चलचित्र विकास बोर्डको सहकार्यमा, मगर चलचित्रकर्मी सङ्घको आयोजना तथा नेपाल पुन मगर समाजको व्यवस्थापनमा सञ्चालन गरिएको एक महिने (१०० घण्टा) भिडिओग्राफी एवम् फोटोग्राफी कार्यशाला गोष्ठी माघ ३ गते शनिबार भव्य रूपमा सम्पन्न भएको छ।
पुष १ गते कास्कीको तल्लो गगनगौंडास्थित धौलागिरि आमा पुन मगर समाजको प्राङ्गणमा उद्घाटन भई सञ्चालनमा आएको उक्त तालिम कार्यक्रम चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डी.सी.को प्रमुख आतिथ्यमा समापन गरिएको हो।

कार्यक्रममा नेपाल पुन मगर समाजका केन्द्रीय अध्यक्ष खमबहादुर गर्बुजा पुन मगर, मगर चलचित्रकर्मी सङ्घका संस्थापक अध्यक्ष युवराज मास्की राना मगर, नेपाल मगर सङ्घ तथा आदिवासी जनजाति चलचित्र महासंघका पूर्व अध्यक्ष प्रतिमाया पुन मगरलगायत विभिन्न सामाजिक तथा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
चलचित्र विकास बोर्डले यस वर्षलाई “चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष” का रूपमा घोषणा गर्दै सीप विकासमा विशेष प्राथमिकता दिएको छ। मगर चलचित्र क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको कृति “मगर चलचित्र (हिजोदेखि आजसम्म)” का लेखक मेजन पुन मगरलाई चलचित्र विकास बोर्डबाट रु. ५०,००० प्रदान गर्ने निर्णय सार्वजनिक गरियो। त्यसैगरी, मगर चलचित्रकर्मी सङ्घको कलाकार सहायता अक्षयकोषका लागि बोर्डबाट रु. ५०,००० सहयोग घोषणा गरिएको छ। तालिम सफलतापूर्वक सम्पन्न गर्ने ३१ जना प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र तथा पुस्तक हस्तान्तरण गरिएको थियो।
कार्यक्रममा धौलागिरि पुन मगर आमा समूह, ढुङ्गेपाटन पुन मगर समाज, मिस मगरका प्रतिनिधि तथा विभिन्न स्थानबाट आएका कलाकारहरूद्वारा मगर संस्कृतिलाई उजागर गर्ने सांस्कृतिक प्रस्तुतिहरू प्रस्तुत गरिएका थिए। चलचित्र विकास बोर्ड नेपाली चलचित्र क्षेत्रको दिगो विकास, सीप अभिवृद्धि तथा आदिवासी जनजाति समुदायको सिर्जनात्मक प्रतिभा उजागर गर्न निरन्तर क्रियाशील रहन प्रतिवद्ध रहेको बताईएको छ।














