विशिष्ट गीतकार थापालाई ‘सङ्गीत दीर्घ साधना सम्मान’ र पत्रकार गिरीलाई ‘रजत सङ्गीत पत्रकारिता सम्मान’

विशिष्ट गीतकार राजेन्द्र थापा २५ हजार रुपियाँ सहित ‘सङ्गीत दीर्घ साधना सम्मान’बाट सम्मानित भएका छन्। कास्की खबर प्रा.लि.को आयोजनामा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठामा सोमबार सम्पन्न तेस्रो ‘राष्ट्रिय सङ्गीत अवार्ड’ २०८२ मा गीतकार थापा सम्मानित भएका हुन् । ५ दशकभन्दा लामो समयदेखि गीत लेखन क्षेत्रमा उल्लेख्य योगदान पुर्याएवापत गीतकार थापालाई सो सम्मान अर्पण गरिएको कुरा अवार्ड आयोजकले जानकारी गराएका छन्।

समारोहमा नेपाल समाचारपत्रका वरिष्ठ समाचार सम्पादक विदुर गिरी ‘रजत सङ्गीत पत्रकारिता सम्मान’बाट सम्मानित भएका छन्। गिरीलाई ३ दशकभन्दा लामो समयदेखि पत्रकारिता क्षेत्रमा योगदान पुर्याएवापत मुख्यमन्त्री एवं कार्यक्रमकी प्रमुख अतिथि अष्टलक्ष्मी शाक्य, विशिष्ट गीतकार राजेन्द्र थापा, सांस्कृतिक अध्ययन अनुसन्धान प्रतिष्ठानका अध्यक्ष एवं लोक गायक बमबहादुर कार्की, चलचित्र पत्रकार सङ्घ नेपालका पूर्व अध्यक्ष शान्तिप्रिय लगायतले रु. १५ हजार ५ सय ५५ सहित सम्मान गरेका हुन्। त्यसैगरी सो समारोहमा म्युजिक खबर पाक्षिक र म्युजिक खबर डट कमकी सम्पादक सविता पोखरेललाई ११ हजार १ सय ११ रुपियाँ सहित ‘दशक पत्रकारिता सम्मान’बाट सम्मानित गरियो ।

कार्यक्रममा लोक र आधुनिक सङ्गीत तथा भिडिओतर्फ २० विधामा ३५ जनालाई अवार्ड प्रदान गरिएको सो समारोहमा आधुनिक गीततर्फ ‘निर्लज’ बोलको गीतबाट शिव परियारले सर्वोत्कृष्ट गायकको अवार्ड चुमे भने सोही गीतबाट राखी गौचनले शब्द र शंकर थापा स्माइलले सङ्गीतकारको अवार्ड चुमे। त्यस्तै ‘ओइ माया ओइ’बाट अनामिका चौलागाईंले गायिकाको अवार्ड चुम्दा श्रीदेव भट्टराईले पुरुष मोडल र रोशनी कार्कीले ‘चोटैचोटको जिन्दगी’बाट महिला मोडलको अवार्ड चुमिन्।

शिव नृत्यबाट आरम्भ गरिएको कार्यक्रममा ‘केही गर्नु छ देशका लागि’बाट श्रीकान्त राना क्षेत्री राष्ट्रिय भावको गीत, लोक दोहोरीतर्फ ‘न काली न गोरी’बाट बालचन्द्र बरालले गायक, ‘एकलाई शून्य दश’बाट सुनिता बुढा क्षेत्रीले गायिका, ‘पिर परेर आको बेलामा’बाट कृष्ण सुवेदीले शब्द सिर्जना, ‘कठोर मान्छे’बाट प्रेम सापकोटा सोनुले लय सिर्जना, ‘निरिमायाको’बाट विमल अधिकारी र ‘चरी बासैमा’बाट स्मारिका ढकालले मोडलको अवार्ड पाए।

त्यसैगरी रानी ‘बनमा फूल’बाट राजन सुवेदीले नव गायक, ‘माया साह्रो छ’ बाट वर्षा पौडेलले नव गायिका, ‘ए सैया’बाट कृष्ण लामिछानेले सङ्गीत संयोजन र ‘घुमौँ रामेछाप’बाट राजाराम सिंखडाले कोरियोग्राफरको अवार्ड पाए भने गायक सुशील ज्ञवाली, शंकर क्षेत्री, उत्तम भण्डारी, दीपक ओली, दीपक कँडेल, याम प्रसाद निउरे, तुलसा क्षेत्री, सञ्जय देबकोटा, पेम्वा लामा शेर्पा, उमेश ठगुन्ना, जगत घर्ती मगर, सिर्जन पुन, सन्दीप सेन्चुरी लगायतले विभिन्न विधाबाट जुरी, पब्लिक च्वाइस र इन्करेजमेन्ट अवार्ड प्राप्त गरेका छन्।

कार्यक्रममा पर्फर्मर दुर्गेश थापालाई वर्षभरि सबैभन्दा धेरै मेला महोत्सव र युटुबमा हेरिएको र सुनिएकोले ‘गोल्डेन माइक अफ द इएर सङ्गीत सम्मान’, अम्बिका गुरुङलाई ‘गोल्डेन पेन अफ द इयर सङ्गीत सम्मान’, खेम सेन्चुरीलाई ‘म्युजिक अफ द इयर’, शितल कादम्बिनीलाई ‘साहित्य सङ्गीत सम्मान’, कादम्बरी दाना श्रेष्ठलाई ‘गीतकार तथा सामाजिक व्यक्तित्व सम्मान’, निता आचार्यलाई ‘डायस्पोरा सङ्गीत सम्मान’, च्याङ्वा लामालाई ‘फोटोग्राफर सम्मान’, लक्ष्मी नेपाली र सन्जु न्यौपानेलाई ‘युवा सङ्गीत प्रतिभा’, गायकहरू सविन चौहान, दुर्गा बिरही, रिजन पुलामी मगर, रामचन्द्र ढकाललगायतलाई विशेष सम्मानबाट सम्मानित गरिएको थियो।

समारोहमा प्रमुख अतिथि शाक्यले यस्ता कार्यक्रमले कला र पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्व तथा प्रतिभालाई प्रोत्साहन मिल्नुका साथै गीत सङ्गीतको विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिन्। कास्की खवर प्रा.लि.का अध्यक्ष ऋषि दाहालको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अवार्डकी संयोजक किस्ना आचार्य रोशनीले अवार्डको भिडमा फरक पहिचान बनाउँदै जाने बताइन्।