म्यूजिक खबर म्यूजिक अवार्डको १२ औं संस्करणमा दिइने सम्मान तथा पुरस्कारको घोषणा गरिएको छ । म्यूजिक खबरका सल्लाहकार, आयोजक र सङ्गीतकर्मीबीच छलफल गरी आगामी जेठ २३ गते हुने अवार्डको फाइनल कार्यक्रममा दिइने सम्मान तथा पुरस्कारको नामहरु छनोट गरिएको कार्यक्रम संयोजक सबिता पोखरेलले जानकारी दिइन् ।
तिलगंगा स्थित बेस्ट वेर्स्टन प्लस होटलमा आयोजना हुने म्युजिक अवार्ड कार्यक्रममा विशिष्ट गीतकार यादव खरेललाई म्युजिक खबर दीर्घ साधना सम्मान–२०८१ अर्पण गरिने भएको छ । सयौं गीत लेख्नुभएका गीतकार खरेलका गैरी खेतको शीरै हान्यो, चैतमास खडेरीमा डढेलोले बनै खायो, यस्तो पनि हुँदो रैछ, नौसय खोला तरेर जाने, उडुँ कि गुडुँ म लगायतका गीतहरु कालजयी छन् । उहाँले नासो, प्रेमपिण्ड, श्रीस्वस्थानी, लोभीपापी, आदिकवि भानुभक्त लगायतका चलचित्र निर्माण तथा निर्देशन गर्नुभएको छ भने उहाँ चलचित्र विकास बोर्डको पहिलो अध्यक्ष समेत हुनुहुन्छ । गीतकार खरेललाई ५१ हजार नगद राशी सहित दीर्घ साधना सम्मान अर्पण गरिने संयोजक पोखरेलले जानकारी गराईन्।
त्यसैगरी यस वर्षको म्यूजिक खबर रजत सङ्गीत सम्मान–२०८१ गायक तिलकसिंह पेलालाई अर्पण गरिने भएको छ । हालसम्म उहाँको सङ्गीत तथा स्वरमा दर्जनौं गीतहरु रेकर्ड भएका छन् । लामो समयदेखि श्रीकृष्ण गुरुकुलमार्फत सङ्गीत प्रशिक्षण गर्दै आउनुभएका पेलालाई ‘म्यूजिक खबर रजत सम्मान –२०८१’ अर्पण गरिने भएको हो । लुकाउन खोज्दा पनि, के लत बस्यो मलाई, हेर दिन ढल्यो, कथा एउटै, पलपल, निर्जन किनार, तिम्रो याद, कहानी बनेन केही लगायतका गीत तथा गजलहरुमा उहाँको स्वर सुन्न सकिन्छ ।
त्यस्तै यस वर्षको म्युजिक खबर दशक सङ्गीत सम्मान– २०८१ गायक खुमन अधिकारी र गायिका जुनु रिजाल काफ्लेलाई अर्पण गरिने भएको छ । गायक अधिकारी २०६२ सालदेखि औपचारिक रुपमा सङ्गीत क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। देश, विदेश, मेला, महोत्सव, रोधीघर आदि स्टेजहरुमा खुमनको माग बढ्दो छ । उहाँले स्वर भरेका ‘मनको देउतैले’, ‘जोर शंख फुकेर’, ‘बिन्ती मेरो कोटी कोटीमा’, ‘रुमाल चिनो लैजाउ बैनालाई’, ‘एउटै डोरी पासो लगाम भो’, ‘सिलाइ दिउँला भोटो’, ‘स्याङ्जालीलाई नभन जाली’, लगायतका थुप्रै गीतहरु लोकप्रिय छन् । त्यस्तै दरिलो साङ्गीतिक छाप बनाउनुभएकी गायिका जुनु रिजालका फूल मन्जरी, न दोष तिम्रो न दोष मेरो, ड्राइभर दाइ, के नै भन्नु छ र अब, डाँफे झैं नाच्ने, के होला उनको नाउँ, लुकी लुकी, बनचौंरी लगायतका गीतहरु लोकप्रिय छन् । १२ औं म्यूजिक खबर म्यूजिक अवार्ड समारोहमा गायक खुमन अधिकारी र गायिका जुनु रिजाललाई ‘म्यूजिक खबर दशक सङ्गीत सम्मान’ अर्पण गर्ने निर्णय भएको छ ।
भेलाले यो वर्षको म्युजिक खबर युवा सङ्गीत सम्मान गायिका मिना लामालाई अर्पण गर्ने निर्णय गरेको छ । गायिका लामाले सयौं लोक तथा आधुनिक गीतमा स्वर तथा सङ्गीत भरिसक्नुभएको छ । लाइभ दोहोरीकी समेत अब्बल गायिका लामाका झम्के साँझैमा, आँसु पैंचो, प्रवेश निषेध, झरनाको पानी, बाँचुन्जेल लगायतका आधुनिक, लोक र सेलो गीतहरु रहेका छन् ।
त्यसैगरी यस वर्षको म्यूजिक खबर सङ्गीत पत्रकारिता पुरस्कार रङ्गपत्रकार एमपी सुब्बा र दिपाञ्जली शाहलाई अर्पण गर्न लागिएको छ । दुई दशकभन्दा बढी समयदेखि पत्रकारितामा संलग्न रहनुभएका पत्रकार सुब्बाले दृष्टि साप्ताहिकमा जिम्मेवारी सम्हाल्दै आउनुभएको छ भने शाह हाल कान्तिपुर ग्रुपसँग आवद्ध रहनुभएको छ । उहाँहरु दुबैजनालाई नगद राशी ५ हजार ५ सय ५५ रुपैंयाँ सहित सम्मान अर्पण गरिने छ ।
त्यसैगरी यस वर्षको बाल प्रतिभा प्रोत्साहन सम्मान बाल गायिका पूजा देवकोटालाई अर्पण गर्न लागिएको छ । गायिका देवकोटाले सानै उमेरमा गायनमा रुची राखी सङ्गीत क्षेत्रमा चालेको यात्रालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गर्न लागिएको हो । उहाँको स्वरमा रहेका म हुँ नेपाली, माया पलाउने, जिन्दगी मेरो, हर युगौं युगसम्म, आँसु गहमा, मैले मात्रै सम्झेर लगायतका दर्जनौं गीतहरु बजारमा आएका छन् ।
म्यूजिक खबर डायस्पोरा सङ्गीत सम्मान गीतकार डा.रमिल अधिकारीलाई अर्पण गरिने भएको छ । लामो समयदेखि गीत लेखनमा सक्रिय रहनुभएका गीतकार अधिकारी न्यूजिल्याण्डमा कार्यरत हुनुहुन्छ। न्यूजिकल्याण्डका लागि नेपाली पर्यटनदूतको जिम्मेवारी सम्हाल्नुभएका अधिकारीको जिउने चाहना, आऊ एउटा बाचा गरौं, हाम्रो जे भने नि तिमी, विन्दास नाच्ने हो लगायतका गीतहरु रहेका छन् ।
यसैगरि म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ फोटो पत्रकार प्रदिपराज वन्तलाई अर्पण गरिने भएको छ । फोटो पत्रकारिताको क्षेत्रमा उहाँले अतुलनीय योगदान दिंदै आउनु भएको छ । राष्ट्र्रि समाचार एजेन्सीमा समेत आवद्ध रहनुभएका उहाँले खिचेका फोटोहरु नेपालका राष्ट्र्रिय छापा तथा अनलाईन मिडियामा प्रकाशित भएका छन् । निरन्तर फोटो पत्रकारितामा रमाइरहनु भएका उहाँ हाल फोटो पत्रकारहरुको संस्था एनएपीजेका अध्यक्ष समेत रहनु भएको छ । फोटो पत्रकारहरुको नेतृत्वाम रहँदा होस् वा बाहिर व्यवसायिक फोटो पत्रकारका लागि असंख्य अवसरहरु सिर्जना गर्ने कामको कदर गर्दै १२औं म्यूजिक खबर म्यूजिक अवार्ड समारोहमा उहाँलाई म्यूजिक खबर फोटो पत्रकारिता पुरस्कार– २०८१ अर्पण गरिने छ ।
त्यसैगरी सङ्गीत क्षेत्रमा व्यावसायिक रुपमा क्रियाशील विमल शाहलाई म्यूजिक खबर सङ्गीत व्यवसायी सम्मान अर्पण गर्न लागिएको हो । पशुपति हारमोनियम बिक्री तथा मर्मत केन्द्र संचालन गर्दै आउनुभएका विमल शाहले नेपालमै हारमोनियमको उत्पादन तथा मर्मत गर्दै आउनुभएको छ। उहाँले कलाकारहरुको घरघरमा पुगेर हारमोनियम मर्मत गर्नुका साथै आफैं हारमोनियम निर्माण गरेर देश तथा विदेशमा समेत पठाउने गर्नुभएको छ। कला क्षेत्रका लागि अत्यावश्यक बाजाका रुपमा रहेको हारमोनियमको उत्पादन तथा बिक्री बितरण गर्दै आउनुभएकोले विमल शाहलाई सो सम्मान अर्पण गर्न लागिएको हो ।
विगत १२ वर्षदेखि आयोजना हुँदै आएको म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रमका निर्देशक वरिष्ठ पत्रकार एवं गीतकार शान्तिप्रिय हुनुहुन्छ । सुमन पण्डित अध्यक्ष रहेको यस अवार्ड कार्यक्रमकी संयोजक सविता पोखरेल हुनुहुन्छ । भेलामा वरिष्ठ कलाकार, निर्देशक, चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौला, वरिष्ठ गायक/सङ्गीतकार नारायण रायमाझी, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ साहित्यकार राधेश्याम लेकाली, वरिष्ठ गायिका देविका बन्दना, सांस्कृतिक प्रबर्द्धक तथा वरिष्ठ सङ्गीतकर्मी आरसी कोइराला, वरिष्ठ सङ्गीतकर्मी उज्ज्वलजंग ठकुरी, वरिष्ठ गायक चन्द्र शर्मा, वरिष्ठ अधिबक्ता एवं गीतकार राम भट्टराई, सङ्गीतकार सन्तोष श्रेष्ठ, गायिका सीता केसी, मोडल कविता बानियाँ, कार्यक्रम प्रस्तोता एवं पत्रकार निराजन भण्डारी, गायक तथा सङ्गीतकार सरोज कोइराला, गायिका लक्ष्मी पुरी प्रधान, सङ्गीतकर्मी बादल थकाली, युवा व्यवसायी गणेश घिमिरे लगायतको उपस्थिति रहेको थियो ।
