गीतकार सङ्घ नेपालको आयोजना तथा चलचित्र विकास बोर्डको सहकार्यमा ‘चलचित्रमा गीतको भूमिका तथा गीतकारको हक अधिकार सम्बन्धी कार्याशाला’ सम्पन्न भएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीको प्रमुख आतिथ्यतामा बोर्डकै सभाहलमा कार्यक्रमको आयोजना गरी चलचित्रमा गीतको भूमिका बारे कार्याशाला सम्पन्न भएको हो ।
कार्यक्रममा पूर्व मन्त्री तथा वरिष्ठ कवि, गीतकार एसपी कोइराला, वरिष्ठ गायिका मिरा राणा, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारी, वरिष्ठ गीतकार आनन्द अधिकारी, वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङ वक्ता रहेका थिए । गीतकार संघ नेपालका अध्यक्ष वसन्त वित्यासी थापाले आयोजकको तर्फबाट अतिथिहरुलाई स्वागत गर्दै चलचित्र उद्योगमा गीतलाई प्रमोशनका रुपमा अगाडि बढाउन प्रयोग गरिएको कुरा उल्लेख गरेका थिए ।
उनले चलचित्रमा गीतकारहरुले गरेको योगदान, रोयल्टी एवं प्रतिलिपि अधिकारका कुरालाई समेत संवेदनशील भएर हेरिनुपर्ने बताएका थिए । यस कार्यक्रमले चलचित्रमा गीतको इतिहास, आवश्यकता, महत्व, प्रभावबारे चेतना विकास गर्न यो कार्यक्रम लक्षित गरिएको अध्यक्ष थापाले बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै गीतलाई चलचित्रको ‘प्राण’का रूपमा व्याख्या गरेका थिए । कार्यक्रममा उनले चलचित्रको संरचना र प्रभावबारे विस्तारमा चर्चा गर्दै चलचित्रले समाजको यथार्थ, मानवीय संवेदनालाई प्रस्तुत गर्ने हुँदा यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुने बताएका हुन् ।
उनले भने, ‘चलचित्र केवल दृश्यहरूको श्रृङ्खला वा समुह मात्र होइन, यो भावना, विचार र कथाको एक सशक्त माध्यम हो । चलचित्रले समाजको यथार्थ, मानवीय संवेदना र कल्पनालाई प्रस्तुत गर्छ । यस्तो शक्तिशाली माध्यमभित्र गीतको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । चलचित्रको कथालाई शरीर मान्ने हो भने गीत त्यसको प्राण हो, जसले कथालाई जीवन्त बनाउने मात्र होइन, दर्शकको मनमा गहिरो प्रभाव पार्ने काम गर्छ ।’ उनका अनुसार गीतले दृश्यले व्यक्त गर्न नसक्ने भावनाहरूलाई सहज रूपमा अभिव्यक्त गर्न सक्छ ।
‘कहिलेकाहीँ एउटा गीतले पूरै कथा बोक्ने क्षमता राख्छ । यसले दर्शकको मनसँग प्रत्यक्ष संवाद गर्छ र उनीहरूलाई कथासँग भावनात्मक रूपमा जोड्छ,’ उनले भने । प्रविधिको तीव्र विकाससँगै चलचित्रका विधा, प्रस्तुति शैली र सामग्रीमा पनि व्यापक परिवर्तन आएको उल्लेख गर्दै उनले विशेषगरी एनिमेटेड र हिंसात्मक चलचित्रको प्रभावबारे चिन्ता व्यक्त गरे ।
आजको समयमा प्रविधिको पहुँचले चलचित्र निर्माणलाई सजिलो बनाएको छ, तर त्यससँगै सामग्रीको प्रकृति पनि परिवर्तन भएको छ । विशेषगरी हिंसात्मक दृश्यहरू भएका चलचित्रको संख्या बढ्दै गएको छ, जसले समाजमा दीर्घकालीन प्रभाव पार्न सक्छ, उनले भने । अधिकारीले चीन, हलिउड, बलिउड र नेपाली चलचित्रको सुरुवात र विकासको श्रेणीगत कालखण्डलाई समेत उल्लेख गरेका थिए ।
त्यसैगरी प्रतिलिपि अधिकार र रोयल्टीको विषयमा बोल्दै संगीत रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले गीतकार नै पहिलो स्रष्टा, प्रस्तोता र उत्पादकसमेत भएको उल्लेख गरे । कुनै पनि गीतको सम्पूर्ण अधिकार गीतकारमा निहीत रहेको बताउँदै अधिकारीले भने– ‘गीतकारको अनुमतिले रिमेक, रिप्रोडक्सन र सार्वजनिक प्रयोग गर्न पाइनेछ । सम्पूर्ण बौद्धिक सम्पत्ति, प्रतिलिपि अधिकार गीतकारमा रहने प्रावधान विश्वव्यापी रहेको छ ।’ बौद्धिक सम्पत्तिको रक्षा गर्न गीतकारले सहमति पत्र बनाएर रेकर्ड गर्नु अगाडि सम्पूर्ण अधिकार सुरक्षित गर्नुपर्ने समेत उल्लेख गरे । चलचित्रमा प्रयोग गरिएको गीतमा समेत प्रकाशकको रुपमा निर्मातालाई लिइनुपर्ने र गीतकार अधिकार गीतकारमा रहेको हुँदा गीत बिक्री बितरण नहुने बताउँदै चलचित्रको गीतले पनि रोयल्टी बुझाउनुपर्ने नियम रहेको उल्लेख गरे ।
त्यस्तै वरिष्ठ गायिका मीरा राणाले सांगीतिक यात्राको पहिलो गायन नै चलचित्रबाट गरेको उल्लेख गर्दै गीतबिनाको चलचित्र कमजोर रहने बताइन् । कुनै पनि चलचित्रलाई पूर्णता दिन गीतसंगीतको प्रयोग अनिवार्य भएको बताउँदै गीतकार प्रमुख सर्जक रहेको हुँदा यसको महत्वलाई विशेष रुपमा लिइनुपर्ने बताइन् ।
त्यसैगरी वरिष्ठ कवि तथा गीतकार श्रवण मुकारुङले चलचित्रमा गीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै गीत लेखनको क्रममा आफूले भोगेका घटनाहरुलाई प्रस्तुत गरेका थिए । ‘राई माइलाले गाउँ छाड्यो’ गीतको चर्चासँग चलचित्र निर्माताहरु गीत लेखाउन आएको र पारिश्रमिकसहित एग्रीमेन्ट गरौं भनेपछि नफर्केको घटना सुनाउँदै मुकारुङले चलचित्रमा गीतकारलाई प्रयोग गरिएको दृष्टान्त प्रस्तुत गरेका थिए ।
कार्यक्रममा पूर्व मन्त्री वरिष्ठ कवि तथा गीतकार एसपी कोइरालाले चलचित्रमा गीतको महत्वपूर्ण भूमिका रहेको बताउँदै गीतकार सङ्घ नेपाल गीतकारहरुको हक अधिकारका लागि निरन्तर क्रियाशील रहेको बताए । चलचित्रमा गीतको भूमिका तथा गीतकारहरुको हकअधिकारका विषयमा संवेदनशील भएर आवाज उठाएकोमा धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै प्रमुख अतिथि विकास बोर्डका अध्यक्ष दिनेश डीसीले यो कार्यक्रम चलचित्रकर्मी र गीतकारहरुका लागि सेतुको रुपमा भएको बताए । उनले स्रष्टा र चलचित्रकर्मीको हक अधिकारका लागि विकास बोर्ड सधैं साथमा रहेको बताउँदै गीतकार सङ्घसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे ।












