चलचित्र विकास बोर्डले कार्तिक २३ मा रक्तदान कार्यक्रम गर्ने

नेपाल चलचित्र विकास बोर्डले राष्ट्रिय चलचित्र दिवसको अवसरमा आयोजना गर्ने रक्तदान कार्यक्रम २०८२ कार्तिक २३ गते हुने भएको छ। असोज १५ गते चलचित्र दिवसको यो अभियान चाडपर्व र मुलुकको प्रतिकूल परिस्थितिका कारण केहीदिन पछि सारिएको हो। प्राप्त जानकारी अनुसार रक्तदान कार्यक्रम चाबहिल स्थित बिकाश बोर्ड प्राङ्गणमा बिहान १० बजेदेखि प्रारम्भ हुने छ ।

रक्तदान कार्यक्रमको सन्दर्भमा बोर्डका अध्यक्ष दिनेश डिसीले भने- ‘नेपाली चलचित्र क्षेत्र मनोरञ्जनका लागि मात्र होइन, सामाजिक र मानवतावादी कार्यमा समेत अग्रसर छ भन्ने सन्देश यो रक्तदानले दिनेछ। रक्तदानमार्फत हामी देशलाई सकारात्मक ऊर्जा प्रदान गर्न चाहन्छौ  ।’

नेपाली फिल्म उद्योगले विगतमा पनि रक्तदान, स्वास्थ्य जागरूकता, प्राकृतिक संकटमा सहयोग जस्ता कार्यहरूबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको छ। यो कार्यक्रमले उद्योगको मानवीय पक्षलाई थप उजागर गर्ने अपेक्षा गरिएको छ ।