गीतकार कल्पना आङ्बुहाङका चार गीति भिडिओ एकैसाथ सार्वजनिक

गीतकार कल्पना आङ्बुहाङको रचनामा रहेका चार गीति भिडिओ ‘पेलि फाक् सेवारो,’ ‘परदेशी जीवन,’ ‘पत्थर कोइला,’ र ‘हुलाकी दाइ’ एकैसाथ सार्वजनिक भएका छन् । शनिवार जमलस्थित राष्ट्रिय नाचघरमा गीतकार सङ्घ नेपालको आयोजनामा सम्पन्न कार्यक्रममा वरिष्ठ गायिका मीरा राणा, सङ्गीतकार बुलु मुकारुङ, नारायण गोपाल सङ्गीत कोष एवं तारादेवी स्मृति फाउन्डेसनका अध्यक्ष दीपक केसी, गीतकार सङ्घका अध्यक्ष बसन्त वित्यासी थापा, निवर्तमान अध्यक्ष शुभ मुकारुङ, लोकप्रिय गायिका कविता आले, अभिनेता धिरेन शाक्य, गीतकार कल्पना आङ्बुहाङ लगायतको उपस्थितिमा गीतका भिडिओहरु सार्वजनिक गरिएको हो । सार्वजनिक गीत अनि भिडिओको समीक्षा सङ्गीतकार मुकारुङले गरेका थिए भने सङ्घका उपाध्यक्ष रमेश कोईरालाले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा सभाध्यक्ष एवं सङ्घका अध्यक्ष वसन्त बित्याशी थापाले हरेक गीतकारहरुले आफ्नो मनसँगै आफ्नोपन, परिवार, समाज, समुदाय, भेग, परम्परा, संस्कृति एवं जागरण, चेतना, सन्देश र ज्ञान दिलाउने गीतहरु लेख्नुपर्ने धारणा राखे । उनले भने, ‘रहर र मनोरञ्जनको रूपमा मात्रै गीतलाई लिनु हुँदैन l यो बौद्धिक सम्पत्ति हो । गीतले आर्थिक आय आर्जन पनि गर्दछ र समाजलाई समृद्धिको बाटोतर्फ लैजानुको साथै समग्र देशको विकासमा पनि टेवा पुर्‍याउँछ ।’ कार्यक्रममा गीत/सङ्गीत, साहित्य, कला र पत्रकारिता क्षेत्रका प्रतिष्ठित व्यक्तित्वको उल्लेख्य उपस्थित रहेको थियो ।