नेपाली चलचित्र क्षेत्रमै पहिलो पटक चलचित्र सम्पदालाई व्यवस्थित रूपमा सङ्ग्रह गर्ने लक्ष्यका साथ चलचित्र विकाश बोर्डले चलचित्र सङ्ग्राहलयको तयारी तीव्र पारेको छ। १६ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएका सिनेमाटोग्राफर पुरुषोत्तम प्रधानको नेतृत्वमा सिनेफोकस प्रोडक्सन हाउसका सञ्चालक रजत बुढाथोकीले सङ्ग्राहलयका लागि अत्याधुनिक रेड एम एक्स क्यामेरा प्रदान गरेका छन्। क्यामेरा बोर्डका अध्यक्ष दिनेश डिसीले ग्रहण गरेका छन्। क्यामेरा ग्रहण गर्दै अध्यक्ष डिसीले चलचित्र क्षेत्रको ऐतिहासिक यात्रालाई सङ्ग्रह र सम्मान गर्ने अभियानमा यो सहयोग महत्वपूर्ण भएको बताए।
‘चलचित्रको इतिहास, प्रविधि र योगदानको संरक्षण केवल कागजमा होइन, दस्तावेज र उपकरणमार्फत प्रमाणित गर्ने समय आएको छ’ उनले भने। सङ्ग्राहलयमार्फत नेपाली चलचित्रका पुराना क्यामेरा, उत्पादन उपकरण, फिल्म पोस्टर, सङ्गीत सामग्री, पटकथा, पुरस्कार–सम्मान लगायतका ऐतिहासिक सम्पदा संरक्षित गरिने बोर्डले जनाएको छ। यो क्यामेराबाट नेपाली चलचित्र ‘मायाज बार’, ‘छ एकान छ’, ‘अझै पनि’ लगायतका चलचित्रहरु छायाङ्कन गरिएको थियो ।
क्यामेरा प्रदान गरेका रजत बुढाथोकीले नेपाली चलचित्रको इतिहास जोगाउन र नयाँ पुस्तालाई प्रेरणा दिन सहयोग गरेकोमा आत्मसन्तुष्टि भएको बताए। दाङबाट राजधानीमा चलचित्र व्यवसाय गर्न आएका उनको कम्पनीले हाल चलचित्र निर्माणको लागि भाडामा उपकरण तथा पोष्ट प्रोडक्सनको व्यवस्थापन गर्दै आएको छ । सिनेफोकस क्यामेरा अत्याधुनिक लाईट तथा उपकरणमा अब्बल मानिन्छ । ‘चलचित्र क्षेत्र हाम्रो पहिचान हो। यसको इतिहासलाई सुरक्षित राख्नु सबैको दायित्व हो’ बुढाथोकीले बताए। उक्त क्यामेरा हस्तान्तरण समारोहमा चलचित्र पत्रकार सङ्घका अध्यक्ष समिर बलामी तथा महासचिव रघुनाथ सापकोटा, बोर्डका लेखा प्रमुख प्रभाकर भट्टराई लगायतको उपस्थिति रहेको थियो ।














							
							
							
							
							
							
							
							
							
							
							
							
							
							
							
							
							
							