आत्म^घाती BIG OFFER र त्यसभित्रको पीडा

-तुलसी गिरी ‘भावुक’

केहीदिन अघि राजधानीका एक रेकर्डिङ स्टुडियो सञ्चालकले BIG OFFER ALERT भन्दै म्युजिक ट्रयाक, भोकल, मिक्सिङ र माष्टरिङ सहित एउटा गीत तयार पार्न रु. ३ हजार र ३ वटा गीत लिएर आए रु. ८ हजार मात्र शुल्क लाग्ने कुरा पोष्टरै बनाएर सामाजिक सञ्जालबाट सार्वजनिक गरे l Beat (तयारी म्युजिक ट्रयाक) सहित आएमा एउटा गीतको लागि रु. २ हजार र ३ वटाका लागि रु. ५ हजार मात्र शुल्क लाग्ने समेत उनले उल्लेख गरेका छन् l उनको यो ‘बिग अफर’ देखेर अन्य स्टुडियोका सञ्चालकहरु आश्चर्यमा मात्र परेका छैनन् बजारका नकारात्मक टिका-टिप्पणी सुनेर आफूलाई अपमानित समेत महसुस गरिरहेका छन् l यो ‘बिग अफर’ ले स्टुडियो व्यवसायमाथि धेरै प्रकारका प्रश्नहरु उब्जाएको छ l धेरैले यो अफरलाई ‘काम पाइनस् बुहारी पाडोको …..कन्याउ’ उखानसंग जोडेका छन् भने केहीले ‘मरता क्या न करता ?’ भनेर सहानुभूति पनि प्रकट गरेका छन् l

नेपालमा हाल कति रेकर्डिङ स्टुडियो छन् भन्ने यकिन तथ्याङ्क कसैसँग पनि छैन l रेकर्डिङ स्टुडियोहरुको पेशागत छाता सङ्गठन नभएको र सबै स्टुडियो सरकारी निकायमा दर्ता नगरिएको हुँदा नेपालभर त परको कुरा भयो, काठमाण्डौ उपत्यकामा मात्र कति रेकर्डिङ स्टुडियो छन् भन्ने कुरा पनि अनुमान गर्न गाह्रो छ l केहीवर्ष अघि दुईचार जना सचेत र उत्साही स्टुडियो सञ्चालकहरुको पहलमा स्टुडियोहरुको छाता सङ्गठन खोलियो र शुल्कमा एकरुपता कायम गर्ने प्रयास पनि गरियो l केही मापदण्डको आधारमा स्टुडियोको वर्गीकरण गरी रेट तोक्ने काम गरियो l तर ‘यता आऊ न म यतिमा गरिदिन्छु’ भनेर झ्यालबाट बोलाउनेहरुले गर्दा त्यो अभियान सफल हुन सकेन l अभियान तुहिएसँगै सङ्गठनको अस्तित्व पनि हराएर गयो l डिजिटल प्रविधि भित्रिएसँगै साना, छरिता र स्तरीय उपकरणहरु उपलब्ध हुनाले र कति लगानी गर्ने भन्ने सहज विकल्पहरुले गर्दा लहै लहैमा पनि अनगिन्ती रेकर्डिङ स्टुडियोहरु खुलेका हुन् l यो बीचमा धेरै स्टुडियो किनबेच भए भने किन्ने मान्छे नभएपछि धेरै स्टुडियोका उपकरण कवाडीमा पनि परिणत भए l अहिले पनि धेरै स्टुडियो बिक्रीमा रहेको तर किन्ने मान्छे नभेटिएको कुरा स्टुडियोका सञ्चालकहरु नै बताईरहेका छन् l

एउटा रेकर्डिङ स्टुडियो स्थापना गर्न यति नै लगानी चाहिन्छ भन्ने छैन l उपकरण, फर्निचर र अन्तरिक डिजाइन अनुसार लगानी ५ लाख देखि १०-१५ लाख वा सो भन्दा बढी पनि हुन सक्छ l यो विशुद्ध प्राविधिक काम भएकोले स्वर/बाजा रेकर्डदेखि मिक्सिङ/माष्टरिङसम्म ज्ञान र अनुभव दुबैको उत्तिकै महत्व हुन्छ l उच्च ज्ञान र लामो अनुभव भएका प्राविधकहरुको संख्या निकै कम भएपनि अलिकति सस्तो खोज्दै चहार्ने ग्राहकले गर्दा स्टुडियोको रेट भृकुटीमण्डपको कपडा बजार जस्तै भएको छ l अलिअलि काम जानेपछि स्टुडियो खोल्ने हतार गर्ने प्रवृत्तिले गर्दा पनि बजारको आवश्यकता भन्दा धेरै स्टुडियो भएको हो l जसको प्रमुख कारकको रुपमा नेपालको राजनीतिलाई लिन सकिन्छ l नेताले गठबन्धन गरेर भागबण्डामा पालैपालो सत्ता चलाउने, नातेदार, झोले र चम्चेहरुलाई मालामाल बनाउने तर आम जनताको लागि रोजगारी/अवसरहरुको सिर्जना नगर्ने हुनाले मुलुकमा बेरोजगारी दर भ^यावह रुपमा बढिरहेको छ l यसरी बजारको आवश्यकता भन्दा कैयौं गुणा बढी रेकर्डिङ स्टुडियो खुल्नुमा यही बढ्दो बेरोजगारी दरलाई पनि एउटा प्रमुख कारणको रुपमा लिन सकिन्छ l

एउटा रेकर्डिङ स्टुडियो सञ्चालनका लागि भोकल, कन्ट्रोल र प्रतीक्षा गरी न्युनतम ३ वटा कोठाको आवश्यकता पर्दछ l ३ वटा कोठाको मासिक भाडा सरदार २५ देखि ३५ हजार पर्छ भने स्टुडियोमा आउने ग्राहक र साथीभाइको लागि हुने चिया-चमेना खर्च न्युनतम १० हजार राखौं  l बिजुली-पानी आदि अनिवार्य खर्चमा पर्ने नै भयो l यसको खर्च ८ हजार अनुमान गरौँ l रेकर्डिष्टको मासिक तलब न्युनतम ३० हजार मात्र राख्दा कूल मासिक खर्च ७८ हजार हुन आउँछ l यस बाहेकका अन्य खर्च पनि हुन सक्छ l नाफा हुनलाई कति कारोबार हुनुपर्छ अहिले त्यतातिर नजाउँ l

स्टुडियोमा लगातार काम भयो भने एउटा गीतको भोकल, बाजा, मिक्सिङ र माष्टरिङलाई २ देखि ३ दिनसम्म लाग्न सक्छ l क्यालकुलेटरमा हिसाब गरे झैं हरेक दिन उही तरिका र गतिमा काम हुन्छ भन्ने चाहिँ हुँदैन l कुनै दिन प्राविधिक समस्या हुन सक्छ त घरायसी काम वा बिरामीको कारण अथवा अन्य धेरै कारणहरुले गर्दा कुनै दिन स्टुडियो नै नखुल्ने वा ढिलो खुल्ने भईरहेको हुन्छ l यस्ता अनेक कारणहरुले गर्दा हरेक २-३ दिनमा एउटा गीत तयार हुन्छ भन्ने ग्यारेन्टी हुँदैन l थोरै वा आधा काम गरेर गायब हुने ग्राहकको कुरा छँदै छ l

शनिबार कटाएर महिनामा काम गर्ने दिन २६, एउटा गीत तयार हुने अवधि २ दिन नै राख्दा पनि लागातार काम भयो भने महिनामा १३ वटा गीत तयार हुने भए l यदि ‘बिग अफर’ गरिएको स्टुडियोमा एउटा एउटा गीत लिएर ग्राहक गए भने र क्यालकुलेटरमा हिसाब गरे झैं २-२ दिनमा फुत्त फुत्त गीत निस्कियो र ग्राहकले पैसा चुक्ता गरेरै फटाफट गीत लगे भने स्टुडियोले रु. ३९ हजारको कारोबार गर्ने रैछ l यदि ३-३ वटाको प्याकेजवाला ग्राहक आए भने महिनामा रु. ३४ हजारको कारोबार हुने रैछ l थोरै वा आधा पैसा दिएर माष्टर लिएर जाने अनि फर्केर पनि नहेर्ने ग्राहकको नियत अनुहार हेरेर वा बोली सुनेर थाहा पाउने कुरै भएन l त्यो कुरा यहाँ समावेश नगरौँ l

अहिले बजारमा एउटा गीतको स्टुडियो चार्ज (बाजा, भोकल, मिक्सिङ/माष्टरिङ) औसतमा ८-१० हजार पर्ने गरेको छ l औसत रेट भन्दा कममा काम गर्ने स्टुडियोहरु पनि छन् भने नाम चलेका र अलि अब्बल प्राविधिक भएका कतिपय स्टुडियो औसत रेट भन्दा अलि महँगा छन् l कतिपय स्टुडियो सञ्चालकहरुले प्राविधिक कर्मचारी राखेका छैनन् l गीत रेकर्डिङदेखि मिक्सिङ/माष्टरिङ पनि आफैं गर्छन् भने केही स्टुडियो सञ्चालकहरुले त गीत रचना, सङ्गीत र म्युजिक एरेन्ज जस्ता काम पनि स्वयं गर्ने गरेका छन् l बजारमा चलेको औसत रेट अनुसार तलबी प्राविधिक राखेर स्टुडियो चलाउन निकै कठिन छ l जहाँ साहु आफैं रेकर्डिष्टको काम गर्छन् र गीत रचना, सङ्गीत र सङ्गीत संयोजन मध्ये कुनै एक वा सो भन्दा बढी विधामा पनि काम गर्न सक्षम छन् भने तिनले मात्र स्टुडियो चलाएर २ पैसा बचाउन सक्छन् l अन्यथा नाफाको त कुरै छाडौं खर्च धान्न पनि मुश्किल छ l त्यसैले पनि अहिले धेरैलाई रेकर्डिङ स्टुडियो निल्नु न ओकल्नु भएको छ l

गीत-सङ्गीत क्षेत्रमा सबैभन्दा पीडामा नै रेकर्डिङ स्टुडियो हुन् l राजधानीमा कपाल काट्ने सेलुन लाखौँ होलान् l स्टुडियो भन्दा कैयौं गुणा बढी l तर पनि त्यहाँ गज्जबको एकता छ l पेसागत मर्यादा छ l हरेक सेलुनमा उनीहरुको नाइ सङ्घले निर्धारण गरेको रेट फ्रेमिङ गरेर राखिएको हुन्छ l जहाँ बार्गेनिङ हुँदैन l यदि कसैले बार्गेनिङ गर्न खोज्यो भने उनीहरु सङ्घको रेट लिष्ट देखाउँदै रेट घटाए कारबाहीमा पर्ने कुरा गर्छन् l तर बिडम्बना ! एकताको कल्पनै नगरौं यतातिर त कति व्यावसायी छन् भन्ने तथ्याङ्क समेत छैन l

सङ्गीत क्षेत्रमा खर्च नगरिएको हैन l एउटा म्युजिक भिडिओमा मात्र सरदार २-५ लाख खर्च हुने गरेको छ l अडिओमा सरदर ७० हजारदेखि १ लाख खर्च हुन्छ l १ लाख भन्दा बढी खर्च गरिएका अडिओ र ५ लाख भन्दा बढी खर्च भएका भिडिओ पनि प्रशस्तै छन् l उदेकलाग्दो कुरा ! एउटा मोडललाई खुशी खुशी एकदिनको लाखौँ रुपैया पारिश्रमिक दिन मन्जुर व्यक्ति स्टुडियोमा १-२ हजारको दलाली गरिरहेको हुन्छ l हुन त अडिओको लागि धेरैजसो सङ्गीतकारहरुले नै प्याकेजमा ठेक्का लिएका हुन्छन् l रेकर्डिङ स्टुडियोमाथिको आर्थिक शोषण/ भेदभावमा प्रोड्युसर भन्दा पनि खासगरी यस्ता ठेकेदार सङ्गीतकार नै बढी जिम्मेवार छन् l आफ्नो सङ्गीतको पारिश्रमिक २० देखि ५० हजारसम्म छुट्याउने सङ्गीतकारहरु स्टुडियोप्रति यति धेरै अनुदार किन छन् ? बुझ्न कठिन छ l

हाम्रो बजार र लगानीको जोखिम अनुसार एउटा कलाकारको एकदिनको पारिश्रमिक कति हुनुपर्ने हो ? वा कलाकारलाई लाखौँ दिनेले स्टुडियोलाई कति दिनुपर्ने हो ? त्यसमा सम्बन्धित सबैले पुनर्विचार गर्नुपर्ने बेला आईसकेको छ l नयाँ मान्छे वा विदेशमा रहेका गीतकार/लगानीकर्तालाई ठग्ने प्रवृत्तिको यहाँ चर्चा नगरौँ l यस्तो काममा पनि सङ्गीतकारहरुकै नाम एक नम्बरमा आउँछ l

धेरैजसो स्टुडियो सरकारी निकायमा दर्ता भएका हुन्छन् l स्टुडियोले कर तिरेको हुन्छ l घरभाडा, बत्ती-पानीको पैसा तिरेको हुन्छ l जोखिम मोलेर लगानी गरेको हुन्छ l गीतकार, सङ्गीतकार, एरेन्जर, गायक/गायिका, वाद्यवादक, निर्देशक, कोरियोग्राफर, मोडल आदि न त सरकारी निकायमा दर्ता हुन्छन्, न त कर नै तिरेका हुन्छन् (केही अपवाद बाहेक) l नगदमा कारोबार हुन्छ र खर्च कत्तिपनि हुन्न l आमदानी शत प्रतिशत बचत हुन्छ l तर सबैभन्दा शोषणमा स्टुडियो किन ? स्टुडियोको कामको अवमूल्यन किन ? यो आजको टड्कारो प्रश्न हो l

आज राजधानीमा रहेका स्टुडियोहरुको अवस्था कस्तो छ ? बाजागाजा सहित ८ हजारमा ३ वटा गीत रेकर्ड गर्छु भन्ने आत्म^घाती अफर किन आयो ? के यो व्यवहारिक रुपले सम्भब छ ? समग्र स्टुडियो सञ्चालकहरुले घोत्लिनुपर्ने विषय हो यो l यदि रेकर्डिङ सँगसँगै अतिरिक्त कामको रुपमा गीत लेखन, सङ्गीत वा म्युजिक एरेन्ज नगर्ने हो भने, साहु स्वयं प्राविधिक हैन भने आजको रेटमा स्टुडियो चलाउन कठिन छ l रेकर्डिङ स्टुडियोमा एउटा स्टाफ पनि पाल्न नसक्ने अवस्था छ भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ वा अपमानित भाषा लाग्न सक्छ, तर यथार्थ यही हो l  BIG OFFER हजारौं सवाल हो l पीडा हो l बाध्यता हो l स्टुडियो व्यावसाय भित्रको एउटा कालो पक्षको ऐना हो l यो OFFER को हैन यथार्थको लाजमर्दो पोष्टर हो l