शान्ति श्रीष मगरको ‘युके बस्ने दाइ’ को म्युजिक भिडिओ सार्वजनिक

-रुपिन्द्र प्रभावी

पोखरा। गायिका शान्ति श्रीष मगरको स्वरमा रहेको ‘युके बस्ने दाइ…’ बोलको गीतको भिडिओ सार्वजनिक गरिएको छ । सुरेश राना मगरको रचना रहेको यस गीतमा पुरुष आवाज सागर आलेको रहेको छ । गीतकार प्रतिष्ठानद्वारा शुक्रवार आयोजित कार्यक्रममा कवि तथा गीतकार रमेश श्रेष्ठले भिडिओ सार्वजनिक गरेका हुन् । शान्तिको गीतले आम नेपाली जनजीवनलाई छुने विश्वास व्यक्त गर्दै श्रेष्ठले भिडिओमा प्रस्तुत गरिएिको मौलिकपनले नेपाली पहिचान बोकेको बताए ।

गायिका तथा मोडल शान्ति श्रीष मगरले बागलुङको गलकोटबाट पोखरा आएर गीत सङ्गीतको क्षेत्रमा गरेको सङ्घर्षका चरणबारे स्पष्ट पारेकी थिइन् । तत्कालीन परिस्थितिमा सङ्गीतसम्बन्धी औपचारिक ज्ञान नभए पनि रेडियो सुनेकै भरमा सङ्गीतप्रति अनुराग बढेको अनुभव उनले सनाइन् । जीवन जिउने क्रममा केही समय सङ्गीतबाट टाढिनुपर्दाको कष्टकर समयको स्मरण गर्दै मगरले आफूभित्रको रुचि कुनै पनि कारणले नरोकिने प्रमाणित भएको बताइन् । उनका यसअघि फूल जस्तै मेरो जोवन, जूनतारा, गल्छी झरेसि, बसे पर्खेरलगायतका गीतहरू सार्वजनिक भएका छन् । भिडिओमा शान्तिसँगै विजय पुन, चाहना राना मगर र आश्विन राना मगरको अभिनय रहेको छ ।

प्रतिष्ठानका अध्यक्ष अनुराग अधिकारीको अध्यक्षतामा आयोजना भएको सो कार्यक्रममा पोखरेली युवा सांस्कृतिक परिवारका पूर्वअध्यक्ष उपेन्द्र पौडेल, भिडिओका निर्देशक तथा मोडल विजय पुनलगायतले शुभकामना दिएका थिए । कार्यक्रमको सञ्चालन सचिव रुपिन्द्र प्रभावीले गरेका थिए ।