शब्द, सङ्गीत र गायनलाई गीतका प्रमुख तीन विधा भन्ने आम प्रचलन छ l कोही एउटै व्यक्ति यी तीन विधामा सक्रिय रहेछ भने उसलाई सङ्गीतका ‘त्रिवेणी’ भनेर पनि सम्वोधन गरिन्छ l आम प्रचलन, बुझाई र सोचाईमा जे जस्तो भएपनि यी तीन विधा जस्तै महत्वपूर्ण अर्को विधा हो- म्युजिक एरेन्ज l भन्नलाई त एरेन्ज अर्थात संयोजन भनिन्छ तर यो संयोजनको काम मात्र भने पक्कै हैन l म्युजिक एरेन्जरलाई सर्जकको रुपमा हेर्ने नगरिएको भएपनि उनीहरु वास्तबमा सर्जक नै हुन् l कुनैपनि गीतको उठान म्युजिकको धुनबाट नै हुने भएकोले गीतमा गायकको स्वर नआउन्जेल स्रोतालाई बाँधिराख्ने काम म्युजिकले नै गर्दछ l स्रोताले गीत सुन्दा मेलोडी र स्वरबाट जति आनन्द लिईरहेका हुन्छन् त्यति नै मजा धुनबाट पनि लिईरहेका हुन्छन् l त्यसैले एउटा गीतमा शब्द, मेलोडी र स्वरको जति महत्व हुन्छ म्युजिकको पनि त्यति नै हुन्छ भन्न सकिन्छ l लामो समयदेखि नेपाली सङ्गीत क्षेत्रका सक्रिय रही म्युजिक एरेन्जलाई आफ्नो मुख्य पेशा बनाउँदै आएका एक व्यावसायिक तथा सफल सङ्गीतकर्मी हुन्- देवेन्द्र नेवा: l
देवेन्द्रको जन्म काठमाण्डौको घट्टेकुलोमा भएको हो l पिता देवकुमार र माता कान्छीदेवी को परिवारमा कान्छो सन्तानको रुपमा जन्म लिएका देवेन्द्र स्कुले उमेरदेखि नै गीत गाउने र बाँसुरी बजाउने गर्दथे l ८ – ९ कक्षा पढ्दैदेखि गीतार बजाएर गीत गाउने गरेका उनी बि.स.०४९ सालमा १० कक्षामा पढ़दैगर्दा पहिलोपटक स्कूलमा आयोजित ‘कन्सर्ट’ बाट कलाकारको रुपमा सार्वजनिक भएका थिए l सो कार्यक्रम उनकै संयोजनमा सम्पन्न भएको थियो भने उनले गीत पनि गाएका थिए l ५० को दशकतिर पप सङ्गीतको जगजगी थियो l भीम तुलाधर, हरिश माथेमा, संजय श्रेष्ठ, नवीन के. भट्टराई, मोहन भुसाल लगायतका गायकहरु टेलिभिजनका पर्दामा नआएको दिन हुँदैनथ्यो l उनी यिनै कलाकारका समकालीन प्रतिभा हुन् l त्यही समयमा देवेन्द्र पनि तत्कालिन चर्चित ‘अमिगोज’ ब्याण्डका भोकलिष्ट थिए l ब्यान्डले काठमाण्डौ उपत्यका लगायत बाहिर समेत कार्यक्रमहरु गर्ने गर्दथ्यो भने १५ वटाजति गीत समेत रेकर्ड गरेको थियो l त्यो बेला ब्याण्ड मार्फत नै बजारमा आएको गीत ‘छाती चिरेर’ निकै चल्यो l ‘मलाई गायकको रुपमा यही गीतले पहिलोपटक चर्चामा ल्याएको थियो’ देवेन्द्र पुराना दिनहरु सम्झंदै भन्छन् l
ललितकलामा शाश्त्रीय सङ्गीत पढेका देवेन्द्रले गीतार प्रसिद्ध सङ्गीतकार राजु सिंहसँग सिकेका हुन् भने तबला रविनलाल श्रेष्ठसँग l ‘एरेन्जर हुनलाई सबै बाजाको ज्ञान हुन जरुरी छ’ उनी भन्छन् l उनी गितार, पियानो, तबला, हार्मोनियम, मादल, बाँसुरी, ड्रम लगायतका बाजा कुशलतापूर्वक बजाउँछन् l
कुनै समय राजधानीका स्कूलहरुमा म्युजिक टिचरको रुपमा समेत काम गरेका देवेन्द्रले ०५६ सालमा बुनु श्रेष्ठको स्वरमा रहेको गीत ‘पानीमुनी’ को म्युजिक एरेन्ज गरी व्यावसायिक रुपमा एरेन्जको काम सुरु गरेका हुन् l एरेन्जको स्वअभ्यासबाट नै गरेको उनी बताउँछन् l फिल्मी, आधुनिक सुगम, लोक, लोकदोहोरी, भजन, राष्ट्रिय, पप लगायत सबैजसो विधाका गीतमा म्युजिक एरेन्ज गरिसकेका देवेन्द्रले हालसम्म लगभग ४ हजार भन्दा बढी गीतमा एरेन्ज गरिसकेको बताएका छन् l नेपाली गीतका अतिरिक्त अंग्रेजी, अफ्रिकन, नेपालभाषा र भोजपुरी गीतमा समेत एरेन्ज गरेका उनलाई अमेरिकामा ‘गशपल’ गीत [ईसाई भक्ति गीत ] एरेन्ज गर्ने सर्जकका रुपमा समेत धेरैले चिन्ने गरेका छन् l कम्प्युटरबाट एरेन्ज गर्ने र क्रोम क्यासेटमा रेकर्ड गर्ने समयका एरेन्जर, अझ भनौं सिर्जनामै २५ वर्ष अर्थात रजतवर्ष पार गरेका सङ्गीतकर्मी देवेन्द्र त्यो बेलाका असहजताहरु सम्झदै भन्छन् – ‘अहिले प्रविधिले काम गर्न धेरै सजिलो बनाएको छ, विकल्पहरु पनि धेरै छन् l सङ्गीत क्षेत्र व्यापक भएको छ र कुनैपनि विधाका सर्जक-कलाकारलाई सङ्गीतमै लागेर आर्थिक रुपमा सम्बृद्ध बन्नसक्ने आधारहरु पनि स्थापित भएका छन् l सुरुआती दिनमा गायकको रुपमा अगाडि बढेका देवेन्द्रले पछि गएर गायनलाई केही कम गर्दै मुख्य पेशाका रुपमा म्युजिक एरेन्जलाई रोजेपनि आजको सङ्गीत बजारमा व्यस्त रहेका उनी यही कामबाट सन्तुष्ट छन् l