एजवुड, म्यारिल्याण्ड l नेपालका विश्व प्रसिद्ध पार्कौर एथलीट दिनेश सुनारलाई इन्टरनेशनल नेपाली आर्टिस्ट सोसाइटी (INAS) अमेरिकाले २०२५ को प्रतिष्ठित INAS नेशनल हनर अवार्डबाट सम्मानित गरेको छ। यस सम्मानले उनका पार्कौर क्षेत्रमा रहेका असाधारण उपलब्धिहरू र अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा र संस्कृति प्रवर्धनमा गरेको योगदानको सम्मान गर्दछ। यो भव्य समारोह रामाडा बाइ विन्डह्याम, एजवुड, म्यारिल्याण्डमा सम्पन्न भएको थियो र ६०० भन्दा बढी अतिथिहरूको उपस्थितिमा आयोजना भएको थियो l जसमा राज्य सांसद, प्रतिनिधिहरू, नागरिक नेता, प्रसिद्ध कलाकारहरू, पत्रकारहरू, खेलाडीहरुका साथै अमेरिका र यूरोपका नेपाली समुदायका सदस्यहरू सामेल थिए।
INAS नेशनल हनर, INAS अमेरिकाले प्रदान गर्ने सबैभन्दा ठूलो सम्मान हो l यो सम्मान समाज र सांस्कृतिक क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएका तथा आफ्ना क्षेत्रमा असाधारण काम गरेका व्यक्तिहरूलाई दिइन्छ। दिनेश सुनारको पार्कौर क्षेत्रमा उल्लेखनीय करियरको केही ऐतिहासिक उपलब्धिहरू यस प्रकार छन्:
• गिनीज वर्ल्ड रेकर्ड्स डेको पहिलो नेपाली एथलीट: दिनेशले उत्तर अमेरिकामा गिनीज वर्ल्ड रेकर्ड्स डे इभेन्टमा सहभागी भएर पहिलो नेपाली एथलीटको रुपमा इतिहास रचेका छन्।
• विश्व रेकर्ड तोड्ने कार्यक्रमको नेतृत्व: उनले अमेरिकाका सरकारी संस्थाहरू र नेपाली-अमेरिकी संघसंस्थासँग सहकार्य गर्दै एक दर्जनभन्दा बढी विश्व रेकर्ड इभेन्टहरूको आयोजना र सहभागिता गरेका/जनाएका छन्।
• वैश्विक मिडिया ध्यान: पार्कौर क्षेत्रमा उनले गरेको कार्यले BBC, NBC र ABC जस्तो अन्तर्राष्ट्रिय मिडियामा महत्वपूर्ण स्थान पाएको छ।
• अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार: उनलाई अनुशासन र प्रदर्शन कला मार्फत समाजमा गरेको योगदानको लागि यो पुरस्कार दिइएको हो।
• राष्ट्रिय खेलकुद उपलब्धिहरू: उनले नेपालमा जिम्नास्टिक्स र मार्सल आर्ट्समा तीनवटा स्वर्ण पदक जितेका छन्।
• युवा प्रशिक्षक र शिक्षक: दिनेश अमेरिकी भूमिमा पार्कौर प्रशिक्षकको रुपमा युवा सशक्तिकरण, फिटनेस र सांस्कृतिक आदानप्रदानको क्षेत्रमा अग्रसर भएका छन्।
• नागरिक सम्मान: उनले अमेरिकाका विभिन्न स्थानहरूमा नागरिक सम्मान प्राप्त गरेका छन्, जसमा अक्रोन नगरपालिकाले दिनेश सुनार डे घोषणा गरेको छ र अमेरिकी सांसदहरू, सिटी र काउंटी काउन्सिलहरू र कंग्रेस सदस्यहरूले उनलाई सम्मानित गरेका छन्।
समारोहमा INAS अमेरिकाका अध्यक्ष राहुल के.सी. ले दिनेश सुनारको “उत्कृ्ष्टताको भावना, दृढता र विश्वव्यापी प्रभाव” को प्रशंसा गरे। उनले भने, “सुनारजीले केवल पार्कौरको क्षेत्रमा नै उत्कृष्टता पुर्याएका छैनन्, नेपाली डायस्पोरामा सांस्कृतिक गर्वको संवर्धन पनि गरेका छन्।” समारोहको अन्त्य नेपाली संस्कृति र समृद्धि मनाउने विभिन्न सांस्कृतिक प्रस्तुतिहरूसँग भएको थियो, जसमा नेपालका विभिन्न क्षेत्रका परम्परागत नृत्य, संगीत र राष्ट्रिय कलाकारहरूद्वारा प्रेरणादायक संगीत रचनाहरू प्रस्तुत गरिएका थिए।
यस इभेन्टले विश्वभरिका नेपाली समुदायको एकता र सांस्कृतिक समृद्धिको महत्त्वलाई उजागर गर्यो। दिनेश सुनारसँगै अन्य १५ सम्मानित व्यक्तिहरू र संस्थाहरूलाई मानव अधिकार, प्रदर्शन कला, सामाजिक काम, साहित्य र सांस्कृतिक संरक्षण जस्ता विभिन्न क्षेत्रमा उत्कृष्टता र योगदानको लागि सम्मानित गरिएको थियो। सम्मानित व्यक्तिहरूमा फिल्ममार्फत मानव अधिकारमा योगदान पुर्याएका पूरनसिंह बरेल्ली, चित्रकला क्षेत्रमा उत्कृष्टता हासिल गरेका राजेन्द्र केसी र नेपाली संगीत क्षेत्रका उदीयमान गायक आश्रा कुँवरको नाम पनि समावेश छ। INAS नेशनल हनर २०२५ समारोहले विश्वभरिका नेपाली समुदायका लागि एकता, गर्व र सांस्कृतिक संरक्षणको सन्देश प्रस्तुत गर्यो।
