‘नारायण हरिहरि’ भन्दै आइन् गायिका पुनम बस्याल

-सानु श्रेष्ठ 

नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो भविष्य खोज्दै सङ्घर्ष या प्रतिस्पर्धा गर्न आउने अनुहारको उपस्थिति उल्लेख्य छ । डिजिटल प्लेटफर्म र टेलिभिजनमा प्रसारण हुने रियालिटी शोहरूका कारण पनि उनीहरूलाई आफ्नो प्रतिभा देखाउने अवसर राम्रो बनेको छ । गायिका पुनम बस्याल भन्छिन्- ‘मैले अनावश्यक तडकभडक, छाडा र कसरी भाइरल भइन्छ या छिटो परिचय बन्छ भनेर सटकट बाटो कहिल्यै रोजिन। सधैं मौलिकताको बाटो पछ्याएँ, यसैकारण म पछाडि परें । उसो त मलाई केहीछिन् भाइरल भएर यो क्षेत्रबाट हराउन मन थिएन, मौलिकतालाई नै प्राथमिकता दिएर निरन्तर सङ्गीत साधनामा लागिरहें । मलाई बेपत्तै भाइरल हुन र चर्चाको भोक कहिल्यै लागेन । मेरो गीत  सिर्जना सुन्ने जतिपनि दर्शक-श्रोता हुनुहुन्छ मलाई माया गरिरहनुभएको छ । मलाई यही पर्याप्त छ ।’

हालसम्म करिब दुई दर्जन गीतहरूमा आफ्नो आवाज दिएकी पुनम सानै उमेरदेखि गीत-सङ्गीत भनेपछि हुरुक्क हुने गर्थिन्। स्कुले जीवनदेखि नै मीठो गाउँथिन् । स्कुलका विभिन्न साङ्गीतिक कार्यक्रममा गीत गाएर पुरस्कार थाप्दाको खुसी र अरुले दिएको हौसला अझै बिर्सिएकी छैनन् उनले । उजेली, कुरा बुझिसकें, सुनामी, चलाऊ अभियान, नारायण लगायतका थुप्रै उनले सिर्जना र स्वर दिएका गीतहरूले नेपाली साङ्गीतिक बजारमा राम्रो चर्चा र लोकप्रियता कमाइसकेका छ्न् । भर्खरै मात्र उनै गायिका पुनम र धर्मेन्द्र अर्यालको आवाजमा भजन गीत ‘नारायण हरिहरि’ ‘सार्वजनिक भएको छ । गीतको मुखडा गणेश बस्यालले तयार पारेका हुन् भने सम्पूर्ण उमेर समूहका भजन प्रेमीले मन पराउने र जनजिब्रोमा झुन्डिन सक्ने ओजिला शब्दलाई पुनमले कलेक्सन गरेकी छिन् ।

पूर्ण संयोगको म्युजिक एरेन्जमा तयार भएको यस भजनको भिडिओ राजु अर्यालले निर्देशन, प्रवीण थापाले कोरियिग्राफी, हरिस महराले छायाङ्कन र  नवीन घर्ती मगरले सम्पादन गरेका छ्न् । भजनको भिडिओमा पुनम बस्याल, फ्रेन्सिअ बस्याल, रेखा भट्टराई, शंकर शाही ठकुरी, प्रमिला गहतराज, रेखा भट्टराई, साधना अर्याल लगायतको अभिनय/नृत्य देख्न पाइन्छ । भिडिओ पुनम बस्याल युट्युब  च्यानलबाट सार्वजनिक गरिएको छ ।