सङ्गीतका दोभान सन्तोष दुमी राई

-तुलसी गिरी ‘भावुक’

लगभग साढे २ दशक अघिदेखि सङ्गीतकर्मलाई जीवनको एकमात्र लक्ष्य बनाएर निरन्तर अघि बढिरहेका अथक कर्मशील सर्जक/कलाकारको नाम हो सन्तोष दुमी राई l गायन र सङ्गीतमा समानान्तर क्षमता भएका सन्तोषलाई नजिकका साथीभाइले पनि उनको मुख्य विधा गायन हो या सङ्गीत भन्न सक्दैनन् l अर्थात् उनी जति मिठो गाउँछन् उनका सङ्गीत पनि त्यति नै सुन्दर छन् l उनको प्रतिभामा पनि दुई खोलीको दोभान झैं क्षमताको मिश्रण भएको देखिन्छ l

केपिलासगढी-५, सप्तेश्वर, खोटाङ निवासी पिता तेज बहादुर राई र माता लक्ष्मी राईका ५ भाइ छोरा र ३ बहिनी छोरी मध्ये माहिलो छोराको रुपमा जन्मिएका सन्तोषले ५ कक्षा सम्मको शिक्षा स्थानीय श्री सप्तेश्वर प्रा.वि., छेराडाँडाबाट पूरा गरेका थिए भने त्यसपछि एसएलसीसम्म श्री पृथ्वी माध्यमिक विद्यालय, बाक्सिलामा पढेका थिए l सानैदेखि सङ्गीतप्रति गहिरो झुकाव र अभिरुची भएपनि लजालु स्वभावका कारण स्कूले जीवनमा उनी खुलेर सार्वजनिक हुन सकेनन् l ‘त्यो बेला स्कूलमा पनि साङ्गीतिक कार्यक्रमहरु हुन्थ्यो l मलाई हेर्न चाहिँ असाध्यै मन पर्ने, अगाडि गएर गाउँ गाउँ, नाचौं नाचौं पनि लाग्ने तर अगाडि जानुपर्यो भने सातोपुत्लो जान्थ्यो l तर पढाईमा भने म अब्बल थिएँ’ सन्तोषले बाल उमेरको यथार्थ नलुकाई भने l माध्यमिक तहमा पुगेपछि भने साथीभाइ माझ कहिले गितार त कहिले सारङ्गी बजाउँदै मजाले गीत गाउन थालेका सन्तोष खेलकूदमा पनि सक्रीय थिए l

पहिलादेखि नै आउने-जाने भईरहेको भए पनि स्थायी रुपमा भने उनी एसएलसी पछि नै काठमाण्डौ बस्न थालेका हुन् l वकिल बनाउने बुबाको सपना भए पनि विभिन्न कारणले कानून विषय पढ्न नमिलेपछि उनी पशुपति क्याम्पस भर्ना भए र आई.कम. पढ्न थाले l त्यो बेलासम्म पनि उनले भविष्यमा सङ्गीतकर्मलाई नै पेशा बनाउँछुहोला भन्ने कल्पना पनि गरेका थिएनन् l न त गीत रेकर्ड गर्ने सपना नै थियो l ‘मेरो एकजना साथी थियो-भीमसेना राई l ऊ रत्नराज्यलक्ष्मी क्याम्पसमा सङ्गीत लिएर पढिरहेको थियो l घरमा हार्मोनियम पनि ल्याएको थियो उसले l ऊ बजाउन सिक्दै थियो, म पनि बजाउन थालें l तर उसले भन्दा त मैले पो मजाले बजाउन थालें l बिस्तारै लत बस्दै गयो र यता पो रैछ मेरो दुनियाँ त जस्तो लाग्न थाल्यो l त्यसपछि हार्मोनी बजाउँदै नारायणगोपालका गीत गाउँन थालें l आफैंलाई जस्ताको तस्तै गाएको जस्तो लाग्न थाल्यो l साथीभाइले पनि प्रशंसा गरे l ‘तैंले त म्युजिकतिर पो लाग्नुपर्ने रैछ !’ भन्न थाले’ किस्मतले अकस्मात आफ्नो जीवनको लक्ष्य नै परिवर्तन गरेको घटनाबारे सन्तोषले यसरी बेलिबिस्तार लाए l भीमसेना राईको हार्मोनियमले नयाँ बाटो देखाईदिएपछि पशुपति क्याम्पस पढ्दा पढ्दै सङ्गीत पढ्न उनी पनि रत्नराज्यलक्ष्मी क्याम्पस भर्ना भएका थिए l

प्रकाश गुरुङ, धन बहादुर गोपाली र गुरुदेव कामत जस्ता प्रख्यात गुरुसँग लामो समय शाश्त्रीय सङ्गीत सिकेका सन्तोषले सांस्कृतिक संस्थानद्वारा सञ्चालित ६ महिने गायन प्रशिक्षण पूरा गरेका छन् l सङ्गीत सिक्दैगर्दा नै स्वयम्भूस्थित सनसाइन स्कूलबाट सङ्गीत प्रशिक्षकको काम सुरु गरेका उनले आजसम्म विभिन्न विद्यालयका हजारौं विद्यार्थीहरुलाई सङ्गीत सिकाईसकेका छन् भने हाल उनी हाम्रो सनसाइन आरुबारी, साइप्रस सुकेधारा र काठमाण्डौ विद्यालय कपनमा सङ्गीत पढाईरहेका छन् l

सरिता डङ्गोलको शब्द र सुरेश अधिकारीको सङ्गीतमा पहिलोपटक २०५८ सालमा ‘हर माटोको कण कणमा शहीदको चिनो छ रगत, शहीदको सन्तान शहीदै बन्छन् देशले मागेको बखत’ गीत रेकर्ड गरेर उनले औपचारिक रुपमा सङ्गीत यात्रा सुरु गरेका थिए l स्वर र सङ्गीत गरेर हालसम्म २५० भन्दा बढी गीत रेकर्ड गरिसकेका सन्तोषका ‘घामले आँखा खोलिसक्यो’, ‘रातभरि जून रुँदा’, ‘मुस्कुराई बस तिमी’, ‘निलो आकाश ढाकेर’, ‘सुलाम सिंसो’ ( दुमी गीत ), ‘पर्खि बस्नु है मलाई’, ‘बादलुको पर्दाभित्र’, ‘ईंकी तुम्लो रिदुम् हदुम्’ ( दुमी गीत ), मैले के भूल गरें र’, ‘नुगोबिताम नु आते आस्ता’ ( दुमी गीत ), ‘के नै रैछ र जिन्दगी’, ‘साल्पै राजा’, एयर बस फोर्टी आदि गीत सर्वाधिक लोकप्रिय रहेका छन् l एल्बमको रुपमा भने हालसम्म उनको ‘छाल’ (संयुक्त सङ्गीत), ‘ज्यानमाया’ (लोकजुहारी), ‘बस्तीहरु’ (आधुनिक), ‘पत्थरहरु’ (आधुनिक), ‘कोपिला’ (बालगीत) र ‘पुञ्ज’ भाग-१ र २ (बालगीत) प्रकाशित छन् l उनी यदाकदा गीत लेख्ने पनि गर्छन् । ‘तिम्रो सम्झनामा आज मुटु दुखेको छ’ (शब्द/सङ्गीत: सन्तोष दुमी, स्वर: जगदिश समाल), ‘जीवन घट्यो दिन दिन’ (शब्द/सङ्गीत: सन्तोष दुमी, स्वर: शम्भु राई र सुक्मित गुरुङ) र विभिन्न स्कुलका गानहरु रहेका छन् । उनले ‘सोल अफ द कमाण्डो’ र ‘श्रद्धाञ्जली’ नामका दुई चलचित्रमा सङ्गीत दिएका छन् l जसमध्ये ‘श्रद्धाञ्जली’ प्रदर्शनमा आएको छैन l

नेपालकै एकमात्र सरकारी रेडियो, रेडियो नेपालबाट लोकगीत गायनमा वि. सं. २०६२ र आधुनिक गीत गायनमा वि. सं. २०६५ सालमा स्वर परीक्षा पास गरेका सन्तोष गृह मन्त्रालय र रेडियो नेपालद्वारा २०६८ सालमा संयुक्त रुपमा आयोजित जनचेतनामूलक लोकगीत प्रतियोगितामा प्रथम भएका थिए l उनले गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति रामवरण यादवबाट प्रथम विजेताको सम्मान सहित प्रमाणपत्र ग्रहण गरेका थिए l उनले विभिन्न सङ्घ, संस्था एवं प्रतिष्ठानहरुबाट समय समयमा सम्मान एवं कदरपत्रहरु समेत प्राप्त गरेका छन् l जस अनुसार ST PAUL SCHOOL २०७३, दुकिराफ दुमकिम हङकङ सन् २०१२, मानव मञ्च २०६५, किरात राई सांस्कृतिक कलाकार सङ्घ २०६५ र २०७१, नेपाल कला सांस्कृतिक विकाश केन्द्र २०७८ र २०७०, भावि लक्ष्मी सङ्गीत प्रतिष्ठान २०६७, हाम्रो सनसाइन स्कुल २०७४, खोटाङ सेवा समाज हङकङ सन् २०१२, सृजनशील बाल समूह २०६७, आस्था कला केन्द्र २०६७, दुमी किरात राई फन्सिकिम २०६०, किरात राई प्रज्ञा परिषद् २०६७, किरात राई यायोख्खा २०७९, त्रैबिध्या सन् २०१८, जालपा पुस्तकालय टोखा २०७३, रिलायन्स इन्टरनेशनल एकेडेमी सन् २०१८, काठमाण्डौ मोडल स्कूल २०७४, २०७५ र २०७७ , गोर्खा बेस क्याम्प २०७०, रावासावा प्राज्ञिक समाज २०७२, B MANV ART STUDIO २०७१, महिलाको निम्ति महिला मञ्च, टेलिभिजन कलाकर्मी मञ्च २०६७, खोटाङ कुवेत सम्पर्क मञ्च सन् २०१४, त्रिज्योति सम्मान २०७८, SUNSHINE SCHOOL SWITZERLAND JULY 2023 AWARD, पायोनियर शिक्षा सम्मान २०७९, MANASLU WORLD COLLEGE २०७८, विशिष्ट गायक सम्मान २०८० काठमाण्डौ विद्यालय कपन, साइप्रस स्कुल २०८० बेष्ट सिंगर ‘सुलाम सिङ्सो’ दुमी राईभाषा गीत आदि रहेका छन् l राजधानीमा भर्खरै सम्पन्न ‘नेशनल ओप्सना म्युजिक अवार्ड २०८१’ मा समेत उनले अवार्ड जितेका छन् l

सन् २०१२ मा पहिलोपटक हङ्कङमा एकल गायन कार्यक्रम गरेका सन्तोषले बि.सं. २०७९, माघ १४ गते काठमाण्डौमा दोस्रो एकल गायन साँझ सम्पन्न गरेका थिए l साङ्गीतिक प्रस्तुतिकै लागि अन्तर्राष्ट्रिय मुलुक हङ्कङ (सन् २०१२) र कुवेत (सन् २०१४) को भ्रमण गरिसकेका सन्तोषले नेपालका भने अधिकांश स्थानमा आफ्नो प्रस्तुति दिईसकेका छन् l हाल श्रीमती देविका राई, छोरा पृथ्वी माङ दुमी राई र छोरी तोमा दुमी राईका साथमा टोखा-८, बानियाँटार, काठमाण्डौलाई स्थायी बसोबास बनाएका सन्तोष नेपाली गीत-सङ्गीत क्षेत्रमा शालीन र इमान्दार व्यक्तिको रुपमा समेत परिचित छन् l