-सानु श्रेष्ठ
जेपिजे इन्टरटेनमेन्टले पछिल्लो समय आफ्ना गतिविधि तीव्र बनाउँदै नयाँ नयाँ सिर्जनालाई अघि सार्ने क्रम जारी राखेको छ । यही क्रमलाई निरन्तरता दिँदै संस्थाको संयोजनमा ‘मायामा टेन्शन भो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । रोमान्टिक शैलीमा तयार गरिएको उक्त गीतमा दीपेन्द्र खड्काको शब्द, विकाश चौधरीको संगीत तथा गायिका तपस्या राईको स्वर रहेको छ ।
प्रेम सम्बन्धमा देखिने ससाना मनमुटाव, असमझदारी र त्यसबाट उत्पन्न हुने ‘टेन्शन’लाई गीतमार्फत सरल र सुमधुर ढंगले प्रस्तुत गरिएको निर्माण परिकल्पनाकार किशोर सुब्बाले जनाएका छन् । आधुनिक संगीत संयोजनले युवापुस्तालाई लक्षित गर्दै तयार पारिएको गीतमा मेलोडी र भावनात्मक अभिव्यक्तिको सन्तुलन देखिन्छ । गीतको भिडियोमा गायिका तपस्या राई स्वयंले अभिनय गर्नुभएको छ । आफ्नो स्वरमा सजिएको गीतमा आफैंले अभिनय गर्न पाउँदा आफू उत्साहित रहेको उहाँले बताउनुभयो ।
भिडियोमार्फत प्रेमका उतारचढाव र भावनात्मक द्वन्द्वलाई दृश्यात्मक रूपमा जीवन्त बनाउने प्रयास गरिएको निर्देशक पक्षको भनाई छ । भिडियो निर्देशन विमल ढकालले गर्नुभएको हो भने वरिष्ठ चलचित्र निर्देशक तथा निर्माता किशोर सुब्बाले भिडियो निर्माण गर्नुभएको हो । जेपिजे इन्टरटेनमेन्टले नेपाली कला, संस्कृति र संगीतलाई अन्तर्राष्ट्रियस्तरमा प्रबर्धन गर्ने उद्देश्यका साथ निरन्तर काम गर्दै आएको छ । ‘मायामा टेन्शन भो’ म्युजिक भिडियो पनि सोही अभियानअन्तर्गत निर्माण गरिएको र अमेरिकाबाट हरेक मंगलबार बिबिध पक्षलाई समेटिएको मनोरञ्जनात्मक कार्यक्रम ‘हेल्लो अमेरिका’लाई पनि निरन्तरता दिइरहेको निर्देशक किशोर सुब्बाले बताउनुभयो ।














