गीतकार ढकालको राष्ट्रिय भावको गीति एल्बम ‘हिमाली सुस्केरा’ सार्वजनिक

गीतकार तुलसी प्रसाद ढकालको पहिलो गीति एल्बम ‘हिमाली सुस्केरा’ सार्वजनिक भएको छ । राष्ट्रवादी गीतकार एवं गीतकार सङ्घ नेपालका पूर्व अध्यक्ष चूडामणिा देवकोटाको सभापतित्व तथा साहित्यकार तथा पूर्व मुख्य सचिव विमल कोइरालाको प्रमुख आतिथ्यतामा गीतिएल्बम ‘हिमाली सुस्केरा’ सार्वजनिक गरिएको हो  ।

समारोहमा विशेष अतिथि टंक ढकालले कला साहित्यको भाषा, जात,भूगोल नहुने बताउँदै यी राष्ट्रका पहिचान भएको बताए । ढकालले अगाडि भने- ‘राजनीतिमा लाग्नेको धेरै टिकाटिप्पणी हुन्छ, तर कला क्षेत्रमा लाग्नेको नाम सदैव सम्मानित हुन्छ । वरिष्ठ सङ्गीतकार शक्ति वल्लभले गीतकार तुलसी प्रसाद ढकालको सिर्जनाले नै लयभाव प्रकट गरेको बताउँदै सङ्गीत सिर्जना गर्न सहज भएको बताए । गीतहरु आशावादी, सकारात्मक, सामाजिक जागरणयुक्त, राष्ट्रियभाव र वर्गीय भेदभावको विरुद्धमा रहेको बिचार व्यक्त गरे ।

कार्यक्रममा गीतकार तुलसी प्रसाद ढकालले उपस्थित अतिथिहरुलाई आभार प्रकट गर्दै गीतिलेखनका बारेमा प्रष्ट पारेका थिए । सिर्जना पहिलोदेखि नै गर्ने गरेको भएपनि औपचारिक रुपमा रेकर्ड गरि पहिलो एल्बम ल्याउन पाएकोमा उनले  खुशी व्यक्त गरे । जागिरका क्रममा विभिन्न ठाउँमा पुग्दा भोगेका र देखेका अनुभवलाई गीतमा प्रस्तुत गरेको उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि साहित्यकार विमल कोईरालाले राजनीतिलाई व्यङ्ग्य गर्दै कुनैपनि कुरा अध्ययन नगरी बोल्ने भनेको राजनीतिकर्मीले  मात्रै भएको बताए । ‘सिर्जना गर्नु धेरै गाह्रो काम मध्येको एक हो । राष्ट्रियताको कुरा गर्नेहरु नै अराष्ट्रिय काम गर्छन् तर राष्ट्रिय गीत सिर्जना गर्नेहरुको भावना बिचलित हुँदैन’ कोइरालाले भने।

कार्यक्रमलाई समापन गर्दै सभाध्यक्ष चूडामणि देवकोटाले गीतकार तुलसी प्रसाद ढकालको पहिलो एल्बम भएपनि सिर्जना अब्बल रहेको बताए । सिर्जना माटो र मुटुसँग सम्बन्धित हुने बताउँदै एल्बमका गीतहरू माटोसँग गाँसिएको बताए । पहिला सँगसँगै यात्रा गरेको व्यक्ति फेरि सँगै हुन पाएको बताउँदै साहित्यको अर्को महत्पूर्ण विधा गीत भएको बताए । ‘गीतमा राजनीतिक आन्दोलन भन्दा ठूलो शक्ति हुन्छ’ देवकोटाले भने ।

कार्यक्रम गीतकार सुशीला पौडेलले सञ्चालन गरेकी थिइन् भने स्वागत मन्तव्य एल्बमकी प्रस्तुतकर्ता हिरादेवी ढकालले दिएकी थिइन् । एल्बममा बिना शान्ति हुन्न विकाश, मयुर ढुकुर कोकिल डाँफे,  विदेश जान्न यही मातृभूमि, सत्य साँचो काम गरि र गुटबन्दी अनेकताले शीर्षकका पाँच गीत रहेका छन् भने वरिष्ठ सङ्गीतकार विश्व बल्लभको एकल सङ्गीत रहेको छ । गीतमा  सुमित खड्का, रामकृष्ण ढकाल, शिशिर योगी, आनन्द कार्की र रचना रिमालले स्वर दिएका छन् ।