गीतकार नारायण खतिवडाको नयाँ गीत ‘साँचो प्रेम’ सार्वजनिक भएपछि नेपाली सङ्गीत क्षेत्रमा अर्को अर्थपूर्ण र सन्देशमूलक सिर्जना थपिएको छ। नमस्ते नेपाल डिजिटल स्टुडियोबाट रिलिज भएको यस गीतले प्रेम भगवान राधा–कृष्णको जस्तै पवित्र, निष्कपट र स्वार्थरहित हुनुपर्छ भन्ने गहिरो सन्देश दिन्छ।
गीतका शब्दहरू मर्मस्पर्शी छन्-
‘साँचो प्रेम अमर हुन्छ, झूटो टिक्न सक्दैन
सच्चा प्रेम ईश्वरको बरदान, कसैले रोक्न सक्दैन ।’
गीतले अहंकार, घमण्ड, क्षणिक सम्बन्ध र बाह्य चमकभन्दा मनको सफाइ, समझदारी, सहिष्णुता र धैर्य नै प्रेमको आधार हो भन्ने सिकाउँछ। जीवनका आरोह-अवरोहमा एकले अर्कोलाई साथ दिनुपर्छ, टाढा होइन नजिक ल्याउनु पर्छ भन्ने सन्देश छ। भिडियोमा अर्जुन कटुवाल र अबिशा थापा मगर प्रमुख भूमिकामा छन् भने रिमेश अधिकारी र मीरा फियाकको अभिनयले कथालाई अझ आकर्षक बनाएको छ।
रूखमुनिको बसाइ, अभाव र दुःखबीच पनि टिकेको सच्चा प्रेम तथा विपरित धन-सम्पत्तिमा टुटेको सम्बन्ध-यी दुई चित्रणले गीतले दिन खोजेको मूल सार प्रस्ट पार्छ। यो गीत प्रेमको वास्तविक अर्थ-मनको पवित्रता र आपसी साथ नै जीवनको सबैभन्दा ठूलो आधार हो भनेर मन छुने तरिकाले प्रस्तुत गरिएको छ।
नमस्ते नेपाल डिजिटल स्टूडियोबाट सार्वजनिक गरिएको यस गीतको भिडियोको छायाङ्कन तथा दृश्य सम्पादन अर्जुन कटुवालको रहेको छ । भिडियोको लेखन तथा निर्देशन गीतकार नारायण खतिवडा आफैंले गर्नुभएको छ ।














