गीतकार सङ्घ नेपालको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सङ्घका अध्यक्ष वसन्त वित्यासी थापाको सभापतित्व एवम् सम्मानित गीतकार राजेन्द्र थापाको प्रमुख आतिथ्यतामा १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सङ्घका सल्लाहकार पूर्वमन्त्री एवम् वरिष्ठ गीतकार एस्पी कोइराला, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार सबिता कार्की, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव श्याम तमोट, संस्थापक अध्यक्ष डा. कृष्णहरि बराल, सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष अष्ट लामा, गीतकार सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटा, शुभ मुकारुङ, सल्लाहकार डा. भोला रिजाल, साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकाली, नारायणगोपाल युवाकोषका अध्यक्ष दीपक केसी लगायतको आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो ।

सङ्घका उपाध्यक्ष रमेश कोइरालाले कार्यक्रममा उपस्थित स्रष्टाहरूलाई स्वागत गर्दै बौद्धिक सम्पत्तिको संरक्षणमा सम्पूर्ण स्रष्टाहरूले आफ्नो सिर्जनाका बारेमा सचेत रहेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सङ्घको १६ औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै सङ्घका पूर्व अध्यक्ष चूडामणि देवकोटाले गीतकारहरूको हकअधिकारको पक्षमा सङ्घ निरन्तर क्रियाशील रहेको र अग्रजदेखि अनुज स्रष्टालाई सम्मान गर्दै आएको बताउनुभयो । १६औँ वर्षसम्म निरन्तर रुपमा सङ्घले कार्यालय सञ्चालन गरी ठूलो धनराशीका पुरस्कारहरू स्थापना गर्दै आएको समेत बताउनुभयो ।
त्यस्तै, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी रजिष्ट्रार सबिता कार्कीले सङ्घको १६ औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै बौद्धिक सम्पत्तिको संरक्षणमा निरन्तर सहकार्य रहने प्रतिवद्धता जनाउनुभयो । गीतकारका सिर्जनाले आन्दोलनले भन्दा ठूलो प्रभाव पार्ने बताउँदै जनमानसमा दीर्घकालिन चेतना निर्माण गर्ने जिकिर गर्नुभयो । नेपाली भाषा र संस्कृतिमा गीतकारहरूको ठूलो भूमिका रहेको हुँदा रोयल्टीका विषयमा पनि सचेत रहन उहाँले आग्रह गर्नुभयो ।
त्यसैगरी सङ्घका सल्लाहकार तथा पूर्वमन्त्री वरिष्ठ गीतकार शंकरप्रसाद कोइराला (एस्पी) ले सङ्घले १६ औँ वसन्त पार गरेकोमा शुभकामना दिनुभयो । कोइरालाले सङ्घको उन्नति र प्रगति जसरी भएको छ त्योभन्दा अझै उचाइमा लैजान सम्बन्धित सबै एकजुट हुनुपर्ने सुझाव राख्नुभयो । गीतकार सङ्घ अब बालिग भएको र नेपालभित्र मात्र नभएर डायस्पोरामा पनि यसको सशक्त उपस्थिति रहेको उहाँको भनाइ थियो । उहाँले सम्माजनक रुपमा गीतकारहरूको एकल साँझ गरी उर्जा दिँदै फन्डराइजिङ गर्नुका साथै सरकारसँग पनि सहकार्य गरी बौद्धिक सम्पत्तिको संरक्षणमा लाग्नुपर्ने धारणा राख्नुभयो ।
कार्यक्रमका प्रमुख अतिथि सम्मानित गीतकार राजेन्द्र थापाले १६औँ वार्षिक साधारणसभालाई शुभकामना दिँदै विगतको योगदानको चर्चा गर्नुभयो । उहाँले गीतकार सङ्घ मातृसंस्था भएको बताउँदै सम्मानजनक रुपमा आफ्नो स्थान ओगट्न सफल भएको बताउनुभयो । आफैँले रोयल्टी नपाएको गुनासोसमेत व्यक्त गर्दै गीतकार थापाले गीतकारहरू राजनीतितर्फ नलागेर निरन्तर गीत लेखिराख्नुपर्ने सुझाउनुभयो ।
गीतकार सङ्घ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले १६ औँ वार्षिक साधारणसभाले नयाँ सन्देश ल्याएको बताउँदै स्थापनादेखि १६ औँ वर्षसम्म निरन्तर सक्रिय गीतकारहरूकै कारण संस्थाले फड्को मारेको दावी गर्नुभयो । ‘विभिन्न तह र तप्कामा एउटा गरिमा बोकेर आएका व्यक्ति भए पनि गीतकार सङ्घमा आएपछि सबै सदस्य नै भएको महसुस गरेका छौं । गीतकारहरूको रोयल्टी आउने बाटो निकै कठिन भएको र अब प्रोड्युसरको अधिकारका बारेमा पनि सङ्घले नयाँ नीति लिएर अघि बढ्ने छ’, उहाँले भन्नुभयो । अनामनगरस्थित तमु बौद्ध सेवा समिति नेपालको हलमा सम्पन्न सो कार्यक्रम सङ्घकी कार्यसमिति सदस्य देवी पराजुलीले सञ्चालन गर्नुभएको थियो ।














