‘आफूलाई माया गरेस्’ सन्देशमूलक गीत सार्वजनिक हुँदै

नेपाली सङ्गीत क्षेत्रमा पछिल्ला वर्षहरूमा विभिन्न शैलीका गीतहरू सार्वजनिक भइरहेका बेला एक सन्देशमूलक नयाँ गीत बजारमा आउने तयारी भएको छ। सङ्गीतको वास्तविक मर्म फिक्का बन्दै गएको टिप्पणीबीच सार्वजनिक हुन लागेको यस गीतले समाजमा सकारात्मक सोच फैलाउने अपेक्षा गरिएको छ।

वरिष्ठ सङ्गीतकार आलोकश्रीको सङ्गीतमा आदेश गुर्मछान मगरको सङ्गीत संयोजनमा तयार भएको यस गीतमा लोकप्रीय गायक यम बरालले स्वर दिएका छन्। लामो समयदेखि जमेका सङ्गीतकार तथा गायक बरालबीचको सङ्गीत यात्रामा कवि तथा गीतकार नारायण खतिवडाको शब्द रहेको छ।

गीतकार खतिवडाका अनुसार गीतको मुख्य सन्देश ‘आफैँलाई माया गर्नुपर्छ, आफैँलाई जतन गर्नुपर्छ’ भन्ने आत्म–बोधमा आधारित छ। ‘आजको स्वार्थी समाजमा व्यक्तिले आफूलाई बलियो, धैर्यवान र आशावादी बनाउन सिक्नुपर्छ’, उनले बताए। गीतले जीवनमा आउने विभिन्न चुनौती, दुःख र नकारात्मक परिस्थितिबाट हार मानेर होइन, त्यसबाट पाठ लिएर अगाडि बढ्न प्रेरित गर्ने बताइएको छ । मानिसले जीवनका कठिन अनुभूति सकारात्मक रूपमा लिएर आफूलाई दृढ र अटल बनाउनुपर्छ भन्ने भाव गीतको केन्द्रमा छ। गुञ्जन ईन्टरटेनमेन्ट स्टुडियोमा रेकर्ड भएको उक्त गीत चाँडै श्रोता तथा दर्शकमाझ आउने कुरा थाहा भएको छ