-तुलसी गिरी ‘भावुक’
संख्यात्मक हिसाबमा थोरै काम गरेर पनि छोटो समयमै सङ्गीत क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्न सफल गीतकार हुन्- तारा अधिकारी l लम्जुङ जिल्लाको तत्कालीन चक्रतीर्थ गाबिस र हालको राइनास नगरपालिका निवासी पिता खिला शर्मा अधिकारी र माता गौरी अधिकारीको परिवारमा उनी पहिलो सन्तानको रूपमा यो धर्तीमा आएकी थिईन् l ‘सुनौलो तारा प्रा. लि.’ नामक म्युजिक कम्पनी र ‘सुनौलो तारा’ नामक युट्युब च्यानलकी सञ्चालिका, चन्द्र विनायक फिल्म्स प्रोडक्शन सञ्चालक समिति सदस्य, आस्था आर्ट्स एकेडेमी कार्यसमिति सदस्य, त्रि.वि. लायन्स रक्त सञ्चार तथा अनुसन्धान केन्द्रकी संस्थापक एवं आजीवन सदस्य, भरखरै सम्पन्न ‘नेपाली आर्ट, कल्चर एण्ड म्युजिक अवार्ड’ मा आधुनिक गीततर्फ सर्वोत्कृष्ट महिला गीतकारको अवार्ड जित्न सफल निरन्तर लोकप्रियताको शिखरतिर अगाडि बढिरहेकी सङ्गीत आकाशकी चम्किली तारा गीतकार तारा अधिकारीसँग उनको साहित्यिक एवं प्राज्ञिक व्यक्तित्व र गीति यात्रामा केन्द्रित रहेर गरिएको कुराकानी-
बाल उमेरमा तपाईंको रुची, स्वभाव कस्तो थियो ?
सानोमा म साह्रै घमण्डी थिएँ रे ! सही होस् या गलत मैले जे भन्यो त्यही हुनुपर्ने l यतिसम्म कि, खाना खाईसकेपछि मलाई कसले चुठाउने भन्ने कुरा पनि म आफैं भन्थें रे ! मैले भनेको भन्दा फरक मान्छेले मेरो हातमुख धोईदिन नहुने l मेरो ईच्छा विपरित कसैले सिंगान पुछिदिए पनि झगडा गर्थें रे ! जतापायो त्यतै फोहोर फालिदिन्थें रे ! कुनैबेला म भान्सामा निदाएँ र कसैले बोकेर बेडमा सुताईदियो भने थाहा पाउनासाथ फेरि त्यही ठाउँमा आएर सुतिदिन्थें रे ! पहिलो सन्तान भएकोले धेरै माया पाएर अलि पुल्पुलिएकी थिएँहोला l अलि ठूली भएपछि बुबाआमा र घरका सहयोगी दाइले ‘कत्ति दु:ख दिन्थ्यौ तिमीले’ भन्दा कस्तो कस्तो लाग्थ्यो आफैंलाई l
अलि ठूली भएपछि ज्ञानी हुँदै जानुभएछ, हैन त ?
हो l जब बुझ्ने हुँदै गएँ, त्यसपछि मेरो स्वभाव पनि पूरै चेन्ज भयो रे ! धेरै शान्त र भलाद्मी स्वभावको भईछु l गाउँघरतिर पनि कसैले आफ्नी छोरीलाई अर्ति उपदेश गर्दा उदाहरणको रुपमा फलानोकी छोरी जस्तो हुनुपर्छ भनेर मेरै नाम लिन्थे l
त्यो बेला सङ्गीतप्रति कत्तिको रुची थियो ?
म सानैदेखि गीत-सङ्गीत धेरै मन पराउँथें l मीठो स्वर नभए पनि गीत गाउन रहर लाग्थ्यो l लुकीलुकी गाउँथें l त्यतिबेला घरमा कोहीपनि नभएको मौकामा भाइ र म मिलेर लुकीलुकी रेकर्डरमा गीत रेकर्ड गर्थ्यौं l खूब रमाइलो लाग्थ्यो l
स्कूलतिर आयोजना हुने अतिरिक्त क्रियाकलापहरुमा कत्तिको भाग लिनुहुन्थ्यो ?
सानैदेखिआत्मविश्वाशी र जिज्ञाशु थिएँ l जिते पनि नजिते पनि हरेक क्रियाकलापमा भाग लिन्थें l कहिले जित्थें, कहिले हार्थें l
कहिलेकाहिँ यस्तो हुन्छ नि ! छोराछोरीलाई यस्तो बनाउँछु, मेरो बच्चाले यसो गरोस्, त्यसो नगरोस् भन्ने बाबुआमाको इच्छा l तर छोराछोरीको चाहना अर्कै हुन्छ l त्यसपछि न बाबुआमाले भनेको छोराछोरीले मान्छन् न त छोराछोरीको चाहना बाबुआमाले बुझ्ने कोसिस गर्छन् l तपाईंको युवा उमेरमा यस्तो स्थिति आयो कि आएन ?
मलाई त अभिभावकहरुको भरपूर साथ थियो l मेरा बुबाआमा मेरो खुशीमा रमाउनुहुन्थ्यो l
युवा उमेरका रुचीहरु कस्ता थिए ?
लेखनमा त रुची छँदै थियो तर कलेज जीवनमा अलिअलि राजनीति पनि घुस्न खोजेको थियो मभित्र l तर बिभिन्न कारणले त्यो क्षणिक भयो l नेपाल आर्मीको सेकेण्ड लेफ्टिनेन्ट या नेपाल प्रहरीको इन्स्पेक्टरमा भिडेर नाम निकाली देशको सेवा गर्ने पहिलादेखि नै साह्रै रहर थियो l तर समयले साथ दिएन, त्यो इच्छा पूरा हुन सकेन l सायद मेरो निधारमा नलेखेको हुनुपर्छ त्यो l
साहित्यप्रति तपाईंको सानैदेखि स्वत:स्फुर्त झुकाव हो कि कुनै व्यक्ति, पुस्तक या घटनाको प्रभावले साहित्यप्रति रुची जागेको हो ?
मेरो साहित्यप्रतिको झुकाव जेनिटिक नै हुनुपर्छ l म एउटा घटना सम्झन्छु l ४-५ क्लासमा थिएँहोला l सायद ४ मा हुनुपर्छ l एकदिन मेरो बाबाले हिसाबकिताब गरिरहेको बेलामा म नजिकै गएर बसिरहेकी थिएँ l बाबाको छेवैमा भएको कापी समाउन खोज्दा बाबाले आफैं कापी समाएर देखाउँदै भनिस्यो-‘यी हेर ! तिम्री आमाले लेखेका कविताहरु हुन् l’ मैले पछि फिर्ता गर्ने सर्तमा त्यो कापी लिएँ l एउटा सानो कापी कविताले पूरै भरिएको थियो l कापीका कविताहरु पढें l त्यति सानो उमेरमा केही बुझिन र ती कविताहरु कस्ता थिए ? के शीर्षकमा थिए ? त्यो बारेमा अहिले मलाई कत्तिपनि सम्झना छैन l बाबाले ‘यी कविता तिमी पेटमा भएको बेला लेखेकी हो’ भनेको सम्म याद छ l नबुझे पनि फेरि दोहोर्याएर पढ्न मन लाग्यो l स्कूलमा साथीहरुलाई देखाउन मन लाग्यो र ब्यागमा बोकेर स्कूल गएँ l तर मेरो दुर्भाग्य ! स्कूलबाट फर्कंदा ब्यागमा कापी रहेनछ l कसरी ? कहाँ ? हरायो पत्तै भएन l त्यो पल सम्झँदा साह्रै नराम्रो लाग्छ l आजभोलि पनि त्यो गल्ती सम्झँदा आत्मग्लानी हुन्छ l त्यसपछि मैले पनि अलिअलि कोर्ने प्रयास गर्न थालें l मेरो प्रेरणाको स्रोत मेरा आफ्नै बाबाआमा होईसिन्छ, विशेष गरेर आमा l उहाँकै रचनाबाट म प्रभावित भएकी हुँ l
औपचारिक रुपमा सबैभन्दा पहिला कुन रचना बाहिर आएको थियो ?
कविता थियो l लम्जुङबाटै प्रकाशित हुने एउटा मासिक पत्रिकामा छापिएको थियो l त्यो बेला म त्यस्तै ५-६ कक्षामा पढ्थेंहोला l तर पत्रिकाको नाम र साल चाहिं याद भएन l
आफ्नो साहित्यिक रचनाको कारण स्कूल-कलेजतिरका प्रतियोगितामा पुरस्कृत पनि हुनुभएको थियो ?
भएकी छु l ८ क्लास पढ्दा अन्तरस्कूल कविता प्रतियोगितामा दोस्रो भएकी थिएँ l अनि एकपटक यस्तो भयो, हाम्रै स्कूलमा कविता प्रतियोगिताको आयोजना भएको थियो l मेरो मिल्ने साथीलाई कविता लेख्न नआउने भएर मलाई लेखिदिन आग्रह गरिन् l मैले ३ वटा कविता लेखें l मन परेको छानेर आफैंले राखें र अर्को साथीहरुलाई दिएँ l मैले नै लेखिदिएको कविताबाट साथी प्रथम भईन् भने म दोस्रो भएँ l लय मिलाएर भन्न नजानेकोले म दोस्रो भए जस्तो लाग्छ l यस्ता रमाईला पलहरु धेरै छन् l
साहित्यका कुन कुन विधामा कलम चलाउनुभएको छ ?
गीत, कविता, लघुकथा र यस्तै समसामयिक विषयहरुमा लेखहरु लेख्ने गरेकी छु l
साहित्यमा धेरै विधा छन् l तपाईंले पनि १ भन्दा बढी विधामा कलम चलाउँदै आउनुभएको छ l आफ्नो मुख्य विधा केलाई मान्नुहुन्छ ?
हुन त मेरो कथा पढेर धेरै अगाडि नै १-२ जना सरहरू { एकजना डीडीसी र अर्को एकजना एनटिभीमा कार्यरत हुनुहुन्थ्यो l नाम चाहिं बिर्सिएँ } ले मन पराएर टेलि सिरियलको लागि माग्नुभएको थियो l त्यो बेला म आफैं निकाल्छु भनेर दिन मन लागेन l पछि परिस्थिति त्यस्तै त्यस्तै भयो र मैले गीतलाई नै प्राथमिकता दिन थालें l त्यतिबेला मेरो कथामा सिरियल बनेको भए सायद म कथातिर बढी ढल्कन्थें कि ! अहिलेसम्म बिभिन्न पत्र-पत्रिकामा लेख रचनाहरु प्रकाशित भएका भएपनि अरु विधामा कृतिहरु बाहिर आउन नसकेको कारण पनि मेरो प्रमुख विधा गीत नै हो l
सङ्गीत क्षेत्रमा औपचारिक प्रवेश कहिले गर्नुभयो ? अर्थात् पहिलो गीत कहिले रेकर्ड भएको थियो ?
२०७२ सालमा हो l रमेश कडरियाको सङ्गीत, आशिष अविरलको एरेन्ज र मेलिना राईको स्वरमा ‘आँखै आँखाको भाषाले मलाई’ बोलको गीत रेकर्ड भएको थियो l त्यो गीतमा बेनिशा हमाल र कुशल अधिकारी { मेरो आफ्नै भाइ } को अभिनय रहेको छ भने नव ढुङ्गेलले निर्देशन गर्नुभएको छ l
अहिलेसम्म कतिवटा गीत रेकर्ड भए ?
छैनन् धेरै …यस्तै १५-१६ वटा पुगे होलान् l एल्बम चाहिं २ वटा आएका छन्- सपना र सुनौलो तारा l अहिलेसम्म सङ्गीतकारहरुमा वरिष्ठ सङ्गीतकार दीपक जंगम, दीपक शर्मा, वसन्त सापकोटा, हरि लम्साल, सुवास भुसाल, नरेन्द्र प्यासी, कल्याण सिंह, रमेश कडरिया, उमेश खड्का लगायतसँग काम गरेकी छु भने एरेन्जरहरुमा किरण कँडेल, आशिष अविरल, उदयराज पौडेल,फणिन्द्र राई, साहस शाक्य आदिसँग सहकार्य गर्ने मौका पाएकी छु l यस्तैगरी स्वरुपराज आचार्य, प्रमोद खरेल, अञ्जु पन्त, मेलिना राई, प्रताप दास, अस्मिता अधिकारी, नरेन्द्र प्यासी, राज सिग्देल, विश्व नेपाली, किरण भुजेल, वुद्ध लामा, अजर जंगम, प्रविन बेडवाल लगायतका गायक-गायिकाले मेरो गीतमा स्वर दिनुभएको छ l अहिलेसम्म ११ वटाजति भिडियो बाहिर आएका छन् जसमा दिलिप रायमाझी, बेनिषा हमाल, नाजिर हुसेन, सिरु विष्ट, एलिशा राई, जेविका कार्की, जीवन भट्टराई लगायतका कलाकारहरुले अभिनय गर्नुभएको छ l अब आउने तयारीमा राजनराज शिवाकोटी, किरण कँडेल, गैरे सुरेश लगायतका सङ्गीतकारहरुको सङ्गीतका ८-९ वटा गीत छन् l
तपाईंलाई यस क्षेत्रमा सबैभन्दा पहिला कुन गीतले परिचित गरायो ? चिनाएको…प्रमोद खरेलको आवाजमा रहेको मेरो दोस्रो गीत ‘मायाको घर’, जसमा मरिस्का पोखरेल, कुशल अधिकारी { मेरो भाइ } र दिनेश बुढाथोकीको अभिनय रहेको छ l जसलाई रमेश थापाले निर्देशन गर्नुभएको छ l चिनाएको त यही गीतले हो कि जस्तो लाग्छ l तर स्रोताले अलि बढी मन पराईदिनुभाएको चाहिं रमेश कडरियाको सङ्गीत, उदयराज पौडेलको सङ्गीत संयोजन र प्रमोद खरेलकै आवाज रहेको, नाजिर हुसेन र एलिसा राईको अभिनयमा सान थापा भाइको निर्देशन रहेको ‘लुकीलुकी’ र दीपक शर्माको सङ्गीत, साहस शाक्यको एरेन्ज, किरण भुजेल र मेलिना राईको आवाज, नाजिर हुसेन र जेबिका कार्कीको अभिनय अनि सान थापाकै निर्देशन रहेको ‘गुलेलीमा’ होला l
अहिलेसम्म तपाईंका कतिवटा एल्बम प्रकाशित भए ?
दुईवटा l २०७२ सालमा ‘सपना’ र २०७६ मा ‘सुनौलो तारा’ l अब अर्को आउने तयारीमा छ l
गीतकारको रुपमा अवार्ड, पुरस्कारहरु पनि पाउनुभएको छ कि ? २०७६ सालमा आयोजित सगरमाथा म्युजिक अवार्डमा ‘मायाको घर’ गीतबाट ‘सर्वोत्कृष्ट आधुनिक गीतकार – महिला’ विधामा र ‘आऊ सङ्गी’ तीज गीतबाट ‘उत्कृष्ट तीज दोहोरी गीत – शब्द’ तर्फ ‘छायाछवि तीज म्युजिक अवार्ड’ पाएकी छु l
भविष्यका योजना, सपनाहरु के कस्ता छन् ?
योजना…कालजयी, अजर – अमर गीतहरु सिर्जना गर्ने चाहना छ l अनि समय र परिस्थितिले साथ दियो भने राम्रो मुभी बनाउने सोचाई छ l हेरौं, के हुन्छ l म जान्ने बुझ्ने भएदेखि नै एउटै सपना छ, मेरो अन्तिम निदाईमा ममाथि धेरथोर फूलको माला होस् l