चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न

चलचित्र विकास बोर्डद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । राष्ट्रिय चलचित्र दिवस–२०८२ को अवसरमा आयोजित यो सामाजिक कार्यक्रमले नेपाली चलचित्र क्षेत्रको मानवीय र जिम्मेवार पहिचान स्थापित गरेको छ।

रेडक्रस केन्द्रीय रक्तसञ्चारसंगको सहकार्यमा सञ्चालन भएको सो कार्यक्रममा एकैपटक १२ जनाले रक्तदान गर्ने व्यवस्था मिलाइएको थियो । २०० भन्दा बढी चलचित्रकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रमले सहभागिता, समन्वय र सामाजिक उत्तरदायित्वप्रति उद्योगको प्रतिबद्धता प्रष्ट देखाएको छ।

रक्तदान कार्यक्रममा कलाकार, निर्देशक, निर्माता, प्राविधिकदेखि चलचित्र पत्रकारसम्मको उपस्थिति रहेको थियो ।  रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले रक्तदानजस्तो मानवीय कार्यले चलचित्र क्षेत्रको राष्ट्रिय योगदानलाई अझ मजबुत बनाएको विचार व्यक्त गरेका थिए । कार्यक्रम ३ बजेसम्म  सञ्चालन भएको थियो । बोर्डले आगामी दिनमा पनि यस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिने जानकारी गराएको छ।