-तुलसी गिरी ‘भावुक’
नेपाल चलचित्र कलाकार सङ्घले आज एक कार्यक्रमको आयोजना गरी कार्यसमितिमा रिक्त रहेका पदमा मनोनित दुईजना उपाध्यक्ष र दुईजना सदस्य गरी चारजना पदाधिकारीहरुलाई सपथग्रहण गराएको छ । गत कात्तिक २ गते बसेको बैठकले सङ्घको बिधान परिच्छेद-८ को दफा २६ को उपदफा ‘ग’ बमोजिम उपाध्यक्ष जयन्त रेग्मी र राजकुमार शाहलाई एवं परिच्छेद-८ को दफा २६ को उपदफा ‘ध’ बमोजिम सदस्यहरु जीवन थापा र श्रीदेव भट्टराईलाई मनोनित गरेको कुरा सङ्घका अध्यक्ष मोहन निरौलाले समारोहलाई जानकारी गराउनुभएको छ । चारैजना पदाधिकारीहरुलाई सङ्घका अध्यक्ष निरौलाले सपथ ग्रहण गराउनुभएको थियो ।

समारोहमा आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा सम्पन्न हुन गईरहेको International Federation of Actors (FIA) को अन्तर्राष्ट्रिय अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै त्यसतर्फ जान लाग्नुभएका सङ्घका कोषाध्यक्ष सुनिल कटुवाललाई पनि अबिर र खादा लगाएर बधाई तथा शुभकामना व्यक्त गरिएको थियो । सो सम्मेलनमा ६० मुलुकका चलचित्रकर्मीहरु सम्बद्ध सङ्घ संस्थाका ४५० भन्दा बढी प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहने छ भने सभाले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको समेत चयन गर्ने कार्यक्रम रहेको छ ।
समारोहमा सङ्घका अध्यक्ष मोहन निरौलाले सदस्यता वितरण र नवीकरणमा विधान अनुसारको मापदण्ड प्रमाणीकरणलाई कडाईका साथ लागु गरिएको साथै लेखा प्रणालीलाई पारदर्शी र थप व्यवस्थित गरिएको कुरा जानकारी गराउँदै सङ्घले गरेका अन्य कार्यहरुको बारेमा समेत प्रकाश पार्नुभएको थियो । नव नियुक्त पदाधिकारीहरुलाई चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, वरिष्ठ चलचित्रकर्मी एवं सङ्घका कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना लगायतले शुभकामना सहित बधाई दिनुभएको थियो। सङ्घका अध्यक्ष मोहन निरौलाको अध्यक्षतामा सम्पन्न सो समारोह गोपाल ढकाल ‘छन्दे’ ले सञ्चालन गर्नुभएको थियो ।













