विराट फिल्म एण्ड म्युजिक अवार्ड मोडल माधव केसीलाई

-सानु श्रेष्ठ

सेलिब्रेटी नेपाल प्रतिष्ठानव्दारा फागुन १३ गते काठमाडौंमा आयोजित चौथो संस्करणको ‘विराट फिल्म एण्ड म्युजिक अवार्ड–२०८२’ मा बिभिन्न बिद्यामा अवार्ड तथा सम्मान प्रदान गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिल सिन्हाको प्रमुख आतिथ्यता तथा चलचिब बिकास बोर्डका अध्यक्ष दिनेश डिसि लगायत बिशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न कार्यक्रममा मोफसलमा रहेर कलाकारितामा सक्रिय चर्चित अभिनेता तथा मोडल माधव केसी डा. अनिष श्रेष्ठको शब्द, शीव परियारको स्वर रहेको गीत ‘अजम्बरी मायाँ’को भिडियो मार्फत उत्कृष्ट मोडलको अवार्डबाट विभूषित हुनु भएको छ ।

यो भन्दा पहिले हरि आचार्यद्वारा लिखित ‘किन दुख्छ मुटु’ बोलको गीतको म्युजिक भिडियोमार्फत अभिनेता केसीले दोश्रो विराट म्युजिक तथा फिल्म अवार्ड–२०८० मा ‘उत्कृष्ट मोडल’ को अवार्ड आफ्नो पक्षमा पार्न सफल हुनु भएको थियो । चार दर्जनको हाराहारीमा म्युजिक भिडियोमा मोडलिङ गरिसक्नु भएका माधव केसीले धुम थ्री, डन्ट ब्रेक माई हर्ट, जिन्दगी, चिनारी, मन मनै मन पराए लगायतका चलचित्रमा आफ्नो अभिनय क्षमता प्रस्तुत गरिसक्नु भएको छ ।

अवार्ड प्राप्तीले आफूलाई थप जिम्मेवार महसुस गराएको अभिनेता केसीले बताउनु भएको छ । उहाँले भन्नुभयो, ‘मेरो कामको मूल्याङ्कन गरी अवार्ड प्रदान गर्नु हुने जुरी टिम तथा आयोजकप्रति धन्यवाद ज्ञापन गर्दछु ।’ कार्यक्रम संयोजक सुरज पौडेलका अनुसार यसवर्ष संगीततर्फ १५ विधा र चलचित्रतर्फ ११ विधा गरी कुल २६ विधामा अवार्ड तथा सम्मान प्रदान गरिएको छ चलचित्र विकास बोर्डको प्रेक्षालयमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा विगत चार दशकदेखि सक्रिय बरिष्ठ कलाकार तथा निर्देशक सुभाष गजुरेललाई नगद २५ हजार ५ सय ५५ रुपैयाँसहित ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो भने तीन दशक भन्दा लामो समयदेखि चलचित्र पत्रकारितामा सक्रिय कृष्ण भट्टराईलाई नगद ११ हजार १ सय ११ रुपैयाँसहित पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । ।