मान्छे आफ्नो चाहना, सपना र लक्ष प्राप्तिको लागि कुन हदसम्म मेहेनत गर्न सक्छ र कुनै विषयप्रति एउटा मान्छेको कुन हदसम्म जिज्ञाशा, उत्सुकता, लगाव, झुकाव र सपर्पण भाव हुन सक्छ भन्ने कुराको एउटा आश्चर्यलाग्दो उदाहरणीय व्यक्ति हुन् भूवन सागर मगर l सुदूरपश्चिम जिल्ला रुकुमको दुर्गम पहाडी गाउँ महत गाउँपालिका जन्मस्थान भएका गीतकार/गायक भुवनले सानैदेखि संगीतप्रति देखाएको रहर र चाहना कुनै पागलप्रेमीको भन्दा कम थिएन l बुबा तेज बहादुर बुढा मगर र आमा तीज कुमारी बुढा मगरका जेठा छोरा भूवन खै किन हो ! स्वतः स्फुर्त रुपमा गीतप्रति यति आकर्षित थिए कि उनका कुरा सुन्दा जो कोही पनि गम्भीर बन्न पुग्छन् l उनका कुरा उनकै शब्दमा -‘मलाई सानैदेखि गीत गाउने रहर थियो l गाउँतिर ठुल्ठुला टेप बज्थे l टेप बजाउँदै हिँडेको मान्छे देखें भने पछिपछि लागेर हिंडथें l यो भित्र पसेर कहिले गीत गाउँनेहोला जस्तो लाग्थ्यो l रेडियो टिभी बनाउने ठाउँमा पुग्दा कालो तारचाहिं केटा र रातो चाहिं केटी होला कि ! जस्तो लाग्थ्यो l घन्टौं हेरिरहन्थें, के के कुरा सोच्थें l मनमा धेरै खुल्दुलीहरु हुन्थे तर उत्तर पाउँदिनथिएं l ६-७ कक्षा पढ़दैदेखि आफैं गीत लेखेर तिघ्रा ठटाउँदै गाउँथें l ‘यसले गीत गाउँछ’ भनेर मान्छेहरु लिन घरमै आउँथे l मेला-जात्रा र स्कुलका कार्यक्रमतिर पनि गीत गाईरहन्थें l तर मलाई टेपभित्र बसेर गाउनु थियो l गीत कसरी गाउने हो ? कहाँ गएर गाउने हो ? धेरै सोधखोज गरेपछि काठमाण्डौ जानुपर्छ भन्ने थाहा भयो l कति टाढा पर्छ ? एउटा गीत गाउन कति पैसा लाग्छ ? सोधखोज गरें l एकजनाले ६०-७० हजारजति लाग्छ भने l एसएलसी दिएपछि घरमा सल्लाह गरें l त्यो पारि गाउँको मान्छेले टेपभित्र बसेर गीत गाईराछ म पनि जान्छु भनें l घरको आर्थिक अवस्था राम्रो थिएन l बुबाले ‘काठमाण्डौ गएपछि मान्छेलाई बेचेर तेल बनाउँछ रे !’ भन्नुभयो l म घरबाट टाढा कतैपनि गएको थिईन l ममीले पनि ‘कहाँ हो कहाँ हो, जानुपर्दैन’ भन्नुभयो l एसएलसीको रिजल्ट नआउँदै बिबाह भयो l त्यसपछि श्रीमतीसँग सल्लाह गरें l उनले पनि माइतीबाट त्यति धेरै पैसाको सपोर्ट हुन गारो हुन्छ, आफैं कमाएर गर्नुहुन्छ भने गर्नुस् भनिन् l एसएलसी सेकेण्ड डिभिजनमा पास भएँ तर पढ्न मन लागेन l पैसा कमाएर जसरी पनि टेपभित्र बसेर गीत गाउँछु भनेर दुबईतिर गएँ l
अलिअलि पैसा कमाएर २ बर्षमा नेपाल फर्किएपछि काठमाण्डौ आएर धेरै कलाकारहरु भेटें l हुन्छ हुन्छ भन्थे मजाले नास्तापानी पनि गर्थे, अनि ‘भाइ ! लोड सेदिंगले गर्दा भ्याइएन, अर्कोपल्ट गरौंला है’ भने l २ पटक सम्म आउँदा यस्तै मात्र भयो l एकजना रोल्पाका राम्रो मान्छे पनि भेटेको थिएँ l ‘भाइ ५५ हजारमा चक्का निस्कन्छ’ भनेका थिए l तर त्योबेला समय नभएकोले त्यत्तिकै फर्किनुपर्यो l दिक्क लागिसकेको थियो, मन खिन्न थियो l
म दुबईमा छँदा विभिन्न संस्थाहरुमा पनि संलग्न थिएँ l एकदिन दुबईमै शहीद लखन थापाको स्मृतिमा एउटा कार्यक्रम भएको थियो l त्यहाँ एकजना दाइ स्टेजमा चढे र ‘भर्खरै दुबईमै रेकर्ड भएको नयाँ गीत’ भन्दै सुनाए l म छक्क परें l खुशीको सिमा नै थिएन l उहाँ चुभान दाइ हुनुहुन्थ्यो l दाइ स्टेजबाट ओर्लिएपछि उहाँलाई नै समाते र स्टुडियो पुगें l मैले जीवनमै पहिलोपटक दुबईको स्टुडियोमा आफ्नै शब्द/संगीतको गीत ‘सँगै जिउने वाचा गरेर’ रेकर्ड गरें l बाहिर बस्दा त ठिकै थियो तर स्टुडियोभित्र छिरेपछि खुट्टा थरथरी काम्यो l घन्टाको ३ सय पचास लाग्थ्यो तर मैले ४५ मिनेटमै सकाएँ l गीत नेपाल पठाइयो l तयार भयो कि भएन भनेर दिनदिनै फोन गरिरहन्थें l मैले अक्षर अक्षर लेखेको, मैले गाएको गीत कस्तो भयोहोला भन्ने खुल्दुली भईरह्यो l कति दिनसम्म रातभर निन्द्रा पनि लागेन l पछि गीत एमपिथ्रीमा आएपछि १ हप्ता सम्म त रातदिन त्यहीमात्र सुनिरहें l यस्तो हुने रैछ, पहिले नै गर्न पाएको भए ? भन्ने लाग्यो l चुमान दाइ नभेटेको भए सायद मेरो इच्छा आजसम्म पनि अधुरै हुन्थ्योहोला र म यतिबेला दुबईकै सडकमा कुदिरहेको हुन्थेंहोला l मैले दुबईमा आफ्नै शब्द/संगीतका ८ वटा र अरुका ११ वटा गीत रेकर्ड गरें l नेपालमा पनि केही गीत रेकर्ड भएका छन् l अहिलेसम्म जम्मा २८ वटा गीत गाएको छु l
चुभान काउछा मगर र भूवन सागर मगरको ५ वर्ष अगाडिको भेट आज अटुट मित्रतामा गाँसिएको छ l दुबैले नेपाल फर्किएर संगीतमै केही गर्ने अठोटका साथ संयुक्त स्वामित्वको मन्जरी डिजिटल रेकर्दिंग स्टुडियोको स्थापना गरेका छन् l ‘पैसा मात्र कमाएर के गर्नु, कति मान्छेले पैसा धेरै कमाएपछि नामको लागि सामाजिक काम गर्छन् , डोनेशन दिन्छन् l तर त्यो सीमित ठाउँका मान्छेलाई मात्र थाहा हुन्छ l सङ्गीत यस्तो क्षेत्र हो जसबाट युगौं सम्म संसारभरि नाम रहन्छ’ भूवन भन्छन् l ‘दांगमा घर बनाएँ l श्रीमती पनि मा.बि. मा पढाउँछिन् l खान लाउँन पुगिहाल्छ l अहिले त ‘यो भूवानको बुढी हो’ भनेर श्रीमतीलाई मान्छेहरुले चिन्छन् l उनी पनि खुशी छिन् l अब बाँकी जिन्दगी संगीतमै बिताउँछु’ उनी सन्तुष्टि ब्यक्त गर्छन् l