्युजिक एण्ड फेशन अवार्डमा निर्णायकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् ।
नेपाली सङ्गीत क्षेत्रमा कुशल सम्पादक मात्र नभई असल व्यक्तिका रुपमा समेत परिचित वीरेन्द्र भाट विपिनलाई ‘जेरो लेभल’बाट सङ्घर्षका विभिन्न चरणहरु पार गर्दै कर्म क्षेत्रमा सफलताको सुखद् विन्दु चुमेका एक प्रेरक पात्रका रुपमा मूल्याङ्कन गर्न सकिन्छ । परिवारका समेत एक आदर्श अभिभावक वीरेन्द्र श्रीमती नारू भाट, छोरी बिनिशा भाट र छोराहरू ब्रायन र बेन्शन भाट सहित राजधानीमा बसोबास गरिरहेका छन् । दुई दशक भन्दा लामो सङ्गीत यात्रामा कथानक चलचित्र, म्युजिक भिडिओ, वृत्तचित्र, धाराबाहिक चलचित्र, टेलिभिजन विज्ञापन लगायतका श्रव्यदृश्य सम्बन्धी छयाङ्कन/सम्पादन गरिसकेका वीरेन्द्रले नयाँ पुस्ताका सङ्घर्षरत कलाकारदेखि शक्ति बल्लभ, डा. भोला रिजाल, गोपाल प्रसाद थपलिया, शिशिर योगी, टंक के.सी., लिलुमाया गुरुङ, मिन के.सी., दिपेन्द्र अधिकारी, हरि बहादुर राउत, गोविन्द दुलाल, सन्तोष श्रेष्ठ, मिठाराम के. सी. आदि जस्ता विशिष्ट एवं लोकप्रिय सर्जक-कलाकारहरुसँग सहकार्य गरिसकेका छन् । सानैमा स्टिल क्यामेराप्रतिको मोह नजागेको भए सायद उनी अहिले बैतडीतिरै कुनै ब्यापार गरिरहेका या स्कुलतिर पढाईरहेका हुन्थे कि !
