अडिओ भिडिओ सोसाइटी अफ नेपालको गठन भएको औपचारिक घोषणा

अडिओ भिडिओ सोसाइटी अफ नेपाल (Audio Video Society of Nepal – AVSN) गठन भएको औपचारिक घोषणा आज चलचित्र विकास बोर्डमा आयोजित विशेष कार्यक्रममार्फत गरिएको छ। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डि.सी. प्रमुख अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित १२ वटा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो। AVSN को गठनले अडिओ–भिडिओ, डिजिटल प्रविधि, नवीन सोच र सिर्जनात्मक प्रयोगलाई संस्थागत रूपमा अघि बढाउँदै नेपाली चलचित्र तथा दृश्य–श्रव्य उद्योगलाई समयसापेक्ष र प्रतिस्पर्धी बनाउने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथि दिनेश डि.सी.ले अत्याधुनिक प्रविधि र गुणस्तरमा आधारित निर्माण प्रक्रियामार्फत स्वदेशी चलचित्रलाई विश्व बजारसम्म स्थापित गर्न सकिने स्पष्ट धारणा राखे। उनले चलचित्र अब केवल मनोरञ्जनको माध्यम मात्र नभई प्रविधि, सिर्जनशीलता र व्यावसायिकताको संयोजनबाट अघि बढ्ने उद्योग भएको उल्लेख गरे।

अध्यक्ष डि.सी.ले भने, “यदि हामीले चलचित्र निर्माणमा अत्याधुनिक प्रविधिको योजनाबद्ध प्रयोग गर्‍यौँ र गुणस्तरमा कुनै सम्झौता गरेनौँ भने स्वदेशी चलचित्रलाई विश्व बजारमा पुग्ने हैसियत दिन सकिन्छ। अबको प्रतिस्पर्धा स्थानीय सीमामा होइन, अन्तर्राष्ट्रिय मञ्चमा हो। त्यसका लागि निर्माता, निर्देशक, प्राविधिक, कलाकार, वितरक र संस्थागत निकाय सबैले एउटै उद्देश्यका साथ अघि बढ्नुपर्छ।”

उनका अनुसार कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिले पटकथा लेखन, पोस्ट–प्रोडक्सन, भिजुअल इफेक्ट, अभिलेखीकरण र वितरण प्रणालीमा नयाँ सम्भावना खोलेको छ। प्रविधिलाई केवल आकर्षणका रूपमा नभई कथावस्तु बलियो बनाउने, निर्माण लागत व्यवस्थित गर्ने र अन्तर्राष्ट्रिय दर्शकसम्म पुग्ने माध्यमका रूपमा प्रयोग गर्नुपर्ने उनले बताए। साथै, बोर्डले प्रविधिमैत्री नीति, तालिम, सहकार्य र संरचनागत सुधारमार्फत चलचित्रकर्मीलाई साथ दिने प्रतिबद्धता पनि दोहोर्‍याए।

कार्यक्रममा उदय सुब्बा (नेपाल चलचित्र निर्माता संघ अध्यक्ष), गोपालकाजी कायस्थ (नेपाल चलचित्र संघ उपाध्यक्ष), राजभाई सुवाल (मानवरहित विमान ड्रोन संघ अध्यक्ष) तथा समिर बलामी (चलचित्र पत्रकार संघ अध्यक्ष) लगायतले पनि आ–आफ्नो धारणा राखेका थिए। वक्ताहरूले एआई, ड्रोन र आधुनिक अडियो–भिडियो प्रविधिको सुरक्षित, जिम्मेवार र सिर्जनात्मक प्रयोगमा AVSN को भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।