‘अनलाइन एकल नाटक प्रतियोगिता’ का विजेताहरु पुरस्कृत

-तुलसी गिरी ‘भावुक’


‘घरघरमा रङ्गमञ्च’ भन्ने अवधारणाका साथ साँस्कृतिक संस्थानले आयोजना गरेको ‘अनलाइन एकल नाटक प्रतियोगिता २०७७-७८’ का विजेताहरुलाई पुरस्कृत गरिएको छ l उत्कृष्ट ५ मा छनोट भएका सबै नाटकको आइतबार संस्थानकै मिनी हलमा मञ्चन गरिएको थियो l प्रमुख निर्णायक वरिष्ठ रङ्गकर्मी एवं सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मा, वरिष्ठ चलचित्र निर्देशक तथा साहित्यकार राजेन्द्र शलभ र डबली थिएटरका अध्यक्ष एवं वरिष्ठ रङ्गकर्मी पुष्कर गुरुङको तीन सदस्यीय निर्णायक मण्डलले नाटकको प्रत्यक्ष अवलोकन गरी दिएको नम्बरको आधारमा विजेताहरुको घोषणा गरिएको हो l जस अनुसार ‘चक्र’ नाटकबाट निशान खत्री, ‘अधुरो ईच्छा’ बाट निर्मल सुवेदी र ‘१५ दिन’ नाटकबाट उषा पाण्डे प्रथम द्वित्तीय र तृतीय भएका थिए l विजेता कलाकारहरुले क्रमश: रू. १ लाख, रू. ५० हजार र रू. २५ हजार नगद पुरस्कारका साथै प्रमाणपत्र प्राप्त गरेका छन् l यसैगरी ‘बुढेसकालको सहारा’ नाटकबाट रमिक सिंह ठकुरी र ‘बारासी’ बाट सुस्मिता श्रेष्ठले जनही नगद रू. १५ – १५ हजार र प्रमाणपत्र सहित शान्त्वना पुरस्कार प्राप्त गरेका छन् l कार्यक्रम साँस्कृतिक संस्थानका महाप्रवन्धक अशोक प्यासी राईको सभापतित्वमा सम्पन्न भएको थियो l

समारोहमा संस्थानका महाप्रवन्धक राईले कोभिडको सुरुआती समयमा नै यो प्रतियोगिताको घोषणा गरिएको जानकारी गराउँदै विश्व्यापी प्रतिकूल समय र हालै सम्पन्न संस्थानको ५० औं वार्षिकोत्सवका कारण यस प्रतियोगिताको फाइनलमा केही ढिला भएको कुरा स्पष्ट पारे l ‘यस प्रकारका नाटक प्रतिस्पर्धालाई आगामी संस्करणहरुमा विज्ञहरुको राय सल्लाह समेतको आधारमा अझ परिष्कृत गर्दै नयाँ ढङ्गले महोत्सवकै रुपमा अगाडि बढाउने प्रयास गरिने छ’ महाप्रवन्धक राईले भने l विषयवस्तुमा विविधता र अभिनयमा सशक्तता भएका ५ वटा नाटकले पूरै देशको अवस्था झल्काएको विचार व्यक्त गर्दै घर घरमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने र उनीहरुलाई प्रोत्साहित गर्ने यस प्रतियोगिताको मुख्य उद्देश्य रहेको कुरा समेत उनले बताए l

यसैगरी एकल नाटक प्रतियोगिता अन्तिम प्रतिस्पर्धाका प्रमुख निर्णायक हरिहर शर्माले असल कामको थालनी गरेको भन्दै संस्थान परिवारलाई धन्यवाद दिए l युवा पुस्ताले नाटक विधालाई अझ परिष्कृत र नयाँ ढङ्गमा सजिवाताका साथ अगाडि बढाएको भन्दै उनले खुलेर प्रशंसा गरेका थिए l ‘नाटक त्यसैपनि कठिन विधा हो l त्यसमा पनि एकल प्रस्तुति झन् कठिन हुन्छ l आजको प्रस्तुति शसक्त छन् l अझ राम्रो गर्दै जानुहोला l’ वरिष्ठ नाट्यकर्मी शर्माले भने l           

प्राप्त जानकारी अनुसार प्रतियोगितामा सहभागी नाटकमध्ये पहिलो चरणमा ११ वटा छनोट भएका थिए । ती ११ वटा नाटकलाई संस्थानको युट्यव च्यानल र अन्य अनलाइन पोर्टलमा राखिएको थियो । दर्शकबाट सर्वाधिक लाइक र सेयर भएका एवं निर्णायकले दिएको अङ्कका आधारमा ११ बाट उत्कृष्ट ५ नाटकको छनोट गरिएको थियो l मञ्चन भएका सबै नाटक यथार्थपरक र कारुणिक कथावस्तुमा आधारित रहेका थिए भने स्तब्ध भएर नाटक हेरिरहेका धेरैजसो दर्शकका आँखा रसाएको देख्न सकिन्थ्यो l