-तुलसी गिरी ‘भावुक’
प्रसिद्ध गीतकार मणिराज बस्नेतको रचनामा रहेको गीत ‘नदेखेरै नभेटेरै’ को भिडिओ रिलिज भएको छ । गैरे सुरेशको सङ्गीत, राजन इसानको सङ्गीत संयोजन र स्वरूपराज आचार्यको स्वर रहेको यो गीतको भिडिओ सर्जक मणिराजकै आधिकारिक युट्युब च्यानल Mani Entertainment बाट सार्वजनिक भएको हो ।
वीरेन्द्र भाट ‘विपिन’ को निर्देशन, सुप्रसिद्ध अग्रज छायाँकार रविन्द्र बरालको छायाङ्कन एवं वीरेन्द्र भाटकै सम्पादन रहेको यो प्रेमिल कथावस्तुमा आधारित म्युजिक भिडिओकी निर्मात्री मेनुका बस्नेत हुन् । भिडिओमा दिपेन्द्रराज गिरी र सङ्गीता चौहानको अभिनय रहेको छ । प्राप्त जानकारी अनुसार लोकप्रिय टिकटकर सङ्गीताको यो पहिलो म्युजिक भिडिओ हो । भिडिओ वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्सनमा निर्माण भएको हो ।
गीतमा नदेखेरै नभेटेरै गहिरो माया बसेको, थाहै नपाई मनले नाता गाँसेको, बिना कुनै स्वार्थ-बिना अपेक्षा दिल बसेको कुरा गरिएको छ । यथार्थपरक भावमा लेखिएको यस गीतले निश्वार्थ प्रेमको स्वच्छता, गहिराई र सङ्लो पनलाई उजागर पारेको छ ।
दक्षिणकाली नगरपालिका-५, फर्पिङ, काठमाण्डौ निवासी पिता भक्त बहादुर बस्नेत र माता गगन कुमारी बस्नेतको परिवारमा जेठो सन्तानको रुपमा गीतकार मणिराजको जन्म भएको थियो । १५ वर्षको कलिलो उमेरमै बुबालाई गुमाएपछि जेठो सन्तान हुनुको नाताले ३ भाइ र १ बहिनीको लागि अभिभावकको जिम्मेवारी समेत पूरा गर्दै हुर्केका मणिराजको २०५४ सालमा मेनुका बस्नेतसँग विवाह भएको थियो । डिभी चिट्ठा मार्फत ०६० मा सुन्दर भविष्यको सपना बोकेर अमेरिका प्रवेश गरेका उनी हाल श्रीमती, तीन छोरीहरु- भावना, साधना र आश्मा सहित सपरिवार अमेरिकाको डेनभर, कोलोराडो बस्दै आएका छन् ।
मणिराज सानै उमेरदेखि गीत/कविताहरु रचना गर्ने गर्दथे । उनलाई गीत/सङ्गीतमा पनि उत्तिकै रुची थियो । पहिलोपटक ०५८ सालमा उनको रचना, शक्तिबल्लभको सङ्गीत र स्वरुपराज आचार्यको स्वरमा ‘हिउँले ढाक्यो त्यो परि डाँडामा’ बोलको गीत रेकर्ड भएको थियो । त्यसपछि निरन्तर सिर्जनाकर्ममा क्रियाशील रहेका स्रस्टा मणिराजको शक्तिबल्लभको एकल सङ्गीतमा पहिलो गीति एल्बम ‘पीडा’ (२०६४), शिव परियारको एकल सङ्गीतमा दोस्रो एल्बम ‘फाटेको मन’ (२०६७) र बालन्द राईको एकल सङ्गीतमा तेस्रो एल्बम ‘प्रवासी मन’ (२०७२) प्रकाशन भएका थिए । गाउन पनि रुची राख्ने मणिराजको स्वरमा भने पहिलोपटक ‘बाँसैको टाटी’ बोलको युगल गीत रेकर्ड भएको थियो । महेश बुढाथोकीको शव्द/सङ्गीत रहेको यस गीतमा उनलाई गायिका अञ्जु गौतमले साथ दिएकी थिईन् । मणिराजका रचनामा हालसम्म ४ दर्जन भन्दा बढी र स्वरमा लगभग आधा दर्जन गीत रेकर्ड भइसकेका छन् । उनका म्युजिक भिडिओहरु उनको आधिकारिक युट्युब च्यानल Mani Entertainment मा हेर्न सकिन्छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अमेरिका, गीतकार सङ्घ नेपाल, काठमाण्डौ र रेडियो हिमालय, काठमाण्डौका आजीवन सदस्य मणिराजले रक्की माउन्टेन फ्रेन्ड्स अफ नेपाल, डेनभर, कोलोराडोमा सन् २०१२ देखि २०१६ सम्म कोषाध्यक्षको र सन् २०१६ देखि २०२० सम्म उपाध्यक्षको दुई कार्यकालको जिम्मेवारी कुशलतापूर्वक सम्हालेका थिए । प्रवासमा रहेर पनि नेपाली कला, सङ्गीत र साहित्यको लागि क्रियाशील थोरै नेपालीहरु मध्येका उनी पनि एक सर्जक/कलाकार हुन् ।












