-सीतल आचार्य
‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको निमन्त्रणामा किर्गिस्तानको चोल्पोन अटे शहरमा किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयद्वारा आयोजित RUH-SANAT विश्व परम्परागत संस्कृति र सङ्गीत मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर स्वदेश फर्किएको छ । तीन दशक भन्दा लामो समयदेखि सांस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई परिचित गराउँदै आइरहेको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले किर्गिस्तानमा आयोजित अन्तर्राष्ट्रिय लोक सांस्कृतिक आदानप्रदान कार्यक्रममा नेपालको तर्फबाट उत्कृष्ट प्रस्तुति दिएको थियो ।
किर्गिस्तानको चोल्पोन अटे शहरमा अगस्ट १ देखि ३ तारिखसम्म आयोजना भएको सो मेलामा नेपाल सहित ५० भन्दा बढी देशका कलाकारहरुको सहभागिता रहेको थियो । मेलामा कलाकारहरुले सामुहिक र एकल साङ्गीतिक प्रस्तुति दिएका थिए। एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख डा. आरसी कोइराला ‘रामचन्द्र’ को नेतृत्वमा सहभागी हुन त्यसतर्फ गएको टोलीमा डा. कोइरालाका साथै वरिष्ठ वाद्यवादक धनेश्वर तिवारी, वरिष्ठ बाँसुरीवादक राम भुजेल, वरिष्ठ गायिका तथा वाद्यवादक रिता कुमारी बुढाथोकी र वरिष्ठ सारङ्गीवादक खुम के. सी. सहभागी भएका थिए ।
धनेश्वर तिवारीको वाद्ययन्त्र बजाउने कला होस् वा राम भुजेलको बाँसुरी फुक्ने कला अथवा खुम केसीको सारङ्गी रेट्ने शैली मात्र हैन मेलाकै एकमात्र वाद्ययन्त्र बजाउने नेपालकी रिता बुढाथोकीको मादल फिटाई देखेर उपस्थित दर्शकले मात्र हैन कार्यक्रमका प्रमुख अतिथि संस्कृति मन्त्रीले समेत उठेर सम्मान व्यक्त गरेका थिए। सोही अवसरमा समूहका प्रमुख डा. आरसी कोइरालाले संस्कृति मन्त्रीदेखि उपस्थित सम्पूर्ण महानुभाव तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबर्धन गर्न सकिने सम्भावनाबारे तथा सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रमहरू गर्न सकिने बारेमा पनि जानकारी दिएका थिए।
