अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अधिवेशन अमेरिकाको पेन्सिलभेनिया राज्यको हेरिसबर्गमा सम्पन्न भएको छ । इनास अमेरिकाका अध्यक्ष तथा अभिनेता राहुल केसीको सभापतित्वमा सम्पन्न सो अधिवेशनमा चलचित्र निर्देशक एवम् पत्रकार सुमन दाहाललाई राज्यस्तरीय सम्मान प्रदान गरिएको छ ।
मेरिल्यान्ड राज्य संसदका तर्फबाट सिनेटर एबी किंग्सले दाहाललाई सम्मान पत्र प्रदान गरे । सो सम्मान पत्र इनास, अमेरिका मार्फत् दाहालले पुर्याएको योगदानको कदरस्वरूप प्रदान गरिएको हो ।
सम्मान पत्रमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय कलाकार समाज–अमेरिकामा तपाईंको उत्कृष्ट योगदानको सम्मान गर्दै चलचित्र निर्देशकको रूपमा तपाईंको कलाप्रति समर्पण, रचनात्मकता र प्रतिवद्धताले हाम्रो संस्था र बृहत् नेपाली कलात्मक समुदायमा स्थायी प्रभाव पारेको जानकारी गराउन चाहन्छौँ ।’
विगत लामो समयदेखि अमेरिकामा रहेर दाहालले विभिन्न लघु चलचित्र, म्युजिक भिडिओ, चलचित्र तथा गीत–सङ्गीतका माध्यमबाट नेपाली कला र साहित्यको क्षेत्रमा निरन्तर योगदान पुर्याउँदै आएका छन् ।
सम्मानपछि दाहालले आफ्नो प्रतिक्रिया दिंदै भने- ‘यस सम्मानले मलाई आगामी दिनमा नेपाली चलचित्र तथा गीत–सङ्गीतको क्षेत्रमा अझ योगदान गर्न प्रेरणा र हौसला मिलेको छ’।
