गीतकार प्रकाश सुवेदीको नवीनतम सृजना ‘नआइदे याद’ भर्खरै सृजना र सेरोफेरो यूट्युब च्यानलमार्फत सार्वजनिक भएको छ। गीतमा राजकुमार ब^गरको सङ्गीतले आत्मा भरेको छ भने साहस शाक्यको सङ्गीतसंयोजन र अनु चौधरीको भावमय स्वरले यसलाई अझ जीवन्त तुल्याएको छ।
म्युजिक भिडिओको निर्देशन र सम्पादन कुशल सम्पादकका रूपमा परिचित वीरेन्द्र भाट ‘विपिन’ले गरेका छन्। गीतको भाव र गहिराईलाई समेट्दै वीरेन्द्रले तयार गरेको दृश्य कथामा अजय रेग्मीको क्यामेरा सँगसँगै बगेको छ। सीता टेलिशृङ्खलाबाट चर्चित नायिका समिया कार्कीको साथमा सुधिर श्रेष्ठ र दीपेन्द्रराज गिरीको मुख्य अभिनयले गीतको भावनात्मक धड्कनलाई मूर्त रूप दिएको छ। सह अभिनयमा देवी पराजुली, टिकाराम पाण्डे, सरिता मगर, जयराम क्षेत्री, जेनिशा धनुके लगायतका कलाकारहरू रहेका छन्। वर्ल्डकभर मिडियाको पोष्ट प्रोडक्शनमा निर्माण भएको यस भिडिओमा समावेश अङ्ग्रेजी सबटाइटल साहित्यकार तथा समालोचक महेश पौड्यालको भाषिक कलाले सुशोभित छन् जसले गीतकार सुवेदीको सुकृतिलाई अन्तर्राष्ट्रिय श्रोता दर्शक सम्म पुर्याउन मद्दत गर्दछ।
अक्सर आशा र चेतनाको स्वर बुन्ने गीतकार सुवेदीले यसपटक भने बिछोडको गहिरो तानाबानामा मनको कथा लेखेका छन्। ‘नआइदे याद’ केवल एउटा प्रेमगीत मात्र नभई परिस्थितिबस उब्जने बिछोडको अभिव्यक्ति हो। विभिन्न कारणवश अधुरो प्रेम कहानीको पी^डा बोकेर बाँचेका प्रेमी-प्रेमिकाहरुको अनि माया एउटासँग विवाह अर्कैसँग भएका प्रियतम-प्रियतमाहरुको का^रुणिक कथा हो यो । असंख्य विवाहित जोडीहरुको वास्तविक जीवनसँग मेल खाने यो गीतले व्यर्थै पी^डा दिनको लागि विगतका ती प्रेमिल पल र परिस्थितिहरुको याद नआए हुन्थ्यो भन्ने चाहना पोखेको छ, अग्रज गीतकार राजेन्द्र थापाको गीत ‘पर लैजाऊ फूलहरु…छोपिडेऊ जूनतारा…’ ले झैं ।
गीतको मुख्य भावले जे जस्तो भने पनि अन्तत: ‘विगतको यादमा रुमल्लिनु भन्दा प्राप्तिको उज्यालोमा रामाउन सक्नुपर्छ, त्यही जीवन स्वर्ग बन्छ’ भन्ने सन्देश समेत दिन खोजिएको कुरा गीतकार सुवेदीले बताएका छन् । भिडिओमा पनि त्यही सन्देशका साथ परिकल्पनाकार/निर्देशक वीरेन्द्र भाटले सुखान्त भावमा कथाको समापन गरेका छन् ।














