-तुलसी गिरी ‘भावुक’
सुदूरपश्चिमको विकट जिल्ला बैतडीको पाखा, कन्दरामा खेले हुर्केकी प्रतिभा भावना चन्दलाई पनि त्यो बेला थाहा थिएन होला एकदिन सुदूरकै प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको कलाकारका रुपमा पहिचान बनाउँछु भनेर l जहाँ भौगोलिक विकटता त्यहाँ तुलनात्मक रुपमा कठिनता र सङ्घर्षहरु अलि बढी नै हुने गर्दछन् l दुर्गमबाट राजधानी प्रवेश गरी सङ्घर्षका अनेक जङ्घार तर्दै र घामपानी सहँदै सफलताको शिखरमा पुग्न चानचुने मेहेनत, साहस, धैर्यता र लगाशीलताले पुग्दैन l स्पष्टवक्ता, निडर र साहसी स्वभाव अनि स्थिर आत्मविश्वाश भएकै कारणले भावनाले साङ्गीतिक यात्राको लामो दूरी पार गरेकी हुन् l
बैतडी जिल्ला, पञ्चेश्वर गाउँपालिका-५, जेबलकट्टे कफलडाँडा निवासी पिता मान बहादुर चन्द र आमा कलाशा देवी चन्दका ७ सन्तान मध्ये चौथो सन्तानका रुपमा जन्मिएकी भावनाको प्रारम्भिक शिक्षा भने जन्मथलो भन्दा केही पर कञ्चनपुरको हल्दुखालमा भएको थियो l श्री महाकाली जनसेवा मा. बि. बाट एसएलसी पास गरेपछि महाकाली जनसेवा उच्च मा. बि. कञ्चनपुरबाट उनले व्यवस्थापनमा प्लस टु गरेकी थिईन् l सिद्धनाथ बहुमुखी क्याम्पस कञ्चनपुरबाट बीबीएस उत्तीर्ण गरेपछि नेपाल कमर्स क्याम्पस मिनभवनबाट एमबीएस सम्मको अध्ययन पूरा गरेकी भावना आफ्नो भेगमै उच्च शिक्षा हासिल गर्ने थोरै महिलाहरु मध्येमा पर्छिन् l शैक्षिक योग्यताको हिसाबले उनी समग्र नेपाली महिला कलाकारहरुमै पनि थोरै मध्येमा पर्छिन् l
सानैदेखि कला र साहित्यप्रति गहिरो अभिरुची भएकी भावना विगत सम्झंदै भन्छिन् – ‘५ कक्षामा पढ्दा स्कूलमा आयोजित कविता प्रतियोगितामा प्रथम र ९ कक्षामा लोकगीत गायन प्रतियोगितामा द्वित्तीय भएकी थिएँ l जसबाट मलाई शब्द लेख्न र गीत गाउँन अझ बढी उत्पेरणा मिल्यो l’ २०६८ सालमा नागरिक फमद्वारा आयोजित देउडा प्रतियोगितामा २४ जना प्रतिस्पर्धीहरुलाई पछि पार्दै नगद, प्रमाणपत्र र भित्ते घडी उपहार सहित प्रथम पुरस्कार हात पारेकी भावना त्यो खुशीको क्षण अझै मन मस्तिष्कमा ताजा रहेको बताउँछिन् l ‘त्यो प्रतियोगिता र जितले रहर झन् बढ्यो र गीत-सङ्गीतमा अगाडि बढ्नका लागि मेरो आत्मविश्वाशलाई अझ बलियो बनायो l’
सङ्गीतप्रतिको बढ्दो रुचीको कारण अभिभावकहरु उनको भविष्यलाई लिएर चिन्तित हुनुहुन्थ्यो l छोरीले धेरै पढोस् र सरकारी जागीर खावोस् भन्ने अभिभावकहरुको चाहना थियो l उनले पढाईमा पनि विश्राम नलगाई, अभिभावकहरुको मन पनि नदुखाई सङ्गीतलाई निरन्तरता दिईरहिन् l आजसम्म उनको स्वरमा लगभग ३ सयजति र उनका सिर्जनामा केही दर्जन गीत रेकर्ड भईसकेका छन् l जसमध्ये दर्जनौं गीत चर्चित पनि भएका छन् l उनले आफ्ना अभिभावक र आफन्तहरुलाई गर्व गर्ने प्रशस्तै कारणहरु दिएकी छिन् l उनी परिवारका लागि मात्र नभएर सुदूरकै एक होनहार प्रतिभाका रुपमा स्थापित भएकी छिन् l
पहिलोपटक २०७४ सालमा प्रकाश अभागीसँग उनले ‘कोनान माइती सम्झना’ बोलको देउडा गीत रेकर्ड गरेकी थिईन् l जसमा प्रकाश अभागीको शब्द र भूवनप्रकाश बडूको लय रहेको थियो l त्यसपछि निरन्तर सङ्गीत यात्रामा पाइला अगाडि बढाईरहेकी भावनाका ‘अनलाइनमा आउनिरएइ, मेरा त मलामी आया, सिउँदी छ कि खाली, कति राम्रो पिपल को छाया, सात समुन्द्र पारि, अनलाइन भेटौंला ए सानू’ लगायतका लोकप्रिय गीतले सङ्गीत भण्डारलाई अझ खँदिलो बनाएको छ l मुख्य विधा गायन भएपनि शब्द लेखन र लय सिर्जनालाई पनि समानान्तर ढङ्गमा अगाडि बढाईरहेकी भावनालाई सुदूरपश्चिमको भाषा, परम्परा, कला र संस्कृतिलाई जीवन्त राख्नका लागि लागिपर्ने सङ्गीतकर्मीहरुको अग्र लहरमा राख्न सकिन्छ l उनलाई विकट भूगोलमा फुलेको एउटा अनमोल, सुवासिलो फूलका रुपमा मूल्याङ्कन गर्न सकिन्छ l