अर्जुन भट्टराईको रचनामा सन्देशमूलक भावको तीजगीत ‘आहा क्या मज्जा छ’

-तुलसी गिरी ‘भावुक’

लोकप्रिय गीतकार अर्जुन भट्टराईले सकारात्मक भावको सन्देशमूलक तीजगीत ‘आहा क्या मज्जा छ’ को लिरिकल भिडिओ सार्वजनिक गरेका छन् l लक्ष्मण शेषको सङ्गीत र मेलिना राईको स्वरमा रहेको यो गीतको भिडिओ mountain music nepal नामक युट्युब च्यानलबाट आजै रिलिज गरिएको हो l अधिकांश तीजगीत संस्कृति र परम्परासँग फिटिक्कै सम्बन्ध नभएका, दोहोरो अर्थ लाग्ने र अश्लिल शव्द/भाव भएका भन्दै संस्थागत र व्यक्तिगत रुपमा चौतर्फी बिरोध भईरहेको बेला उदाहरणीय बनेर आएको छ यो गीत l

माईतीकी आमा र घरकी सासू, आमाजू, नन्द र दिदी बहिनीमा के फरक हुन्छ र ? गीतमा भनिएको छ l गीतले सासू ससुरालाई बा आमा, नन्द भाउजूलाई दिदी बहिनी, देवर जेठाजुलाई दाजुभाइ र देउरानीलाई मितिनी जस्तो प्रिय मान्छेको रुपमा चित्रण छ l छोरी, दिदीबहिनी र मितिनीलाई जस्तै माया गर्ने परिवार भएको कर्मघर हुँदा हुँदै पनि तीजको बेला माईतीको चुलोमा पाकेको खानु, बालापनका सङ्गीहरुलाई भेट्नु र माइती गाउँमा गाउँदै छमछम नाच्नुको मज्जा बेग्लै हुने कुरा गीतले बोलेको छ l पर्वको मर्म र नारी भावनालाई गीतकार भट्टराईले गरिराईबाट नियालेका छन् l

तीजगीतको नाममा झैझगडा, असन्तुष्टि, गालीगलौज र आरोप प्रत्यारोप जस्ता नकारात्मकताले भरिएका गीत प्रकाशन गर्ने विकृत र कुरूप चिन्तनले ग्रस्त कथित सर्जकहरुको लाखौँ खर्च गरिएका भिडिओ भन्दा यो लिरिकल भिडिओ सयौं गुणा बढी वजनदार छ l कुनै क्षेत्रमा कसैले धेरैवर्ष बिताउँदैमा या धेरै काम गर्दैमा त्यो योगदान हुँदैन l उसले कति गर्यो भन्दा पनि कस्तो काम गर्यो भन्ने कुरा महत्वपूर्ण हुन्छ l गीतकार अर्जुन भट्टराईको यस रचनात्मक कर्मलाई नि:सन्देह नेपाली सङ्गीत क्षेत्रप्रतिको वास्तविक योगदानको रुपमा मूल्याङ्कन गर्न सकिन्छ l