-तुलसी गिरी ‘भावुक’
माइतीघर शान्तिनगर गाउँपालिका-४, दाङ र कर्मघर गोकर्णेस्वर नगरपालिका ७माकलबारी, काठमाण्डौ भएकी गायिका रिता बुढाथोकी पिता नन्दराम बुढाथोकी र माता मन कुमारी बुढाथोकीको परिवारमा कान्छी छोरीको रुपमा जन्मिएकी थिईन् । उनका १ दिदी, २ दाइ र २ भाइ छन् । २०६१ सालमा झलक सङ्गीतम ,माधव भन्डारी र त्यो बेलाकी सर्वाधिक चर्चित गायिका लक्ष्मी न्यौपानेसँग ‘सोल्टिनीलाई बैना मारौं कि’ बोलको लोकदोहोरी गाएर उनले गायन यात्रालाई अगाडि बढाएकी थिईन् । पहिलोपटक रेकर्ड गरेको सो गीत व्यावसायिक रुपमा सफल भएपछि उनको गायन यात्राले अचम्मै रफ्तार लिएको थियो । चलचित्रका गीत, लोकदोहोरी, तीज गीत, भाषाभाषी गीत आदि गरेर ५ दर्जन भन्दा बढी गीतमा स्वर दिईसकेकी रिता रात्रीकालिन ‘लोकदोहोरी साँझ’ की पनि एक चर्चित गायिका हुन् । लामो समयसम्म निरमाया दोहोरीमा गीत गाएकी उनी हाल ‘ईन्द्रावति दोहोरी साँझ’ चाबहिलमा गाईरहेकी छिन् । उनको गायनयात्रा नदी झैं अविरल बगिरहेको छ ।
गायन प्रस्तुतिकै सिलसिलामा अन्तर्राष्ट्रिय मुलुक भारतका विभिन्न शहर, दुबई र यूरोपका अधिकांश देशको भ्रमण गरिसकेकी गायिका रिताले नेपालका धेरैजसो जिल्लामा आयोजित सांस्कृतिक कार्यक्रमहरुमा आफ्नो कला प्रस्तुत गरिसकेकी छिन् । सांस्कृतिक आदानप्रदान अन्तर्गत दर्जनौं अन्तर्राष्ट्रिय मुलुकमा नेपाली मौलिक कलाको प्रदर्शन गरेर देश चिनाउँदै आएको रामचन्द्र कोईरालाद्वारा सञ्चालित ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’मा आवद्ध भई नेपाली कल्चरल गीत गाउँदै आएकी रिता नेवारी, भोजपुरी, टप्पा, कौरा, सालैजो, तामाङ सेलो, हुड्केली लगायत नेपालका धेरैजसो कल्चरल गीतमा पनि उत्तिकै पोख्त छिन् ।
नेपालमै यति धेरै भाषामा गीत गाउन सक्ने उनी जस्ता कलाकार औंलामा गन्न सकिएला । नयाँ कुरा सिक्न सधैं उत्सुक रहने र अथक साधनामा रमाउने स्वभावले गर्दा नै उनी बहुआयामिक कलाकारको रुपमा चिनिएकी, स्थापित भएकी हुन् । कला र कलाकारिताप्रति अकल्पनीय समर्पण भाव भएकी उनी व्यवहारिक रुपमा समेत कतै पनि नबिझाएकी सबैकी प्रिय कलाकार हुन् ।
युवा उमेरमा आफ्नो क्षेत्रकी प्रसिद्ध भलिबल एवं फुटबल खेलाडी रिताले त्यो बेला नेपालका अधिकांश जिल्लामा महिला खेलाडीको रुपमा आफ्नो उत्कृष्ट खेल प्रदर्शन गरेकी थिईन् । केही महिना अघि कर्णाली कलाकार प्रतिष्ठानले नेपालमै पहिलोपटक आयोजना गरेको महिलाहरुको मादल वादन प्रतिस्पर्धामा समेत उनी तेस्रो विजेता बनेकी थिईन् । बिना प्रशिक्षण, दोहोरी साँझमा गीत गाउने क्रममा सिकेको भरमा देशव्यापी प्रतिस्पर्धामा तेस्रो भएपछि उत्साहित भएकी रिताले लगत्तै प्रसिद्ध मादल प्रशिक्षक खड्ग बहादुर बुढासँग राष्ट्रिय नाचघरद्वारा सञ्चालित ६ महिने मादल वादनको तालिम लिइन् । तालिम मात्र सबै कुरा हैन । स्वअभ्यास, बलियो इच्छाशक्ति र दृढ अठोट बोकेर अगाडि बढ्यो भने एकदिन अवश्य गन्तव्यमा पुग्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हुन् रिता । वाद्यवादक कलाकार सङ्घ नेपाल, केन्द्रीय कार्यसमिति काठमाडौंको सह-कोषाध्यक्ष समेत रहेकी रितालाई नेपाली सङ्गीत बजारले एक व्यावसायिक महिला मादल वादकको रुपमा समेत चिनेको छ ।
गत अगष्ट १ देखि ३ तारिखसम्म किर्गिस्तानको चोल्पोन अटे शहरमा आयोजित विश्व परम्परागत संस्कृति र सङ्गीत मेलामा रिताले मादल बादनको अद्भुत कला प्रदर्शन गरिसकेकी छिन् । किर्गिस्तानको मन्त्री परिषद र संस्कृति मन्त्रालयको निमन्त्रणामा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ को टोलीमा सामेल भइ नेपालको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेकी रिताले मेलामा सहभागी अन्य ४९ अन्तर्राष्ट्रिय कलाकार टोली र किर्गिस्तानका उच्च तहका अधिकारीहरुको अगाडि मादल बादनको बेजोड कला पस्किरहँदा तालीको गड्गडाहटले उनको प्रशंसा गरेको थियो । ‘मादल’ बाजाहरु मध्येकै सबैभन्दा बढी बल प्रयोग हुने बाजाहरुमा पर्ने गर्दछ । बोकेर हिँड्न पनि अलि गाह्रो हुने यो बाजा माहिला वाद्यवादकहरुको रोजाइमा परेको त्यति पाइँदैन । त्यसैले पनि नेपाली सङ्गीत क्षेत्रमा व्यावसायिक महिला मादल वादक नगण्य छन् ।
कुनैपनि क्षेत्रमा सफल रुपमा अगाडि बढ्नको लागि अनुकूल पारिवारिक वातावरण, परिवारका सदस्यहरुको हौसला र सपोर्टको महत्वपूर्ण भूमिका हुने गर्दछ । यस मामलामा उनलाई भाग्यमानी सम्झनुपर्दछ । यहाँसम्म आईपुग्न आफ्ना पति गोपाल बहादुर भुजेल र छोराछोरीको पनि उत्तिकै सपोर्ट रहेको बताउँदै असाधारण प्रतिभाकी धनी रिता भन्छिन्- ‘कलाकारिता क्षेत्रमा धेरै काम गर्न सक्छौ भनेर हौसला दिंदै काठमाण्डौ ल्याउने गुरु खड्ग बहादुर बुढा र दण्डपाणि पाण्डे अङ्कललाई कहिल्यै बिर्सन सक्दिनँ ।’
