गीतकार, गायक, सङ्गीतकार, रेडियो कार्यक्रम प्रस्तोता हुँदै म्युजिक एरेन्जर सम्मको परिचय स्थापित गरेका सुदूरपश्चिमका प्रतिभा सुरेश शाही सङ्गीतका जुनसुकै विधामा क्रियाशील रहेपनि आफूलाई गायक हुँ भन्नमै अलि बढी खुशी महसुस गर्छन् l केटाकेटीदेखि नै रेडियो नेपालबाट बज्ने बुबाका गीत सुन्दै हुर्केका सुरेशले बाल उमेरमै कलिला औँलाहरू हार्मोनियमका रिटमा नचाउने अवसर घरमै पाएका थिए l रगतमै सङ्गीतको वंशाणुगत गुण लिएर आएका उनी अवोध उमेरदेखि नै गीत-सङ्गीत र वाद्ययन्त्रप्रति आकर्षित भएका हुन् l आज उनी सङ्गीतका सबैजसो विधामा उत्तिकै सक्रिय रहेपनि म्युजिक एरेन्जलाई व्यावसायिक रुपमा अगाडि बढाईरहेका छन् l
मध्य पश्चिमको विकट जिल्ला कालिकोटको तत्कालीन मान्मा-५ र हालको खाँडाचक्र नपा-५ मा बुबा मिन बहादुर शाही र आमा चरना शाहीको परिवारमा पहिलो सन्तानको रुपमा जन्मिएका सुरेशका २ बहिनी र १ भाइ पनि छन् l बुबा मिन बहादुरको त्यो बेला सुदूरपश्चिममै गायकको रुपमा ठूलो नाम थियो l रेडियो नेपालमा उहाँका ‘सूर्य डाँडामा बुडे, आलु गोबीको तरकारी, सङ्लो पानी छ, क्या मीठो क्या मीठो’ लगायतका लगभग २ दर्जन गीत रेकर्ड भएका थिए l काठमाण्डौ आउँदा-जाँदा बाटोको दु:ख र खर्चको कारणले त्यो समयमा रेडियोमा एउटा गीत रेकर्ड गर्नु पनि धेरै ठूलो कुरा हुन्थ्यो l
एसएलसीपछि कैलालीबाट सिएमए र नेपालगन्जबाट आईए उत्तीर्ण गरेका सुरेस ०६० सालमा राजधानी प्रवेश गरेका थिए र स्नातक उनले यतै पढे l उनी ०६३ मा देउडा गीतको कार्यक्रम ‘भला सुकाली’ संचालकको रुपमा करारमा रेडियो नेपाल प्रवेश गरेका थिए l अत्यन्तै लोकप्रिय रहेको त्यो कार्यक्रम उनले ७ वर्षसम्म चलाए भने ०६४ मा उनले लोकगीततर्फ रेडियो नेपालबाट स्वर परीक्षा पनि पास गरे l गृह जिल्लामा रहँदाका कुरा स्मरण गर्दै उनी भन्छन्- ‘सानैमा घरमै हार्मोनियम बजाउन सिकें l रेडियोमा बुबाका गीत सुनिन्थ्यो l स्कुलका कार्यक्रम र मेला पर्वहरुमा गीत गाईन्थ्यो l तर भविष्यमा यही क्षेत्रलाई पेशा बनाउँछु भन्ने चाहिं लागेको थिएन l’
हालसम्म लगभग २ सयजति गीतमा स्वर दिएका सुरेशले पहिलोपटक ०६३ सालमा आफ्नै शब्द, लय र स्वरमा ‘न्याउली रुँदै वन’ बोलको गीत रेकर्ड गरेका थिए भने ०६५ मा ‘भला सुकाली’ शीर्षकको पहिलो एल्बम प्रकाशित भएको थियो l जुन एल्बमको ‘झर्को नमाने’ गीतले उनलाई धेरै चिनायो, अर्थात सो गीत धेरै चल्यो l उनी आधुनिक सङ्गीतमा ०६६ मा प्रवेश गरेका थिए l ०६६ मा उनको सङ्गीत र अन्जु पन्तको स्वरमा ‘सबै सबैलाई भन्न मिल्ने’ बोलको गीत रेकर्ड भएको थियो l लोकगीत, लोकदोहोरी, देउडा, आधुनिक र फिल्मी गायनमा समेत आफ्नो स्वर दिईसकेका सुरेशले ‘मेरो कथा, नेटवर्क’ र ‘कर्णाली’ नामका तीन चलचित्रमा समेत सङ्गीत दिएका छन् l ‘नेटवर्क’ का सबै गीतमा उनको सङ्गीत रहेको छ भने ‘मेरो कथा’ मा शब्द र स्वर पनि छ l स्वअभ्यासबाट ०७० सालबाट व्यावसायिक रुपमा म्युजिक एरेन्ज गर्न थालेका उनलाई त्यसमा वुद्ध सायमीको मार्गदर्शन रहेको थियो l हालसम्म लगभग १ हजार गीतको एरेन्ज गरिसकेका सुरेशले चन्द्र प्रसाद शिवाकोटी र श्रीराम आचार्यबाट शाश्त्रीय सङ्गीतको ज्ञान लिएका हुन् l सङ्गीतलाई नै पूर्ण रुपमा अंगालेका प्रतिभा सुरेश शाही सुदूरपश्चिमकै गौरवका पात्र हुन् l