-तुलसी गिरी ‘भावुक’
प्रतिष्ठित स्त्रीरोग विशेषज्ञ एवं गीतकार डा. भोला रिजालद्वारा रचित देशभक्तिपूर्ण जागरण गीत ‘अन्धकार पन्छाएर’ को भिडिओ सार्वजनिक भएको छ । शनिबार साँझ गीत तथा भिडिओसँग सम्बन्धित सर्जक/कलाकार एवं सञ्चारकर्मीहरुको उपस्थितिमा महाराजगञ्जस्थित गीतकार रिजाल निवासमै आयोजित एक समारोहमा सो भिडिओको लोकार्पण गरिएको हो । सुप्रसिद्ध सङ्गीतकार शंकर थापा ‘स्माइल’को सङ्गीत र सर्वप्रिय गायक शिव परियारको स्वर रहेको यस गीतमा विषम आचार्यले सङ्गीत संयोजन गर्नुभएको छ । गुञ्जन स्टुडिओका रेकर्डिष्ट सुशील शाहले रेकर्ड गर्नुभएको यस गीतको मिक्सिसङ्/माष्टरिङ् भने फिल स्टुडिओका प्राविधिक कुमार के.सी. गर्नुभएको हो ।
करुणा, हौसला, जागरण, उर्जा, चेतना, खबरदारी र देशभक्तिको अद्भुत सम्मिश्रण भएको समय सापेक्ष यस म्युजिक भिडिओको निर्देशन प्रसिद्ध निर्देशक, छायाँकार एवं सम्पादक वीरेन्द्र भाट ‘विपिन’ ले गर्नुभएको हो । जसमा महेश महराको सिनेमाटोग्राफी, वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन र लोकेश भाटको ग्राफिक्स रहेको छ । भिडिओमा वरिष्ठ कलाकार रमेश बुढाथोकी, डा. नवीन यादब, विष्णु रोक्का, जयन्त रेग्मी, सुशील श्रेष्ठका साथै गीतकार डा. भोला रिजाल, सङ्गीतकार शंकर थापा ‘स्माइल’ र गायक शिव परियारको समेत दमदार अभिनय देख्न सकिन्छ । गीत तथा भिडिओकी निर्मात्री सरला रिजाल हुनुहुन्छ ।

केही महिना अघिको जेनजी आन्दोलन, आन्दोलनको क्रममा घटेका अप्रत्याशित दुखद् घटना, त्यसबाट उत्पन्न अन्योलातापूर्ण राजनीतिक अवस्था तथा जेनजीहरुको सपना र काँधमाथिको जिम्मेवारीलाई गीत तथा भिडिओले जीवन्त रुपमा प्रस्तुत गरेको छ । ‘अब जाग, फुटेर हैन जुटेर देश निर्माणमा लाग । हे युवा ! तिमी नै यो देशको वर्तमान र भविष्य हौ’ गीतले भनेको छ । आन्दोलनका क्रममा रित्तिएका काखहरु, छुटेका साथहरु र कलिला युवाहरुको वलिदानप्रति उच्च सम्मान भाव व्यक्त गरिएको छ ।
लोकार्पण समारोहलाई सम्बोधन गर्दै गीतका सर्जक डा. रिजालले भन्नुभयो- ‘ यो गीत अन्तर्मनको कथा हो; व्यथा हो । जब ती निरीह आमाहरु छाती पिटी पिटी रोएको, जसको एउटा मात्र सन्तान थियो; त्यो पनि गुमाउनुपरेको अवस्था हामीले देख्यौं, त्यही पीडाको अभिव्यक्ति हो यो गीत । अब देश शान्ति, सम्वृद्धि र सुशाषनको मार्गमा लम्कनु पर्दछ, देश काँचुली फेर्दै अब नयाँ युगमा चम्कनु पर्दछ यही कामना हो यो गीत । जेनजीहरुले दिएको वलिदानको सम्मान गर्दै देश निर्माणको सन्देश र हौसलाको लागि जागरण ल्याउने उद्देश्यले लेखिएको गीत हो यो । मलाई विश्वाश छ यो गीतले सबैको मन मस्तिष्कमा सकारात्मक छाप छाड्ने छ ।’
समारोहमा भिडिओ विमोचनमा सरिक हुनकै लागि बेलायतबाट आउनुभएका सर्जक रिजालका ज्येष्ठ सुपुत्र वरिष्ठ दन्त सर्जन डा. कपिल रिजालले गीत तथा भिडिओसंग सम्बन्धित सर्जक/कलाकारहरुलाई सम्बोधन गर्दै भन्नुभयो-‘हामी छोराहरु साथमा नहुँदा पनि आफ्नै छोराहरुले झैं बुबाको चाहना बमोजिम उहाँको रचनालाई यति जीवन्त बनाईदिनुभएकोमा सबैलाई धेरै धेरै धन्यवाद दिन्छु ।’ यसैगरि सङ्गीतकार ‘स्माइल’, गायक शिव र निर्देशक तथा सम्पादक वीरेन्द्रले पनि गीत तथा भिडिओको बारेमा आ-आफ्ना कुराहरु राख्नुभएको थियो । कार्यक्रमको सहजीकारण चलचित्रकर्मी सुमन गिरीले गर्नुभएको थियो ।














