अनेसासको अध्यक्षमा सर्वज्ञको उम्मेद्वारी घोषणा

अनेसास निर्वाचन (२०२४-२०२६) का लागि अध्यक्ष पदमा सर्वज्ञ वाग्लेले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । अनेसास केन्द्रको महासचिवमा दुई वर्ष र वरिष्ठ उपाध्यक्ष पदमा दुई वर्ष काम गरी सफलतापूर्वक कार्य गरेको अनुभवका आधारमा उम्मेद्वारी घोषणा गरेका वाग्लेले अध्यक्ष पद बाहेक अन्य पदमा विकल्प समेत नरहेको बताएका छन् । प्रष्ट वाकशैली, दूरदर्शी सोच, सामाजिक भावना, गहिरो साहित्यिक चेतना, नेत्रृत्वदायी र समन्वयकारी क्षमता जस्ता गुण भएका वाग्ले धेरै खालका सामाजिक गतिविधिहरुबाट खारिएका व्यक्ति हुन् ।

एनआरएनए आईसिसि अमेरिकाको उपाध्यक्षको समेत अनुभव सङ्गालेका वाग्लेले त्यहाँ रहँदा आफ्नै पहल र समन्वयमा नेपाली भाषा र साहित्यप्रति धेरै कामहरु अगाडि बढाएको कुरा उनका निकटतम व्यक्तिहरु बताउँछन् । आख्यान र गैरआख्यान दुवै क्षेत्रमा कलम चलाउने वाग्ले २०६८ सालमा ‘जुवाघर’ (व्यङ्ग्य निबन्धसङ्ग्रह) बाट नेपाली साहित्यमा कृक्तिकारका रूपमा उदाएका थिए । ‘क्यासिनो’ (कथासङ्ग्रह, २०६९), ‘युधिष्ठिर’ (कथासङ्ग्रह, २०७२), ‘साँढे’ (व्यङ्ग्य निबन्धसङ्ग्रह, २०७४) पछि ‘पुनर्वास’ (उपन्यास, २०७६) जस्ता सबल कृतिहरु नेपाली साहित्यलाई सुम्पिएका वाग्लेको `बिम्ब´ कवितासङ्ग्रह प्रकाशनको तयारीमा छ ।

सर्जक सर्वज्ञ सिर्जना मात्र गर्दैनन्, सिर्जनालाई प्रोत्साहन गर्न पनि लागि परेका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का साहित्यिक मञ्चहरू मार्फत नेपाली वाड्मयमा निरन्तर क्रियाशील छन् उनी । मनमा मातृभूमि राखेर परदेशमा कर्म गर्दै साहित्य र समाजको सेवा गर्नु सर्वज्ञको दैनिकी हो । साहित्य र सेवालाई सिमानाले छेक्दैन भन्ने दृष्टान्तमा सर्वज्ञको कर्म छ ।

विभिन्न व्यक्ति, संस्था, च्याप्टर तथा आजीवन सदस्यहरूका साथै जन समुदायबीच आपसी सद्भाव, प्रेम, सहयोग, मित्रता र सहकार्यको वातावरण सिर्जना गर्ने, हरेक च्याप्टरहरूको थप विकास, विस्तार, सम्पर्क र सम्बन्धको विकास गर्दै च्याप्टरहरूको व्यवस्थापनमा विशेष पहल गर्ने, संस्थाका आजीवन सदस्य वा सरोकार पक्षबाट प्राप्त विभिन्न सुझावलाई ध्यानमा राखी समयसापेक्ष ढङ्गले अनेसासको विधान संशोधन गर्नु परेमा पहल गर्ने, नेपाली साहित्यिक पुस्तकहरुको पहिचान गरि विश्वबजारमा लैजान पहल गर्ने, अनुवाद साहित्यमा जोड दिई नेपाली साहित्यका विभिन्न विधाका उत्कृष्ट कृतिहरूको अनुवाद गरेर प्रकाशन गर्दै विश्वभरिका डायास्पोरिक कृति सङ्ग्रह प्रकाशन गर्दै विश्वबजारमा पुर्याउन पहल गर्ने, अनेसासका बोर्ड अफ ट्रस्टी र आजीवन सबै सदस्यहरूलाई परिचयपत्र तथा प्रमाणपत्र प्रदान गर्ने, अमेरिकाको वासिङ्टन डिसीमा केन्द्रीय कार्यालय भवन निर्माणमा विशेष पहल गर्ने, अनेसासलाई थप पारदर्शी, मर्यादित र व्यवस्थित गर्दै आन्मा, नेपाल प्रज्ञा प्रतिष्ठान, विभिन्न एकेडेमी, शिक्षा मन्त्रालय लगायत अन्य सङ्घसंस्था तथा सरकारी निकायसँग साझेदारी र सहकार्य गरी साहित्यिक गतिविधिलाई अगाडि बढाउने, बोर्ड अफ ट्रस्टीका सदस्यहरू, पूर्वअध्यक्षहरू, सल्लाहकारहरू, आजीवन सदस्यहरू तथा सम्पूर्ण साहित्यानुरागीहरूबाट प्राप्त सुझावलाई ग्रहण गर्दै संस्थाको विकासका लागि विभिन्न गतिविधिहरूलाई अझ व्यापक र विस्तार गर्ने, नेपालमा एउटा सम्पर्क कार्यालय, गोष्ठी-भवन तथा सबैको झोला बिसाउने ठाउँ बनाउन विशेष पहल गर्ने लगायतका प्रतिवद्धता सहित अगाडि बढेका वाग्लेमा प्रशस्त नेत्रृत्वदायी गुणहरु छन् ।