गीत लेखनका दुई दशक : शिव सुवेदी

ऊ बेला समय कहाँ अहिलेको जस्तो सजिलो थियो र, गीत-सङ्गीत सुन्ने एउटा मात्र विकल्प रेडियो नेपाल थियो l कुना कन्दरामा मानिसहरु आफ्नै गाउँ ठाउँका गीतहरु गुन्गुनाउथे, गाउँथे वा उकाली ओराली गर्दा गीतसँग नै दु:ख साट्थे ।

२०४५ सालमा भदौरे झरीको महिनामा पर्वतको शालिजामा एउटा सामान्य परिवारमा जन्मेका हुन् गीतकार शिव सुवेदी । बाबा आमा कृषि पेशा गर्नुहुन्थ्यो l परिवारमा जेठो छोरोको रुपमा जन्म लिएका शिवले बाल्यकाल गाउँमा नै बिताए । हुने विरुवाको चिल्लो पात भने जस्तै उनी कक्षा १ देखि १० सम्म सधैं प्रथम नै भए l कहिले दोश्रो हुन परेन । संयोग भनौं कि भाग्य, एसएलसीमा आफ्नो विधालयबाट परिक्षा दिएका ५५ जना मध्ये उनी एकजना मात्र प्रथम श्रेणीमा उत्तीर्ण भए । शिवको परिवारमा एसएलसी भन्दा धेरै पढ्ने त्यो बेलासम्म अरु सदस्य थिएनन् l बाबा आमाले त स्कुल जाने अवसर नै पाउनुभएको थिएन l तर त्यो बेलाको समाजले एसएलसी प्रथम श्रेणीमा उत्तीर्ण भएपछि बिज्ञान नै पढ्नु पर्छ भन्ने भाष्य निर्माण गरेको थियो र सोही भाष्यलाई स्वीकार्दै शिव पोखरा आए ।

उनी सानै उमेरबाट नै गीत- सङ्गीत भनेपछि हुरुक्क हुन्थे l विद्यालयमा अतिरिक्त कार्यक्रम हुँदा पुरस्कार नलिएको त बिरलै हुन्थ्यो । त्यही प्रतिभा पोखरा आएपछि फक्रन थाल्यो । पोखरामा बिज्ञान पढ्दै गर्दा उनले गीत लेख्न सुरु गरे र रेकर्ड पनि गर्न थाले । २०६४ सालमा शिवले शब्द लेखेको र सङ्गीत गरेको गीत ‘घामजस्तो चम्किलो जून हुँदैन’ सुपर हिट भयो । अडियो बिक्री हुने बेला थियो, हजारौं प्रति क्यासेट बिक्री पनि भयो र उनले नामसँगै दाम पनि कमाए । जब ‘घामजस्तो चम्किलो’ गीतले शिव चिनिन थाले, उनले गीत लेखनलाई अझै नियमित गर्न लागे l त्यसपछि उनले रचना गरेका गीतहरुले उत्तिकै सफलता कमाए l कहिले पनि उनलाई पछाडि फर्केर हेर्नु परेन । उनले आफ्ना उत्कृष्ट गीतबाट आजसम्म ६ वटा राष्ट्रिय अवार्ड जितिसकेका छन् l दर्जनौं संस्थामा बसेर काम गरिसकेका छन् भने उनको योगदानको कदर गर्दै धेरै संस्थाले उनलाई सम्मान पनि गरेका छन् ।

शिवले विगत करिव बीस बर्षको अन्तरालमा ५० भन्दा धेरै गीतहरु लेखे । उनले रचना गरेका घामजस्तो चम्किलो जुन हुँदैन, भुमरीमा परें भने म, आमा तिम्रो दुधको भारा, भुल्नै भयो धौ, कल्पनामै भए नि देख्छु भनेको, घामले नि पोल्दियो, सरुमै रानी, किन यस्तो हुन्छ, मेरो आधा जिन्दगी, जूनकै अभाव खड्कियो, खै हाम्रो दिलमा त घामै लागेन, यस्तै छ कहानी परदेशीको, बाँचेको छु धन्न, अभागी त म हुँ, आफ्नोपन, कसको अनुमति, दु:ख टर्या छैन लगायतका गीतहरु सफल गीतको रुपमा नेपालीहरुको मन मनमा बसेका छन् । सङ्गीत र बिज्ञान ठ्याक्कै विपरित ध्रुवका बिषय हुन् l विज्ञानले सत्य तथा तथ्यमा टेकेर काम गर्न भन्छ तर शिव विज्ञानको बिधार्थी हुँदै गर्दा पनि भावनामा बहकिएर, कल्पनामा बगेर गीत लेख्न सिपालु मानिन्छन् ।

नेपाली लोक दोहोरीमा निरन्तर काम गर्दा गर्दै पनि औपचारिक शिक्षाको उच्चतम उपाधि विद्यावारिधि लिन उनी सफल भए । उनले सन् २०२० मा स्विजरल्याण्डको लुजान विश्वविद्यालयबाट भूकम्पबिज्ञानमा विद्यावारिधिको उपाधि प्राप्त गरेका हुन् । शिवले फ्रान्स र स्विजरल्याण्ड बस्दै गर्दा पनि आफ्नो कलम चलाइरहे र गीत प्रकाशन गरिरहे । नेपाली गीत-सङ्गीतमा वा लोकदोहोरीमा लागेपछि मान्छेले पढाई बिगार्छ वा गीत-सङ्गीतमा लाग्नेहरु पढ्न नसक्नेहरु हुन् भन्ने जुन नेपाली समाजको परिभाषा थियो र केही हदसम्म आज पनि छ, त्यो परिभाषा बदल्नको लागि एउटा उदाहरण बनेका छन् चर्चित, लोकप्रिय र सफल गीतकार शिव सुवेदी ।