श्रीकृष्ण जन्माष्टमीको अवसरमा ‘राधा’को पहिरनमा लोकप्रिय गायिका सरिता

सरिता भारती पछिल्लो पुस्ताकी व्यस्त गायिका हुन् । यसै क्रममा गायिका भारतीले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘राधा’को पहिरनमा फोटो सुट गरेकी छिन् । यसअघि पनि शिवरात्रीमा उनी शिवको पहिरनमा प्रस्तुत भएकी थिईन् । यसपटक उनी भगवान श्रीकृष्णकी प्रेमिका राधाको पहिरनमा प्रस्तुत भएकी हुन् ।

भगवान श्रीकृष्णप्रति आस्था राख्ने सबैप्रति शुभकामना दर्शाउँदै आफू यो स्वरुपमा प्रस्तुत भएको सरिताले बताईन् । चेली मेकअप स्टुडियोकी सिनियर मेकअप आर्टिष्ट बिना रानामगरले सरितालाई राधाको शृंगारमा उतारेकी हुन् । कीर्तीपुरको बागभैरव मन्दिर परिसरमा फोटो पत्रकार बद्रि थापाले सरिताको राधा भेषलाई तस्बिरमा कैद गरेका हुन् ।

बिगत एक दशकदेखि गायनमा सक्रिय सरिताले गत साता मात्र आफ्नै एसबी क्रियसन नेपाल युट्युव च्यानलबाट नयाँ तिज भाकाको गीत ‘नाच्न दे’ बजारमा ल्याईन् ।  ओम सुनारको सङ्गीत रहेको यो गीत अहिले चर्चामा छ । आफ्नो स्वरमा करिब दुई दर्जन गीतहरु बजारमा ल्याईसकेकी सरिताको यही ११ भदौमा झरी सम्बन्धी नयाँ लोकगीत बजारमा आउँदैछ । अग्रज गीतकार डब्बु क्षत्रीको शब्द र ओम सुनारको सङ्गीतमा झरी सम्बन्धी यो लोकगीत बजारमा आउन लागेको उनले जानकारी गराईन् । यो लोक गीतलाई पुरुष संस्करणमा कोरियोग्राफर तथा गायक कृष्ण रसालले गाउँदैछन् ।

यतिबेला अरु नयाँ दुईवटा गीत रेकर्डको तयारीमा रहेकी सरिताले तिजको अवसरमा यही १ भदौमा आयोजना हुने तिज क्विन विशेष कार्यक्रममा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछिन् । यो सहित यो तीजमा अरु आधा दर्जन साङ्गीतिक कार्यक्रम तय भएको उनले जानकारी गराईन् ।

तस्बिर: बद्रि थापा