त्यो दिल अरूको खातिर,
खाली नहोस् सधैँभर
मेरो निमित्त मात्रै,
बाँकी बचोस् सधैँभर
हाम्रो पियार देखी, आगो
बनोस् न पानी
इर्ष्या गरोस् त त्यस्तो, पानी
बलोस् सधैँभर ।
गजलकार राधा कणेलका यी प्रेमिल शब्दमा विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको कर्णप्रिय धुनले मोहकता थपेकै थियो, त्यसमा सुमधुर स्वरकी धनी जलजला परियारको स्वरले सर्वनाम थिएटरमा जम्मा भएका श्रोता मन्त्रमुग्ध बने । शुक्रबार १६०औँ मोतीजयन्तीका अवसरमा आयोजित ‘राधा कणेल साङ्गीतिक गजल साँझ, २०८२’ मा जलजलाले राधाका ५ वटा गजल गाइन् । ५ वटै गजलमा सन्तोषको एकल सङ्गीत थियो ।
तिमी रापिलो छौ,
बलेको मकलझैँ
यता दिल छ मेरो, सुकेको
सिमलझैँ
प्रायः शृङ्गारिक गजलमा प्रस्तुत भएकी जलजलाले उल्लिखित शेर गाइरहँदा हल खुबै गर्माएको थियो । समसामयिक विषयलाई पनि सुन्दर ढङ्गले गजलमा उन्न सिपालु राधाको लेखन परिष्कृत रहेको र परिष्कृत लयमै रचना गर्ने भएकाले राधाका गजल सङ्गीतमैत्री रहेका सङ्गीतकार सन्तोष श्रेष्ठले बताए ।
गायिका जलजला मञ्चमा ‘सागर सुकाइदिन्छु, ढुङ्गा गलाइदिन्छु/कारण बताउँदा चैँ, तिम्रै बताइदिन्छु’ भन्दै गुञ्जिँदा हल जुरुक्क बनेको थियो । गजल अभियन्ता, समालोचक घनेन्द्र ओझाले नेपाली गजल लेखनमा परिष्कारसँगै गायनमा पनि परिष्कृत हुन जरुरी रहेको भन्दै सन्तोष श्रेष्ठ र आफूले विक्रमको २०८०-२०९० लाई ‘नेपाली गजल गायनको स्वर्ण दशक घोषणा गरेको र यही अभियानअन्तर्गत यो कार्यक्रम गरिएको सुनाए । ओझाले यो कार्यक्रम ऐतिहासिक भएको पनि बताए । ‘नेपाली गजल सङ्गीतमा हालसम्म नारी स्रष्टाका गजल, नारीकै स्वरमा एकल गायन भएको देखिँदैन । यो सम्भवत: पहिलो यस्तो कार्यक्रम हो’ ओझाले भने ।
ओझाले जलजला, राधा र सन्तोष तीनै जनाले नेपाली गजल सङ्गीतमा नयाँ इतिहास रचेको दाबी गरे । समालोचक प्रा. डा. देवी नेपालले नेपाली गजल लेखनसँगै सङ्गीत पनि तीव्र र परिष्कृत बन्दै गएको भन्दै खुसी व्यक्त गरे । गजलकार तथा सङ्गीत मर्मज्ञ रवि प्राञ्जलले नेपाली गजल गायनमा यो कार्यक्रम उत्साहप्रद र स्मरणयोग्य भएको बताए । नेपाली गजललाई गायनमा ल्याउने प्रयासको प्राञ्जलले सराहना पनि गरे । वाद्यवादनमा तबलामा शम्भु श्रेष्ठ र बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए । अनाममण्डली, नेपाल गजल प्रतिष्ठान र गोल्डेन क्रियसनको आयोजनामा भएको सो कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चले सहकार्य गरेको थियो ।
