— गीता अधिकारी
शब्दयात्रा प्रकाशनद्वारा उत्पादित २३ औँ गान ‘मलाई माया गर्दछौ भने’ त्यस गानको सङ्गीतकारका रूपमा मैले सार्वजनिक समारोहमा प्रस्तुत गरेको छु । गीतमा टुहुरो छोराले सोध्छ — “मलाई टुहुरो पारेर किन छोड्नुभो आमाबुबा ? तपाईंहरू अहिले कहाँ हुनुहुन्छ ?” दिवङ्गत आमाबुबाको आत्मा बोल्छ — “तिमीलाई छाडेर हामी कहाँ जान्थ्यौँ र ! धर्तीमा, आकाशमा र पानीमा रहेका प्राणी जति छन्, ती सबैमा हामी बसेका हौँ । हामीलाई माया गर्छौ भने ती सबै प्राणीलाई माया गर । सबै प्राणीमा हामी आमाबुबालाई देख । तिमीले गर्ने श्राद्ध त्यही हो । हामी त्यसैमा खुशी मान्दछौँ ।”
स्थायी, अन्तरा र अनुप्रास नभएको, वर्णमात्रिक र मात्रिक कुनै पनि छन्दमा नलेखिएको र गद्यमा संवाद मात्रै रहेको यो गद्यगीत अत्यन्त मार्मिक छ र सुनिरहूँजस्तो बनेको छ । गीता अधिकारीद्वारा रचित यस गानमा छोराको संवादमा हरि मञ्जुश्रीको, आमाको संवादमा रश्मि हुमागाईंको र बुबाको संवादमा इ. रोशन अधिकारीको स्वर रहेको छ । यही मङ्सिर २७ गते समारोहमा प्रस्तुत गरिएको यो गान शब्दयात्रा प्रकाशनद्वारा सञ्चालित अक्षरधाम यु–ट्युब च्यानलबाट पुस ५ गतेदेखि सुन्न सकिनेछ ।














