चलचित्र विकास बोर्डले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२’ का अवसरमा नेपाली चलचित्र क्षेत्रमा कार्यरत चलचित्रकर्मीहरूका लागि ११ विधामा तालिम तथा कार्यशाला सञ्चालन गर्ने गरी आवेदन आह्वान गरेको छ।
बोर्डले सार्वजनिक गरेको सूचनाअनुसार साउण्ड मिक्सिङ तथा पोस्ट–प्रोडक्सन, स्पट सिङ्क साउण्ड, सिनेमेटोग्राफी, पटकथा लेखन, ड्रोन सञ्चालन, मेकअप, फोटो तथा भिडियो पत्रकारिता, कलर करेक्सन, एआई (कृत्रिम बुद्धिमत्ता), प्रतिलिपि अधिकार, साइबर सुरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी तालिम तथा कार्यशाला सञ्चालन गरिनेछ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र उद्योगको दीर्घकालीन विकासका लागि दक्ष जनशक्ति अपरिहार्य रहेको उल्लेख गर्दै भने, “नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउन प्राविधिक र सिर्जनात्मक रूपमा सक्षम चलचित्रकर्मी उत्पादन गर्नु आजको आवश्यकता हो। चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष–२०८२ अन्तर्गत सञ्चालन गरिने यी तालिम तथा कार्यशालाले चलचित्रकर्मीहरूको सीप अभिवृद्धिमा ठोस योगदान पुर्याउनेछ।”
उनका अनुसार बोर्डले तालिमहरूलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी व्यवहारिक, परिणाममुखी र उद्योगमैत्री बनाउने लक्ष्य लिइएको छ। तालिममा सहभागिताका लागि इच्छुक चलचित्रकर्मीहरूले बोर्डको वेबसाइटबाट आवेदन फारम डाउनलोड गरी सूचना प्रकाशित भएको मितिले १० दिनभित्र आवेदन दिन सक्नेछन्। पछिल्लो पाँच वर्षदेखि सम्बन्धित विधामा सक्रिय रूपमा कार्यरत चलचित्रकर्मीहरूलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ। थप जानकारीका लागि चलचित्र विकास बोर्डमा सम्पर्क गर्न सकिनेछ।














