कोशी पर्यटन वर्ष २०८२ लाई चलचित्र उद्योगसँग जोडेर प्रवर्धन गरिने

पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रम काठमाडौंस्थित दुषित प्रिन्सेस होटलमा सम्पन्न भएको छ। कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी सहित शिव श्रेष्ठ, लय संग्रौला, रमेश बुढाथोकी, राजकुमार राई, मिलन चाम्स, दीपक आचार्य, अनु शाह, प्रास्ना शाक्य, गजित बिष्ट, अरूण प्रधानलगायत दर्जनौँ चलचित्रकर्मीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

मन्त्री सदानन्द मण्डलले चलचित्र उद्योग र पर्यटन क्षेत्रबीचको सहकार्यले प्रदेशको आर्थिक तथा सांस्कृतिक पहिचान सुदृढ हुने विश्वास व्यक्त गर्दै कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई आवश्यक सहयोग र सहजीकरण गर्ने स्पष्ट प्रतिबद्धता समेत जनाए । कार्यक्रममा बोल्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले चलचित्र पर्यटन विकासको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै कोशी प्रदेशको प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटन प्रवर्द्धनमा चलचित्रले महत्वपूर्ण योगदान दिन सक्ने बताए। चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्ने विषयमा कलाकर्मीसंग छलफल गर्दै कोशी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको प्रचार सामग्री देशभरका चलचित्र भवनहरूमा प्रदर्शन गरि आन्तरिक पर्यटनमा वृद्धि गर्ने साथै कलाकारहरूले सामाजिक सञ्जालमार्फत कोशी प्रदेशको पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने तथा कोशी सरकारले कोशी प्रदेशमा छायङ्कन हुने चलचित्रलाई सहयोग गर्नेबारे अनौपचारिक सहमति भएको छ ।

यसै क्रममा परान चलचित्रका निर्देशक दीपक आचार्यले कोशी प्रदेशमा चलचित्र छायांकनका क्रममा स्थानीय सरकारबाट अपेक्षित सहजीकरण नपाएको गुनासो व्यक्त गरे। जवाफमा प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटाले आगामी दिनमा चलचित्र छायांकनका लागि अनुकूल वातावरण निर्माण गरिने र स्थानीय तहसँग आवश्यक समन्वय गरिने विश्वास ब्यक्त गरे । कार्यक्रमले कोशी पर्यटन वर्ष २०८२ लाई चलचित्र उद्योगसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको आयोजकले जनाएका छन्।