नारी महिमा र नारी नारीप्रतिको विभेदमाथि गायक योगीको बेजोड प्रस्तुति

-तुलसी गिरी ‘भावुक’

शाव्दिक विशिष्टता र बेजोड माधुर्यताका कारण नेपाली सङ्गीत क्षेत्रमा ‘मेलोडी सुल्तान’ को उपनामले समेत विख्यात गायक शिशिर योगीको नयाँ गीत ‘नारी’ सार्वजनिक भएको छ । नारी महिमा र नारी नारीप्रतिको विभेद उजागर पारिएको यस गीतका रचनाकार, सङ्गीतकार र गायक शिशिर योगी हुन् । सुप्रसिद्ध सर्जक बी. बी. अनुरागीको सङ्गीत संयोजन रहेको यस गीतमा धेरैको रोजाईका ध्वनि इन्जिनियर श्याम श्वेत रसाईलीको मिक्सिसङ्/माष्टरिसङ् रहेको छ भने भिडिओको ग्राफिक्स सम्पादक लोकेश भाटले गरेका हुन् ।

नारीप्रधान भावमा रचना गरिएको यस गीतमा नारीलाई आमा, छोरी, श्रीमती, बुहारी, बहिनी आदि अनेक रुपमा बयान गरिएको छ । आफ्ना छोरी र अरुका छोरीप्रति भेदभाव गर्नेहरु अनि आफ्नी छोरीको दु:ख देख्न नसक्नेहरु बुहारीप्रति किन क्रुर व्यवहार गर्छन् ? गीतले प्रश्न गरेको छ, यस्तो विभेदप्रति गुनाशो र पीडा पोख्दै सबै नारीप्रति समान व्यवहार गर्न सचेतना छरेको छ  । आफ्नी छोरी कसैकी बुहारी, कसैकी छोरी आफ्नी बुहारी भएकोले छोरी र बुहारीप्रति समान व्यवहार गर्न गीतले आग्रह गरेको छ । नारी महिमा चित्रमा, गीतमा, कवितामा, भाषणमा, नारामा अनि अनेक ग्रन्थमा देखिन्छ, तर व्यवहारमा त्यस्तो नभएको यथार्थ गीतले गहिरो र मननीय ढङ्गमा बोलेको छ  ।