आदिवासी जनजाति चलचित्र महोत्सव सम्पन्न, सुगुपलाई ४ विधामा अवार्ड

काठमाण्डौस्थित राष्ट्रिय सभागृहमा सम्पन्न चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०८१ मा चोक्फुङ इन्टरनेटमेन्ट प्रा. लि. को ब्यानरमा निर्मित लिम्बू संस्कार-संस्कृतिमा आधारित चलचित्र ‘सुगुप’ ले नगद रू. ३५ हजार सहित पब्लिक च्वाइस, सर्वोत्कृष्ट छायाङ्कन, सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट पार्श्व सङ्गीत गरि चारओटा विधामा अवार्ड जितेको छ । जस अनुसार चलचित्र लगायत छायाकार युवराज राई, सम्पादक विपिन मल्ल र पार्श्व सङ्गीत सर्जक अशोक लोहरुङ राईले अवार्ड प्राप्त गरेका हुन् ।

चलचित्रमा प्रेम सुब्बा, यासेली योङहाङ, मौसम ईम्बुङ लिम्बू, बबिता नेयोङहाङ, सुम्नीमा खापुङ, डम्बरकुमारी, पयाङगो मेन्याङबो, योमन सोदेम्बा, सागर केरुङ, रुकमान लिम्बू, निता लिम्बू, पन्ना आङबो, एम.के. योङहाङ, तीर्थ मादेम्बा, उदय बेघा, लिला सेत्लिङ माबो, ईन्द्रा पंधाक, युवराज ईश्बो, थानाहाङ तिगेला लगायतका कालाकारहरुको अभिनय छ ।
प्रस्तुतकर्ता तथा मुख्य निर्माता रविन कुमार नाल्बो लिम्बू, निर्माता शैलेन्द्र कुमार नाल्बो, दिलमाया लाबुङ नाल्बो, सह–निर्माता एल.पी. साँवा लिम्बू, मनिषा सुब्बा नाल्बो, श्रीप्रसाद माबो रहेको यस चलचित्रमा गीतकार यासेली योङ्हाङ, जानु काम्बाङ, सागर केरुङ, रीता फोम्बो (ठूली) एवं गायक/गायिका राजेशपायल राई, अञ्जु पन्त, सुनिता थेगिम, रुकमान लिम्बू, मनु नेम्बाङ, सुमन लिम्बू रहेका छन् भने पार्श्व सङ्गीत अशोक लोहरुङ राईको, छायाङ्कन युवराज राई (वीरबहादुर) को, सम्पादन विपिन मल्लको, नृत्य निर्देशन कमल राईको र द्वन्द्व निर्देशन किशोर सम्बाहाङ्फे/विष्णु मोक्तानको रहेको छ ।

भारतको आसाम, नेपालको ताप्लेजुङ, पाँचथर, तेह्रथुम, काठमाडौं र मकवानपुरको चित्लाङ लगायतका स्थलहरुमा छायाङ्कन गरिएको यो चलचित्रको कथा लेखन तथा निर्देशन लोकेन साँबा लिम्बूले गरेका हुन् । निर्देशक लोकेन भन्छन् -‘पश्चिमी संस्कारको अतिक्रमण बढिरहेको बेला लिम्बू समुदायका भाषा, संस्कार, संस्कृति एवं धार्मिक परम्पराहरुलाई प्रबर्धन गर्ने र भावी पुस्तामा हस्तान्तरण गर्ने समेत चलचित्र निर्माण गर्नुको एक मुख्य उद्देश्य हो l’ -‘सापोक चोमेन (गर्भ पूजा) गर्ने हाम्रो आफ्नै मौलिक र परापूर्वकालदेखिको परम्परा छ l तर यो पनि लुप्त हुँदै जाने अवस्थामा पुगेको देखिन्छ l चलचित्रमा हामीले यही कुरालाई उजागर पारेका छौं l’ उनले अझ स्पष्ट पार्दै भने l

लिम्बू भाषाको यस चलचित्रमा कतिपय संवादहरु नेपाली भाषामा पनि सुन्न सकिन्छ l नेपाली र अङ्ग्रेजी गरी २ भाषामा शवटाइटल राखिएकोले लिम्बू भाषा नबुझ्ने नेपाली लगायत विश्व बजारका दर्शकलाई समेत फिल्म बुझ्न सहज हुने देखिएको छ l